चुरिया पहाडमा ‘मिथिला सागर’ (तस्बिरसहित)
धनुषा : चारैतिर सालको घना जंगल। उत्तरतिर रमणिय चुरिया पहाड। पहाडको काखमा मिथिला सागर। धनुषाको मिथिला नगरपालिका ढल्केबर चोकबाट तीन किलोमिटर उत्तर लागेपछि पोखरीयाको मिथिला सागर पुगिन्छ। जहाँ डुँगामा सयर गरेर पर्यटक रमाउने गर्छन्।
‘ताल नजिकै देखिएको वनमा पाइने मयुर, भंगेरा, मैने, रुपीले पर्यटकको ध्यान खिच्ने गरेको छ’, चितवनको देवघाटबाट ताल घुम्न आएका भरत बस्तकोटीले भने, ‘जंगलबीचमा सुन्दर र शान्त ठाउँ छ। यसको संरक्षण र विकासमा सबैले ध्यान दिनुपर्छ।’
दिनहुँ आउने पर्यटकले ताल भरिभराउ हुन्छ। नेपाल भ्रमण वर्ष २०२० मा आउने पर्यटकलाई स्वागत गर्न पोखरीयास्थित ‘मिथिला सागर’ दु्रत गतिमा मर्मत भइरहेको छ। सो ताल केमलीपुर र पोखरीया दमार सामुदायिक वनको सीमामा सात विघा क्षेत्रफलमा फैलिएको छ। सागरको बीचमा उत्तरश्वर महादेव मन्दिरले तालको महत्व अझ बढाएको छ। ‘तालको वरिपरी पक्की बाटो छ। फूल रोपिएको छ’, केमलीपुरका ४७ बर्षीय राजमान विकले भने, ‘शान्त ठाउँ छ। मिथिला सागर पर्यटकले मन पराउँछन्। बनभोज खान आउने पनि त्यतिकै हुन्छन्।’
एकवर्ष अघिसम्म पोखरी सानो थियो। भैंसी आहाल बस्थ्यो। पछिल्लो समय मर्मत गरेर ताल सुन्दर बनेको छ। जंगल नजिक रहेको औरही खोलाबाट तालमा चौविसै घण्टा पानी झर्ने व्यवस्था गरिएको छ। त्यसैबाट खानेपानीको व्यवस्था पनि गरिएको छ। जनकपुरधामभन्दा २८ किलो मिटर उत्तरमा पर्छ मिथिला सागर। सीताको नगरी, भगवान रामको ससुराली, मिथिलाका राजा जनकको घर हो, जनकपुरधाम। मिथिला नगरपालिका जानकी मन्दिर प्रवेश गर्ने मुख्य स्थान हो। भ्रमण वर्ष २०२० लाई लक्षित गरी मिथिला नगरका मेयर हरिनारायण महतोले आन्तरिक तथा बाह्य पर्यटकलाई निम्तो पनि दिएका छन्।
जनकपुरधामलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न मिथिला सागर महत्वपूर्ण कडी बन्नसक्छ
मिथिला नगरपालिकाले चुरिया संरक्षण गरेर तराईको उर्बरभूमी मरभूमीकरण हुनबाट बचाउन योजनाबद्ध रुपमा काम थालेको छ। ‘चुरेमा पर्यटकीय स्थल चुरिया पनि जोगिने, दिर्घकालिन आम्दानीको श्रोत पनि बन्ने। पर्यटकलाई आकर्षित गर्न पोखरी संरक्षण गरी तालको रुप दिएका हौं’, मेयर हरिनारायण महतोले भने, ‘एक वर्षअघि डीपीआर बनाएर काम सुरु गरेका हौं।’ ताल घुम्न आउने पर्यटकका लागि भौतिक पूर्वधार निर्माण गर्न ११ करोड रुपैयाँ खर्चे हुने अनुमान गरिएको उनको भनाइ छ। ‘प्रदेश २ कै नमूना पर्यटकीयस्थलका रुपमा विकास गर्ने लक्ष्य छ’, उनले भने।
ताल निर्माणपछि चुरे संरक्षणमा सहयोग पुगेको छ। चुरेमा ताल बनेसँग जंगली जीवजन्तु, चरा पानी खान तालमा आउने गरेको मिथिला नगरपालिका–७ का वडाध्यक्ष युवराज उप्रेतीले बताए। आधुनिक भ्यू टावर, पिकनिक स्पोट, बगैंचा, चिल्ड्रेन पार्क, ध्यान कक्ष, स्विमिङ पूल, चिडियाखानाजस्ता पूर्वाधारको काम थालिएको छ।
ताल नजिकै चार विघामा पिकनिक स्पोट बनाउने काम भइरहेको छ। ‘बजेट जति जुट्दै जान्छ, त्यहीअनुसार पुर्वाधारका काम गरिरहेका छौं। ताल निर्माण गर्न गत साल डीपीआर तयार गरेका थियौंं’, मिथिला नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामकुमार कार्कीले भने। मिथिला सागरको विकास गर्न शहरी विकास मन्त्रलायबाट चार करोड बजेट स्वीकृत भएको छ। भौतिक पूर्वधार निर्माणका लागि टेण्डर पनि भइसकेको छ। प्राकृतिक सुन्दरता मिथिला सागरको अर्को विशेषता हो। ‘तालमा डुँगा सयर गर्न, वनभोज खान, घुम्न दिनहुँ पर्यटक आउने गरेका छन्’, तालको रेखदेखमा खटिएका गणेश खड्काले भने।
प्राचिन मिथिलाकोे राजधानी जनकपुरधाम हो। प्रदेश २ को अस्थाई राजधानी पनि जनकपुर नै हो। भ्रमण वर्ष २०२० लाई लक्षित गरेर जनकपुरसँग जोड्न चुरेमा ताल निर्माण गरिएको मेयर महतोको भनाइ छ। ‘जनकपुरधाम आउने पर्यटकलाई आकर्षित गर्ने सामथ्र्य मिथिला सागरसँग छ’, उनले भने, ‘जनकपुरधामलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न मिथिला सागर महत्वपूर्ण कडी बन्नसक्छ।’
ढल्केबर चोकबाट तालसम्म आउन सडक विस्तार गरिएको छ। ४० लाख रुपैयाँ खर्च गरेर केमलीपुरस्थित बसही खोलामा पूल निर्माण सम्पन्न भइसकेको छ। त्यसैगरी एक करोड २५ लाख रुपैयाँ खर्चेर डेढ किलोमिटर सडक पक्की ढलान गरिएको छ। सडकलाई खोलाको बाढीबाट बचाउन बसही खोलामा तट्बन्ध पनि बाँधिएको छ।





प्रतिक्रिया दिनुहोस !