सिरहाबाट बेपत्ता पारिएको तेल ट्यांकर धनुषामा भेटियो
जनकपुरधाम : सिरहाबाट चोरी भएको डिजेल बोकेको ट्यांकर धनुषामा फेला परेको छ ।मंसिर २ गते राती सरहाको लहानबाट अज्ञात समूहले बेपत्ता गरेको तेल ट्यांकर धनुषाको रमदैयामा रित्तो फेला परेको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका इन्स्पेक्टर अमृत दाहालले जनाए ।
बुधबार बिहान साढे ७ बजे धनुषाको क्षिरेश्वरनाग नगरपालिका १ रमदैयास्थित राजदेवी मन्दिरको छेउमा पार्किङ गरेको अवस्थामा ट्यांकर रित्तो फेला परेका हो । ट्यांकरमा १९ लाख ४० हजार रुपैयाँ बराबरको २० हजार लिटर डिजेल थियो ।
अमलेखगञ्ज डिपोबाट डिजेल बोकी विराटनगरतर्फ गइरहेको नेपाल आयल निगमको ट्यांकर ना ४ ख ४१६३ नम्बरको ट्यांकर सिरहाको लहानबाट आइतबार मध्यरातमा अज्ञात समूहले अपहरण गरेको थियो ।
लाहानको हुलाक कार्यालय अगाडि पार्किङ गरेको अवस्थामा मध्य रातको मौका छोपेर चालकसहित उक्त ट्यांकर बेपत्ता पारिएको थियो। चालक रामदेव यादव र सहचालक उमेश यादवको आँखामा कालोपट्टी बाँधेर अज्ञात समूहले बर्दिबाससम्म लगेका थिए।बर्दिबासमा चालक र सहचालकलाई ओरालेर डिजेलसहितको ट्यांकर आफैसँगै लगेको श्रोतले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस !