चोरीका ६ मोटरसाइकलसहित ७ जना पक्राउ
जनकपुरधाम : चोरीका ६ वटा मोटरसाइकलसहित ७ जना पक्राउ परेका छन्। धनुषाका ३ जना र महोत्तरीका ४ जना युवकलाई चोरिएको मोटरसाइकलसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी रामेश्वर कार्कीले जनाए।
पक्राउ पर्नेमा धनुषाको सबैला नगरपालिका १ मुसहरी टोलका २५ वर्षीय काशिन्द्र सदा, शहिदनगर नगरपालिका२ का २० वर्षीय विजय यादव, विदेह नगरपालिका २ का २० वर्षीय राजन यादव रहेको प्रहरीले जनाएको छ।
मोटरसाइकल चोरेको आरोपमा महोत्तरीको बर्दिबास नगरपालिका १३ भेडियाही बिजलपुराका २३ वर्षीय अरुणकुमार राउत, २२ वर्षीय सुनिल कुमार चौधरी, १९ वर्षीय रामपुकार भण्डारी र औरही नगरपालिका ३ बस्ने मनोजकुमार ठाकुर पनि पक्राउ परेका छन्।
उनीहरुको साथबाट ज.५ प. ७१६३ नम्बरको ग्लामर, ज.६ प. ५४६० नम्बरको पल्सर, बा.४७ प. ९९४३ नम्बरको पल्सर, ज.९प.९०८ नम्बरको सुपर स्पलेण्डर, ज.६प. ९७७५ नम्बरको आइसर र ज.७ प.९८८१ नं. को डिस्कभर मोटरसाइकल प्रहरीले बरामद गरेको छ । पक्राउ परेकामाथि चोरी शीर्षकमा मुद्दा चलाई जिल्ला अदालत धनुषाबाट म्याद लिइ अनुसन्धान थालिएको छ ।
प्रतिक्रिया दिनुहोस !