विवाह पञ्चमीमा राष्ट्रिय बिदा दिन प्रधानमन्त्रीसँग माग
जनकपुरधाम : सीता–राम विवाह पञ्चमी महोत्सवमा राष्ट्रिय बिदा दिन जानकी मन्दिरले प्रधानमन्त्री केपी शर्मा ओलीलाई चिठ्ठी लेखेको छ। मंसिर १५ गते परेको विवाह पञ्चमीका दिन बिदा घोषणा गरी पर्वको गरिमा बढाउन जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवले प्रधानमन्त्रीलाई पत्र लेखेका हुन्।
‘श्री सीताराम विवाह पञ्चमी महामहोत्सव परापूर्व कालदेखि प्रत्येक वर्ष जनकपुरधाममा मनाउँदै आइरहेको साँस्कतिक महोत्सवमा देश तथा विदेशबाट लाखौं श्रद्धालु भक्तजन आउने गरेको सर्वविदितै छ ,’पत्रमा भनिएको,‘ विवाह पञ्चमी हाम्रो देशको एक अन्तर्राष्ट्रिय स्तरमा हिन्दु धर्मावलम्बीहरुको पहिचानको रुपमा छ। यसले राष्ट्रको गौरवमय इतिहास बोकेको छ। यसको अझै गरिमा बढाउन विवाह पञ्चमी महोत्सवका दिन राष्ट्रिय बिदा घोषणा नेपाल सरकारबाटै पर्वको सम्मान गरियोस् भनी जोडदार रुपमा राष्ट्रिय विदाको माग गर्दछौं।’
त्रेतायुगमा मर्यादा पुरुषोतम भगवान् राम र माता जानकीबीच भएको बिवाहको स्मरणमा हुने रामजानकी बिवाह पञ्चमीको तयारी सुरु भएको छ। विवाह पञ्चमी महोत्सव अन्तर्गत पहिलो दिन मंसिर १० गते जनकपुर नगर दर्शन, ११ गते फुलबारी लिला, १२ गते धनुषयज्ञ, १३ गते तिलकोत्सव, १४ गते मटकोर, १५ गते स्वयम्बर र शुभ बिवाह र १६ राम कलेवासँगै विवाह पञ्चमी सम्पन्न हुने छ।

प्रतिक्रिया दिनुहोस !