नेल्टा सहभागी भन्छन् - अंग्रेजी पढाउने तरिका सिकियो
काठमाडौं : अंग्रेजी भाषाको प्रभावकारी सिकाइबारे छलफल गर्न आयोजित सम्मेलनका सहभागीले कार्यक्रमबाट आफूले अंग्रेजी पढाउने सरल तरिका जानेको बताएका छन् । सम्मेलनबाट सिकेको कुरा स्कुलमा पनि कार्यान्वयन गरिने उनीहरुको भनाइ छ ।
विश्वका २६ मुलुकका अंग्रेजी शिक्षक तीन दिनदेखि ललितपुरको डिएभी स्कुलमा भेला भएका छन् । नेपाल अंग्रेजी भाषा शिक्षक संघ (नेल्टा) र अंग्रेजी भाषा शिक्षकको अन्तर्राष्ट्रिय संघ टिसोल (अमेरिका) ले आयोजना गरेको क्षेत्रीय सम्मेलनमा सहभागी हुन उनीहरु नेपाल आएका हुन् ।
सहभागीले अंग्रेजी शिक्षाको विकाससँग सम्बन्धित रहेर कार्यपत्र प्रस्तुत गरेका छन् । सम्मेलनमा अंग्रेजी कसरी पढाउने ? कस्तो अंग्रेजी शिक्षा आवश्यक छ ? भाषाको माध्यमबाट देशको विकास कसरी गर्न सकिन्छ भन्ने विषयमा ज्ञान पाएको शिक्षकले बताए ।
'विश्वभरबाट अंग्रेजी शिक्षक आउनु भएको छ । एक अर्को देशमा अंग्रेजी कसरी पढाइन्छ ? राम्रो शिक्षक बन्ने आइडिया सम्मेलनबाट थाहा पाएँ, ' सम्मेलनमा काभ्रेबाट आएकी कल्पना थापाले भनिन् ।
सम्मेलन प्रभावकारी भएको उनले बताइन् । 'विश्वमा अंग्रेजीको प्राक्टिक्स कस्तो भइरहेको छ ? नेपालले अंग्रेजीमा सुधार गर्नुपर्ने विषयबारे सम्मेलनबाट सिक्न पाइयो,' अर्का सहभागी अग्नि ज्ञवालीले भने ।
'टिसोल-नेल्टा सम्मेलन नेपालमा पहिलोपटक भएको हो,' नेल्टाका उपाध्यक्ष जयराम खनालले भने,' नेपालका लागि यो गौरवको विषय हो ।' सम्मेलनमा शनिबारसम्म आठवटा की नोट, १७ वटा प्लेनरी तथा २ सयभन्दा बढी कार्यपत्र प्रस्तुत गरिनेछ । 'अंग्रेजी भाषाको माध्यमबाट नेपालको कला संस्कृति चिनाउन विश्वमा चिनाउन सकिन्छ,' उपाध्यक्ष खनालले भने, 'विश्वका अरू देशले नेपाली भाषा बुझ्दैनन् । त्यसैले नेपालको प्रमोट गर्न पनि अंग्रेजी भाषा आवश्यक छ ।' आयोजकका अनुसार भेलामा १ हजार अंग्रेजी शिक्षक सम्मिलित छन् ।
प्रतिक्रिया दिनुहोस !