विष्फोटक पदार्थको वितरण सहज बनाउँदै सेना
काठमाडौं : नेपाली सेनाले आफूमातहत उत्पादित विष्फोटक पदार्थको वितरण सहज बनाएको छ। सेनाले हेटौंडास्थित सुनाचुरी उद्योगबाट उत्पादित विष्फोटकको बजार प्रवद्र्धन सहज बनाएको हो। उसले विष्फोटक पदार्थ बजार व्यवस्थापन समितिमार्फत् वितरण र बजार व्यवस्थापन गर्नेछ।
सेनाले सुनाचुरीसहित मुलुकका अन्य तीन स्थानबाट विष्फोटक पदार्थ वितरण गर्ने तयारी गरेको छ। सेनाले बाँकेको कोसल्यानगरस्थित लजिस्टिक स्टोर, महोत्तरीको बर्दिवासस्थित लजिस्टिक स्टोर र चितवनबाट विष्फोटक पदार्थ वितरणको तयारी गरेको छ। चितवनमा लजिस्टिक स्टोर बनाउने तयारी भइरहेको छ। निर्माण कम्पनीको सहजताका लागि सेनाले आफ्नै लजिस्टिक स्टोरबाट विष्फोटक वितरण गर्ने तयारी गरेको हो।
चीनबाट ल्याइएको नयाँ प्लान्टबाट पूर्ण क्षमतामा विष्फोटक पदार्थ उत्पादन भइरहेको छ। अहिले दुई वटा प्लान्टले उत्पादन गरिरहेका छन्। सेनाका बलाध्यक्ष रथी गौरव तण्डुलले विष्फोटक पदार्थमा आत्मनिर्भर हुन नयाँ प्लान्ट थपिएको बताए।
तत्कालका लागि उक्त समितिको कार्यालय सैनिक मुख्यालयमै रहेको छ। आगामी फागुनबाट समितिको कार्यालय त्रिपुरेश्वरस्थित सेनाको कार्यालयमा खोलिनेछ। जंगी अड्डाले बुधबार गरेको ‘सेनाको उद्योगबाट उत्पादित विष्फोटक पदार्थ वितरण सहजीकरण’ मा सेनाले यस्तो जानकारी दिइएको हो।
नेपालमा बर्सेनि ५–७ हजार मेट्रिक टन विष्फोटक पदार्थ खपत हुँदै आएको छ। प्लान्ट अभावमा विगतमा धेरै विष्फोटक पदार्थ उत्पादन हुन सकेको थिएन। दुई वटा प्लान्टले पूर्ण क्षमतामा उत्पादन गर्ने हो भने नेपाललाई आवश्यक विष्फोटक पदार्थ सुनाचुरीबाट उत्पादन गर्न सकिने सेनाले जनाएको छ। सेनाले उत्पादन गरेको विष्फोटकको गुणस्तरमा केही निर्माण कम्पनीले प्रश्न उठाएपछि तुलनात्मक परीक्षणसमेत गरिएको थियो। सेनाले गत वैशाख १९ गते निर्माणाधीन फास्ट ट्र्याकमा पर्ने सिस्नेरीमा सेना र अन्य तीन विदेशी कम्पनीले उत्पादन गरेको विष्फोटकको गुणस्तर परीक्षण गरेको थियो।
सेनाले सुनाचुरीबाट उत्पादित विष्फोटकको गुणस्तर पानीमुनि (अन्डरवाटर) समेत परीक्षण गरेको थियो। उसले त्रिशूलीमा अन्डरवाटर परीक्षण गरेको थियो। दुवै परीक्षणमा सुनाचुरीबाट उत्पादित विष्फोटकको गुणस्तर विदेशी कम्पनीकै उत्पादनसरह पाइएको थियो। सेनाले जमिन प्वाल पार्न र पहाड फोड्न विष्फोटक पदार्थको परक्षिण गरेको थियो। सुनाचुरीको उत्पादनको गुणस्तर विदेशी कम्पनीकै सरह गुणस्तरीय ठहरिएपछि सेनाले बजार प्रवद्र्धन गर्न थालेको हो।
विष्फोटक उत्पादन गर्न चाहिने कच्चा पदार्थ सेनाले भारत र चीनबाट ल्याउने गरेको छ। निर्माण कम्पनीले आवश्यक परेको औचित्य पुष्टी गरेपछि सेनाले उसलाई सुरक्षासहित विष्फोटक पदार्थ उपलब्ध गराउनेछ। सम्बन्धित निर्माण कम्पनीले बंकर बनाएर विष्फोटक पदार्थ भण्डारण गर्नुपर्नेछ। विष्फोटक ओसार्नेदेखि भण्डारण र प्रयोग गर्नेसम्मको सुरक्षा राज्यका सुरक्षा निकायले दिनेछन्।