'दोकान बन्द हुन लागेका मधेसी दलहरू नै मोर्चाको प्रयास गर्दैछन्'

वीरगन्ज : संघीय सरकारका खानेपानी मन्त्री प्रदीप यादवले अस्तित्व नै संकटमा परेका मधेस केन्द्रित दलहरू मोर्चा, सहकार्य र एकताको प्रयासमा लागेको बताएका छन्। जनता समाजवादी पार्टी (जसपा)का उपमहासचिवसमेत रहेका मन्त्री यादवले मधेस र मधेसीका अधकिारका लागि नभई आफ्नो निहित स्वार्थपूर्तिका लागि उनीहरू मोर्चा र सहकार्यको प्रयासमा लागेको बताए।
वीरगन्जमा शनिबार जसपा पर्साले आयोजना गरेको बृहत् पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै यादवले व्यंग्य गर्दै भने, ‘ज-जसको दोकान बन्द हुन लाग्या छ। ती दल नै मधेसी दलहरूबीच सकार्य, मोर्चा र एकता गराउने भनेर अहिले लागेका छन्।' उनीहरूको छलफल र अभियानमा जसपा सहभागी नभएको उनले प्रस्ट्याए।
उनले भने,‘ मधेसी दलहरूबीच सहकार्य, एकता वा मोर्चाबन्दी कुनै दल विशेषका नेतालाई चुनावमा जिताउन लागि हुनुहुँदैन। जसपाको शर्त छ, मधेस र मधेसीको अधिकार प्राप्तिका लागि मोर्चा वा सहकार्य हुनुपर्छ। मधेस आन्दोलनबाट प्राप्त राजनीतिक उपलब्धिको रक्षाका लागि मधेसी दलहरूबीच सहकार्य वा मोर्चा हुनुपर्छ। तर, अहिले सहकार्य वा मोर्चाका लागि भनेर छलफलमा जुटेका मधेस केन्द्रित दलहरूको स्वार्थ मधेस र मधेसका मुद्दाभन्दा पनि आगामी निर्वाचनमा आफू जित्नका लागि रहेको टिप्पणी उनले गरे।
पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्यसमेत रहेका मन्त्री यादवले पूर्वमन्त्री एंव आम जनता पार्टीका अध्ध्यक्ष प्रभु साहलाई लक्षित गर्दै वीरगन्ज र पर्सा जिल्लाका नेताहरूका बारेमा गलत शब्द प्रयोग नगर्न चेतावनी दिए। केही दिन पहिला वीरगन्ज आएका पूर्वमन्त्री साहले पर्साका नेता र मन्त्रीहरूलाई चोर र दलालको संज्ञा दिँदै सार्वजनिक अभिव्यक्ति दिएका थिए। मन्त्री यादवले पनि साहलाई सर्कस चलाउने सर्कसवाला नेताको संज्ञा दिए।
साहले राजनीतिक दल नभई सर्कस देखाउने पार्टी खोलेको टिप्पणी गर्दै मन्त्री यादवले भने, ‘औद्योगिक नगरी वीरगन्जमा आएर चन्दा असुल्ने नियतले यहाँका व्यपारी र कर्मचारीलाई डरत्रासको धम्कीपूर्ण भाषण दिँदैछन्। यो उनको पुरानो बानी नै हो।’ तर, अब वीरगन्जमा ती नेताको केही पनि चल्न नसक्ने उनले बताए। 'यदि वीरगन्जका व्यपारी वा कर्मचारीलाई धम्क्याएर चन्दा उठाएको जुन दिन सुनिन्छ त्यही दिन ती नेतालाई भूइँमा पछारेर छातीमा रगडी दिन्छौं। हेक्का रहोस्,’ उनले भने।
रौतहटबाट पर्सा वा वीरगन्जमा आएर प्यारासुटवाला नेताले बढी फूर्ति नलगाउन पनि उनले चेतावनी दिए। उनले भने, ‘जातको राजनीति गर्ने उपेन्द्र यादवको जस्तो राजनीति वीरगन्जमा चल्दैन। त्यसैले ती नेतालाई यही कार्यक्रमबाट सन्देश दिन चाहन्छु कि वीरगन्ज वा पर्सामा आएर धेरै फूर्ति नलगाएकै बेस होला।’
प्रतिक्रिया दिनुहोस !
