त्रिविका २३ विद्यार्थीलाई ३१ पदक, कसलाई कुन ?
काठमाडौं : त्रिभुवन विश्वविद्यालयले २३ जना विद्यार्थीलाई ३१ वटा पदक वितरण गर्ने भएको छ । ४५ दीक्षान्तमा प्रदान गरिने उक्त पदक पाउने विद्यार्थीको नाम विश्वविद्यालयले सार्वजनिक गरेको छ ।
२३ जनामध्ये १५ जना छात्रा र ८ जना छात्र छन् । तीमध्ये एकजनाले तीनवटा पदक प्राप्त गरेका छन् । ५ जनाले दुई/दुईवटाका दरले र १७ जनाले एक÷एकवटाका दरले पदक÷पुरस्कार हात पार्ने भएका छन्। आगामी पौष ३ गते हुने त्रिविको ४५ औं दीक्षान्त समारोहमा ती पदक एवं पुरस्कार वितरण गरिने छन् ।
व्यवस्थापन संकायअन्तर्गत एमफिल तहमा सर्वोत्कृष्ट अंक प्राप्त गरेका जनप्रशासन केन्द्रीय विभागका श्रृजना पहारीलाई 'त्रिवि प्राध्यापक संघ सहिद उपप्राध्यापक हरिराज अधिकारी स्वर्णपदक' प्रदान गरिने भएको छ । स्नातकोत्तर तहमा २०७२ सालको दीक्षान्त पदक अन्तरगत स्कुल अफ म्यानेजमेन्टबाट एमबिए तहमा सर्वोत्कृष्ट अंक प्राप्त गरेकी मिरा ज्ञवालीलाई श्री इन्द्रभक्त श्रेष्ठ स्वर्णपदक प्रदान गरिने भएको छ ।
२०७३ सालको स्नातकोत्तर तहको दीक्षान्त पदक एवं पुरस्कारअन्तरगत १३ विद्यार्थीले १९ पदक एवं पुरस्कार प्राप्त गर्ने भएका छन् । जसमा स्नातकोत्तर तहको परीक्षामा प्रथम श्रेणीमा प्रथम हुने तथा सम्पूर्ण मास्टर्स तहमा सर्वप्रथम हुनेलाई प्रदान गरिने चान्सलर पदक, त्रिवि प्राध्यापक संघ स्वर्णपदक र रामप्रसाद मानन्धर स्वर्णपदक पुल्चोक क्याम्पसका विशिष्ट श्रेणीमा उत्तीर्ण उमेश आचार्यले प्राप्त गर्ने भएका छन् ।
यसैगरी अमृत पदक र पिएम सिंह पदक एमएस्सी रसायनशास्त्र विषयमा सर्वप्रथम हुने विश्वविद्यालय क्याम्पस रसायनशास्त्र केन्द्रीय विभागका संगिना महर्जनलाई प्रदान गरिने भएको छ । इमेरिटस प्रा.डा. रामप्रसाद चौधरी स्वर्णपदक एमएस्सी वनस्पतिशास्त्र विषयमा सर्वप्रथम हुने वनस्पतिशास्त्र केन्द्रीय विभागका ध्रुव खकुरेललाई प्रदान गरिने त्रिविले जनाएको छ ।
मालती तिमिल्सिना पुरस्कार पद्मकन्या क्याम्पसबाट एमए गृह विज्ञान विषयमा सर्वोत्कृष्ट भएकी बिर्सना खड्कालाई र सुमन रिजाल पदक एम ए समाजशास्त्र÷मानवशास्त्र विषयमा सर्वप्रथम हुने मानवशास्त्र केन्द्रीय विभागका दिपेन्द्र लामालाई प्रदान गर्ने निर्णय भएको छ ।
नरेन्द्रमणि आचार्य दीक्षित पदक एम ए अंग्रेजी साहित्यमा सर्वोत्कृष्ट भएकी अंग्रेजी केन्द्रीय विभागका गाथा रिजाललाई प्रदान गरिनेछ । खगेन्द्रमान सिं प्रधान पदक, तारापद चौधरी पदक तथा चन्द्रराज ढुँगेल स्मृति पुरस्कार एमए अर्थशास्त्र विषयमा सर्वोत्कृष्ट भएका अर्थशास्त्र केन्द्रीय विभागका विद्यामान महतारालाई प्रदान गर्ने निर्णय भएको त्रिविले जनाएको छ ।
एमबिएस परीक्षामा प्रथम भएका व्यवस्थापन केन्द्रीय विभागका विकल देवकोटालाई नेपाल बैंक लि. सरदार गुञ्जमान सिं स्वर्णपदक र एमबिएस परीक्षामा महिलाहरुमध्ये प्रथम भएकी व्यवस्थापन केन्द्रीय विभागकै अस्मिता खड्कालाई रामकृष्ण न्हुच्छे प्रधान पुरस्कार प्रदान गरिने निर्णय भएको छ ।
एमएस्सी जैविक प्रविधि विषयमा प्रथम भएकी जैविक प्रविधि केन्द्रीय विभागका प्रणिता पौड्याललाई डा. रेखा र लक्षमैया श्रीरामा स्वर्ण पदक, एमए पुस्तकालय विज्ञान विषयमा प्रथम पुस्तकालय विज्ञान केन्द्रीय विभागका विमला नेपाललाई शान्ति नारायण मिश्र पदक प्रदान गरिनेछ ।
एमए पत्रकारीता विषयमा प्रथम भएकी पत्रकारीता केन्द्रीय विभागका सोनिका लामिछानेलाई नारायण शान्ति मिश्र पदक, एमए राजनीतिशास्त्र विषयका सर्वप्रथम पृथ्वीनारायण क्याम्पस, पोखराका थमनसिंह गौतमलाई ललित चन्द पदक र वडाकाजी मरिचमान सिंह पदक प्रदान गर्ने निर्णय भएको छ ।
२०७४ सालको स्नातक तहमा उत्कृष्ट हुनेले प्राप्त गर्ने १० वटा दीक्षान्त पदक तथा पुरस्कार पाउने विद्यार्थीको संख्या ८ रहेको छ । जसमा स्नातक तहको परीक्षामा सर्वप्रथम हुनेलाई प्रदान गरिने भाइस चान्सलर पदक शंकरदेव क्याम्पसका इलिशा खरेललाई दिइने भएको छ । उनले नै बिबिए (व्यापार प्रशासन स्नातक) परीक्षामा सर्वप्रथम भई प्राप्त गर्ने भ्वाईथ सत्य माँ स्मृति स्वर्ण पदक समेत प्राप्त गर्ने भएकी छन् ।
सिभिल इन्जिनियरिङ विषयका स्नातक तह (बिई सिभिल) मा प्रथम भएकी पुल्चोक क्याम्पसकी स्वाती आचार्यलाई शिवराज पन्त स्मृति पुरस्कार दिइने भएको छ । मानविकी संकाय अन्तरगत स्नातक तहमा सर्वप्रथम हुने र तीन वर्षे बिए परीक्षामा महिलामध्ये सर्वप्रथम हुने सान्त्वना मेमोरियल मल्टिपल क्याम्पस, शान्तिनगरका अन्जना शर्मालाई पिपल्स क्याम्पस तीर्थरत्न बज्राचार्य पदक र ज्ञानप्रसाद पुरस्कार प्रदान गर्ने निर्णय भएको छ ।
तीन वर्षे बिएड परीक्षामा महिलामध्ये प्रथम भएकी सानोठिमी क्याम्पसका अनिता मगरलाई सुशीलादेवी शर्मा पुरस्कार, एलएलबि परीक्षामा सर्वप्रथम नेपाल ल क्याम्पसका कृपा श्रेष्ठलाई लोकराज ज्ञवाली स्वर्णपदक, बिबिएस परीक्षामा सर्वप्रथम हुने सिग्मा कलेजका विजय राईलाई नेपाल बैंक लि छत्र बहादुर पदक दिइनेछ ।
एलएलबीको संवैधानिक कानुन विषयमा सर्वप्रथम हुने नेपाल ल क्याम्पसका अनिता महर्जनलाई कृष्णप्रसाद चापागाईं पदक र बिए नेपाल रचना विषयमा सर्वोत्कृष्ट अंक हाषिल गरी कुल प्राप्ताङ्कमा सबैभन्दा बढी अंक प्राप्त गर्ने पाटन संयुक्त क्याम्पसका विवेक अधिकारीलाई अर्जुन पदक प्रदान गर्ने निर्णय भएको त्रिवि परीक्षा नियन्त्रण कार्यालयलेजनाएको छ।
प्रतिक्रिया दिनुहोस !