शोकमा डुब्यो अर्घाखाँची
![शोकमा डुब्यो अर्घाखाँची](https://annapurnapost.prixacdn.net/media/albums/Arghakhachi_20191115064655_Vp0QN9pfgs.jpg)
सन्धिखर्क : अर्घाखाँचीको नरपानीमा सडक दुर्घटनामा परी १९ जनाको मृत्युले जिल्ला शोकमा डुबेको छ । सन्धिखर्क बजार बिहीबार बन्द गरेर सदरमुकामवासीले शोक व्यक्त गरेका हुन् ।
उद्योग वाणिज्य संघ र नेपाल चेम्बर अफ कमर्सले सन्धिखर्क नगरपालिकामा भएको दुर्घटनाले सिंगो जिल्ला नै शोकमा डुबेका कारण बजार बन्द गर्ने निर्णय गरेपछि बजार बन्द भए । सडक राम्रो नहुँदा पटक–पटक सवारी दुर्घटना भएको भन्दै सडकको विस्तार गर्न जिल्लावासीले माग गरेका छन् । दुर्घटना हुन्छ नेताले समवेदना व्यक्त गर्ने मात्र होइन, सडकको स्तरोन्नति गर्नुपर्छ सन्धिखर्क नगरपालिका ६ नरपानीका वडाध्यक्ष कृष्णबहादुर आचार्यले बताए । उनले सडक स्तरोन्नतिमा स्थानीय, प्रदेश तथा केन्द्र सरकारको ध्यान जान आवश्यक रहेको बताए । ज्यानमारा सडकको रूपमा चिनिने नरपानीदेखि फुदवांगसम्मको सडकलाई चौडा बनाउनु पर्ने उनको भनाइ छ ।
सन्धिखर्कबाट बुटबलका लागि दिउँसो साढे १ बजे छुटेकोे लु२ख २१४८ नम्बरको बस नरपानी बजार नजिकैको घुम्तीमा दुर्घटना भएको हो । दुर्घटनामा १८ जना घाइतेमध्ये १६ जनाको काठमाडौं र रूपन्देहीमा उपचार भइरहेको छ । दुईजना घर फर्किएका छन् । दुर्घटनामा १७ जनाको घटनास्थलमै र दुईको उपचारको क्रममा मृत्यु भएको हो । घाइतेमध्ये एक जनाको उपचारको क्रममा प्राथमिक स्वास्थ्य केन्द्र ठाडा र अर्का एक जनाको चौराह हस्पिटल बुटवलमा मृत्यु भएको सहायक प्रमुख जिल्ला अधिकारी विष्णुराज बेल्बासेले बताए ।
बस दुर्घटनामा ज्यान गुमाउने चालकसहित १२ पुरुष ७ महिला गरी १९ जनाको ज्यान गएको हो जसमा दुई बालबालिका छन् । मृतक सबैको सनाखत भएको छ । मृत्यु हुनेमा बस चालक कपिलवस्तुका ओमबहादुर थापा, गुल्मी धुर्कोटका सशस्त्र प्रहरी बल रूपन्देहीमा कार्यरत राजकुमार महतसहित सनपा–७ डिहिडाँडाका शिवलाल भट्टराई, सोही ठाँउका बलराम भट्टराई, मोनिका खड्का, सनपा–२ का माया पुरी, भुनपा–१०, धनचौरका छविलाल गैरे, भुनपा–७ का मेघराज भण्डारी छन् ।
छत्रदेव–८ का कृष्ण सुनार बराली, शितगंगा–११ की सीता बस्नेत, भुनपा–९ की सीता घिमिरे, भुनपा–१० का विष्णुमाया गैरे, सनपा–२ की सीता नेपाली, शितगंगा–७ का हरिबहादुर दर्जी, सोही ठाउँका लोकबहादुर दर्जी, शितगंगा–१ का मञ्जु विक र तीन महिनाका बालक शोभाखर पोखरेलको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश बिष्टले जानकारी दिए ।
भुनपा–९ का सैलेश थापाको उपचारका लागि लैजाँदै गर्दा प्राथमिक स्वास्थ्य केन्द्र ठाडा र गाडीधनी शितगंगा–२ का सन्तोषबहादुर बस्नेतको चौराहा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । तीब्र गतिका कारण बस सडकबाट झन्डै तीन सय मिटर तल खसेको थियो । गति बढी भएका कारण दाहिने मोड काट्ने क्रममा बस सडकबाट तल खसेर दुर्घटना भएको प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले बताए । दुर्घटनामा १८ जना घाइते भएमध्ये १६ जनाको काठमाडौं र रूपन्देहीमा उपचार भइरहेको छ । घाइतेमध्ये दुईजना घर फर्किएका छन् ।
मोड काट्ने क्रममा ब्रेक नलागेर दुर्घटना भएको पश्चिम नेपाल बस व्यवसायी समिति अर्घाखाँची शाखा प्रमुख कमलप्रसाद भट्टराईले बताए । सडक र गाडीको कारण दुर्घटना भएको उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)