महिला फुटबल : शरु लिम्बूको गोलले नेपालको विजयी सुरुवात
पोखरा : १३ औं दक्षिण एसियाली खेलकुद अन्तरगतको महिला फुटबल प्रतियोगितामा नेपालले विजयी सुरुवात गरेको छ। पोखरा रंगशालमा मंगलबार भएको पहिलो खेलमा नेपालकी शरु लिम्बूले ८८ औं मिनेटमा गरेको एक मात्र गोलको मद्दतले नेपाल विजयी भएको हो।
नेपालले प्रतिद्वन्द्वी श्रीलंकामाथि १-० गोल अन्तरले जित निकालेको हो। नेपालले खेल अवधिभर श्रीलंकालाई दबाबमा राखेको थियो। खेलको १५ औ मिनेटमा सवित्रा भण्डारी (साम्भा)ले डिबक्स भित्र पाएको अवसरलाई सदुपयोग गर्न सकिनन्।
खेल अवधिभर पुरा दबाब राखेको नेपालले दोस्रो हाफको १३ औँ मिनेटमा साम्भाले प्रहार गरेको बल क्रस बारबाट बाहिरिएको हो। नेपाली टिमका जर्सी नम्बर ९ लगाएर मैदानमा उत्रिएका सवित्रा भण्डारी खेल अवधिभर दर्शकको नजरमा रहिन्। उनी प्रतिद्धन्द्वी श्रीलंकाका खेलाडीको नजरबन्दका बाबजुद पनि राम्रो प्रदर्शन गर्दै प्रशंसा बटुल्न सफल भइन्।
श्रीलंकाले खेल अवधिभर रक्षात्मक खेल खेलेका थिए। सो को अवसरमा नेपाली खेलाडीले पटक-पटक डिबक्स भित्र पाएको राम्रो अवसरलाई सदुपयोग गर्न सकेको थिएन्।
टीमका क्यापटेन निरु थापाले खेलको ३८ औं मिनेटमा हानेको प्रहारलाई श्रीलंकाका गोलकिपर अयोमी विजेराथनाले बचाउँ गरेकी थिइन्। खेल अवधिभर नेपालले दबाब राखेको भए पनि नतिजा निकाल्न नसकेपछि नेपाली महिला टिमका प्रशिक्षक हरि खड्काले खेलको ३२ औँ मिनेटमा दिपा राईलाई मैदानबाट निकालेर लिम्बूलाई मैदान पठाएका थिए।
प्रतिक्रिया दिनुहोस !