सावित्राको कीर्तिमानी गोलसँगै नेपाल फाइनलमा
पोखरा : १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा सावित्रा भण्डारीले सर्वाधिक गोलकर्ताको कीर्तिमान सँगै माल्दिभ्सविरुद्ध ह्याट्रिक गर्दा नेपाल महिला फुटबल प्रतियोगितामा एक खेल अगाडि नै फाइनलमा पुगेको छ। भण्डारीको ह्याट्रिक गोलको मद्यतले बिहीबार पोखरा रंगशालाको फुटबल मैदानमा नेपालले माल्दिभ्सलाई ३-० गोल अन्तरले हराउँदै फाइनल पुगेको हो। फाइनलमा स्वर्ण पदकका लागि भारतसँग भिड्नेछ।
यस अघि श्रीलंकालाई १-० गोल अन्तरले हराउँदै तीन अंक जोडेको नेपाल माल्दिभ्सलाई हराएर ६ अंक जोडदै फाइनलमा प्रवेश गरेको हो। भण्डारीले खेलको १६ औं मिनेटमा पहिलो गोल गर्दै नेपाली टोलीलाई जितको बाटो देखाएकी थिइन्। यो संगै सावित्रा ३६ गोल गर्दै नेपालका लागि सर्वाधिक गोल गर्ने खेलाडी बनिन्। सावित्राले पूर्वकप्तान अनु लामाको नाममा रहेको ३५ गोलको कीर्तिमान भंग गरेकी हुन्।
यस्तै खेलको २१ औं मिनेटमा सवित्राले व्यक्तिगन दोस्रो गाले गर्दै २-० को अग्रता दिलाएकी थिइन्। खेलको इन्जुरी समयमा पेनाल्टीमा गोल गर्दै सावित्राले नेपाललाई ३-० को गोल दिलाएकी हुन्। जितसंगै नेपाल एक खेल अघि नै फाइनलमा पुगेको हो।
अब नेपालले लिग चरणको अन्तिम खेल शनिबार भारतसँग खेल्नेछ। भारतले बिहीबार श्रीलंकालाई ६-० गोल अन्तरले हराएको थियो। राउण्ड रोबिनको आधारमा महिला फुटबलको शीर्ष दुई टिम उपाधिका लागि भिड्ने छन्।