ग्रेडिङले विद्यार्थीलाई अल्छी बनाएको छ
हुने बिरुवाको चिल्लो पात। यो उखान नेपाली समाजमा निकै प्रचलित छ। जो कोहीले राम्रो काम गरे यही उखानसँग जोडेर प्रशंसा गरिरहेको देखिन्छ। यही उखानसँग ठ्याक्कै मेल खान्छ, संगीता श्रेष्ठको जीवन पनि। उनी काठमाडौं तीनकुनेस्थित भीएस निकेतनकी प्रिन्सिपल हुन्।
आफूमा क्षमता भए जुनसुकै काम सजिलै गर्न सकिन्छ भन्ने विश्वास उनीभित्र छ। त्यसैले आज उनले यति लामो इतिहास बोकेको विद्यालयको जिम्मेवारी सजिलै निभाइरहेकी छिन्। ‘म सानैदेखि पढाइमा कहिल्यै दोस्रो भइनँ’, सानैदेखि पढाइमा अब्बल संगीताले भनिन्, ‘सायद यही कारणले होला आज म यहाँसम्म आइपुगेको छुँ।’ काठमाडौंमै जन्मे हुर्केकी श्रेष्ठको परिवारमा अन्य सदस्य धेरै पढे, लेखेका छैनन्। सबैले व्यापार गर्छन्। पढेर जागिर खाने उनी मात्रै हुन्।
बाल्यकाल र शिक्षा
व्यापारिक परिवारमा जन्मेकी संगीता परिवारकी एक्ली छोरी हुन्। सानोमा एकदमै हठी स्वभावकी उनी पढाइमा भने निकै अब्बल थिइन्। चार वर्षको हुँदा स्वयम्भूस्थित आनन्दकुटी विद्यापीठबाट उनको औपचारिक पढाइ सुरु भयो। त्यही स्कुलबाट उनले २०४१ सालमा एसएलसी पास गरिन्। उनी त्यो स्कुलमा कहिल्यै पनि दोस्रो भइनन्।
पढाइमा अब्बल भएका कारण उनी एसएलसी पछि त्रिचन्द्र कलेजमा विज्ञान विषय लिएर प्रमाणपत्र तह उत्तीर्ण गरिन्। त्यसपछि बीएस्सी पनि त्यहीँबाट गरिन्। पढाइलाई निरन्तरता दिँदै २०५० सालमा वनस्पति शास्त्र विषय लिएर उनी त्रिभुवन विश्वविद्यालयमा भर्ना भइन्।
शिक्षण यात्रा र प्रिन्सिपल
घरको कुनै पनि सदस्यले पढेर जागिर नखाएको देखेर उनलाई पढेर जागिर खान मन थियो। त्यसैले उनलाई भविष्यमा शिक्षक बन्ने इच्छा जाग्यो। नभन्दै २०५० साल पुस २६ बाट उनको शिक्षण यात्रा प्रारम्भ भयो। संयोगवश उनको पहिलो कर्मथलो भीएस निकेतन नै बन्यो।
त्रिभुवन विश्वविद्यालयबाट वनस्पति शास्त्र विषय लिएर स्नातकोत्तर प्रथम वर्षमा अध्ययन गरिरहेकी संगीतालाई सोही विद्यालयमा पढाउने प्रस्ताव आयो। उनले त्यहाँ मावि तहको शिक्षकको रूपमा पढाउन सुरु गरिन्। दिन बित्दै जाँदा उनी विद्यालयकी राम्रो शिक्षिकाको रूपमा गनिँदै गइन्। त्यसपछि उनी विद्यालयको इन्चार्ज बनिन्, अनि सेकेन्डरी कोर्डिनेटर हुँदै चिफ कोर्डिनेटर र त्यसपछि भाइस प्रिन्सिपल बनिन्। यसरी उनले करिब २४ वर्षको लामो अनुभव सँगालेपछि २०७४ बाट प्रिन्सिपलको जिम्मेवारी पाइन्। भन्छिन्, ‘हाम्रो आदरणीय फाउन्डर प्रिन्सिपल डा. बाबुराम पोखरेलको निधन भएपछि मैले यो विद्यालयको प्रिन्सिपलको जिम्मेवारी सम्हालेकी हुँ।’ प्रिन्सिपलको जिम्मेबारी सम्हाले पनि उनले विद्यार्थीलाई गणित, विज्ञान, स्वास्थ्य जनसंख्यालगायतका विषय पढाउन छाडेकी छैनन्।
शिक्षक हुँदा पढाउने काममा मात्र बढी ध्यान दिइने र प्रिन्सिपल भइसकेपछि स्कुलको प्रशासनिकदेखि अरू सम्पूर्ण कुरामा ध्यान दिनुपर्ने भएकोले यो पद निकै चुनौतीपूर्ण रहेको उनको अनुभव छ। ‘प्रिन्सिपल भइसकेपछि सिंगो विद्यालय, अभिभावक, शिक्षक, इन्चार्ज र अभिभावकको भूमिका लिएँ भन्ने ठानेको छुँ ’ उनले थपिन्, ‘तर, म विद्यार्थीको राम्रो भविष्यका लागि सधंै राम्रो शिक्षा दिने प्रयास गरिरहेको छुँ।’ उनी प्रिन्सिपल भएपछि पहिलेको तुलनामा विद्यार्थीलाई अझै प्रतिस्पर्धात्मक बनाएको बताउँछिन्। भन्छिन्, ‘पहिले कुनै विषयमा लेखेर दिइन्थ्यो र त्यसलाई जसले याद गथ्र्यो त्यसलाई राम्रो मान्थ्यौं। अहिले विद्यार्थीलाई नै लेख्न वा खोजी गर्न लगाएर उनीहरूको सिर्जनशीलतामा बढी जोड दिन्छौं।’
शिक्षा क्षेत्रका समस्या
अहिलेको लागि नेपालमा आएको ग्रेडिङ सिस्टमको रिजल्टलाई शिक्षा क्षेत्रमा देखिएको एक समस्या मान्छिन्, संगीता। उनी भन्छिन्, ‘नेपालको शिक्षा पूर्ण रूपले गुणस्तरिय भइसकेको छैन। यो बेलामा हामीले जसरी हुन्छ विद्यार्थीलाई मावि तहसम्मको आधारभूत शिक्षा घोकाएर भए पनि निकै प्रतिस्पर्धात्मक बनाउनुपर्ने आवश्कता छ।’ यसले विद्यार्थीमा अल्छीपना ल्याएको उनको भनाइ छ। यसले उनीहरूमा नपढे पनि पास भइन्छ भन्ने मानसिकता विकास गरेको उनको बुझाइ छ। यसले समग्र शिक्षाको विकासमा समस्या निम्त्याउन सक्ने संकेत उनी गर्छिन्।
यसबाहेक राज्यले ल्याएको शिक्षा नीति पनि सबैका लागि समान खालको नभएको उनी बताउँछिन्। यसप्रति राज्यले ध्यान दिनुपर्ने उनको धारणा छ। उनी भन्छिन्, ‘समय अनुकूल पाठ्यक्रमको परिमार्जन र संशोधन पनि हुन सकेको छैन।’ बरु निजी विद्यालयले यस्ता विषयको पूर्ति गरे पनि राज्यले निजी विद्यालयप्रति गरेको व्यवहारप्रति उनी निराश छिन्। यस्ता समस्या समाधानका लागि राज्यले शिक्षा क्षेत्रमा पर्याप्त लगानी गर्नुपर्ने उनको सुझाव छ।