राजधानीमा नौ बजेपछि स्कुल बस चलाउन नपाइने
काठमाडौं : उपत्यकाका स्कुल बस बिहान नौ बजेपछि चल्न नपाउने भएका छन्। उपत्यकाको ट्राफिक व्यवस्थापनबारे बिहिबार प्रधानमन्त्री कार्यालयमा सरोकारवालाबीच छलफल भएपछि यस्तो निर्णय भएको हो।
कार्यालय समयमा स्कुल बस चलाउँदा सवार आवागमनमा समस्या भएको निष्कर्ष निकाल्दै यस्तो निर्णय गरिएको छ। छलफलमा नीजि स्कुल सञ्चालकहरुको संस्था प्याब्सन, एन-प्याब्सन, हिसान, अभिभावक महासंघ, शिक्षक महासंघ तथा शिक्षा मन्त्रालयका अधिकारी र उपत्यका ट्राफिक महाशाखाका अधिकारी सहभागी थिए।
छलफलमा सहभागि अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारीले केटाकेटी बोक्ने सबै बस विहान नौ बजेभित्रमा स्कुल हातामा प्रवेश गरिसक्नुपर्ने निर्णय भएको बताए। तर, यो निर्णय अव्यवहारिक भएको भन्दै स्कुल सञ्चालकले भने असन्तुष्टि जनाएका छन्।
विद्यार्थी बोक्ने बस भन्दा पनि कर्पोरेट हाउस तथा अन्य निकायमा काम गर्ने कर्मचारीहरुले प्रयोग गर्ने सवारीका कारण सवारी जाम हुने स्कुल सञ्चालकको भनाइ छ।