त्रिविमा श्रेणीविहिन कर्मचारीले गरे विज्ञापनको माग
काठमाडौं : सवारी चालक र कार्यालय सहयोगीको पनि खुल्ला प्रतिस्पर्धाबाट विज्ञापन गर्नुपर्ने माग गर्दै त्रिभुवन विश्वविद्यालयका कर्मचारीहरु आन्दोलनमा उत्रेका छन्। उनीहरुले आइतबार त्रिवि सेवा आयोगमा धर्ना दिएका हुन्।
त्रिविले मंसिर १५ गते कर्मचारी पदपूर्तिका लागि ७ सय १५ जना कर्मचारीको विज्ञापन गरेको थियो। तर, त्यतिखेर श्रेणीविहिन सावरी चालक र कार्यालय सहयोगीको विज्ञापन गर्न छुटाएको त्रिवि कर्मचारी संघका अध्यक्ष भोजराज राउतले बताए।
त्रिवि कार्यकारी परिषद्ले विज्ञापन गर्ने निर्णय गरेर पठाएपनि सेवा आयोगले विज्ञापन नगरेको उनले दाबी गरे। सेवा आयोगका अध्यक्ष लालु पौडेलले भने कार्यालय सहायक र सवारी चालककको पूर्ति स्थायी विज्ञापनबाट नगरि ठेक्का पट्टाबाट मात्रै गर्ने गरि त्रिवि सभाले पारित गरेकोले विज्ञापन नगरिएको बताए।
‘सभाले गरेको निर्णय उल्ट्यार फेरि सभाले नै पारित गर्यो भने विज्ञापन गर्छौं, अन्यथा कार्यकारी परिषदले भनेको भरमा विज्ञापन गर्न सक्दैनौं’, पौडेलले भने।