फिल्म बनाउन बेलायतदेखि घान्द्रुकसम्म

फिल्म बनाउन बेलायतदेखि घान्द्रुकसम्म

लन्डन : सामान्यतः युवा विदेशी चलचित्रतर्फ नै बढी आकर्षित रहन्छन् भन्ने आमबुझाइ छ। अझ विदेशतिरै जन्मिएका, यतै हुर्किएकाहरूमा त नेपाली चलचित्रप्रतिको आकर्षण नभेटिनु नौलो मानिँदैन।

तर डेढ दशकअघि तन्नेरी छँदै नेपाल छोडेका युवा विमल गुरुङ भने अपवाद देखिएका छन्। १३ वर्ष हङकङमा बिताएर दुई वर्षअघिदेखि बेलायत बस्दै आएका उनमा नेपाली चलचित्रप्रतिको प्रेम र लगाव उदाहरणीय छ।

चलचित्र निर्माणको माध्यमबाट नेपाली कला र संस्कृति संरक्षण मात्र होइन, आफ्नो गाउँठाउँको प्रवद्र्धनसमेत गर्ने अभियानमा उनी जुटेका छन्। अहिले आफ्नो एकल लगानीमा चलचित्र निर्माण गर्दैछन् विमल, त्यो पनि तमु भाषामा। आफ्नो जन्मस्थान घान्द्रुकको प्रवद्र्धन गर्ने लक्ष्यसहित उनले मातृभाषामै बनाउन लागेको चलचित्र ‘शिरसुबा’को निर्माण अन्तिम चरणमा पुगेको छ। २७ दिन लगाएर चलचित्रको ९५ प्रतिशत छायांकन घान्द्रुकमै गरिसकिएको छ, बाँकी छायांकन छिट्टै हङकङमा गरिँदैछ।

घान्द्रुक गाउँको मनमोहक प्राकृतिक सुन्दरता र गौरव गर्नलायक विशिष्ट संस्कृति, कला र परम्परालाई शिरसुबामार्फत उजागर गर्ने कोसिस विमलको छ। यो ठाउँले बोकेको पर्यटनको ठूलो सम्भावनालाई केही हदसम्म भए पनि सार्थक बनाउन चलचित्र सहयोगी बन्ने उनलाई विश्वास छ।

शिरसुबालाई आउँदो वैशाखमा प्रदर्शनमा ल्याउने गरी तयारी भइरहेको छ। नेपाली भाषामा सबटाइटल रहने यो चलचित्रलाई घान्द्रुक, पोखरादेखि लमजुङ, स्याङ्जा, चितवन र काठमाडौंसम्म प्रदर्शन गर्ने सम्झौता गरिसकिएको निर्माता विमल बताउँछन्। नेपालबाहिर हङकङ, जापान, अमेरिका र बेलायतमा समेत देखाउने टुंगो लागिसकेको छ।

विमलले यसअघि आफैंले लेखेको तमु भाषाको चलचित्र भ्रे (पाहुना)मा शीर्ष भूमिकामा अभिनय गरेका थिए। नेपालसहित हङकङ, अमेरिका, बेलायतलगायतका देशमा चलचित्र प्रदर्शन भएपछि दर्शकबाट उनले प्रशंसा बटुले। तर उनलाई भने आफू पर्दापछाडिकै भूमिकामा बढी फिट छु जस्तो लाग्यो। त्यसैले अहिले आफ्नै कथा र निर्माणमा बनिरहेको शिरसुबाका लागि उनले अरू नै कलाकार खोजे। आफू सानो भूमिकामा झुल्किएका मात्र छन्।

शिरसुबाको छायांकनका लागि करिब डेढ महिना नेपालमा बिताएर हालै बेलायत फर्किएका छन् विमल। चलचित्रमा आफू एक्लैले ३५ लाख रुपैयाँ लगानी गरेको बताउँदै उनी भन्छन्, ‘मैले चलचित्र निर्माणभन्दा पनि आफ्नै गाउँठाउँका लागि लगानी गरेको सम्झिएको छु। चलचित्रले कमाउन सक्यो भने एक पैसा पनि म आफूले राख्ने छैन, सबै गाउँकै लागि खर्च गर्नेछु।’

विमलको यो चलचित्र शिरसुबालाई माओत्से गुरुङले निर्देशन गर्दैछन्। विश्वास गुरुङ, सुमन गुरुङ, प्रीति गुरुङ, सुमित गुरुङलगायतको मुख्य अभिनय रहेको चलचित्र भ्रेज मे श्रो फिल्म प्रोडक्सनको ब्यानरमा बन्न लागेको हो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.