जग्गा कारोबारको आवरणमा ‘गुण्डागर्दी’ गर्ने २ जना पक्राउ
काठमाडौं : प्रहरीले ‘गुण्डागर्दी’मा संलग्नताको अभियोगमा दुई जनालाई पक्राउ गरेको छ। जग्गा कारोबारका आवरणमा गुण्डागर्दी गर्ने नवलपुर देउचुली घर भई कोटेश्वर बस्दै आएका दुर्गा भन्ने देवान राई र काभ्रे नमोबुद्ध घर भई गोठाटार बस्दै आएका विष्णुबहादुर धिताललाई शनिबार प्रहरीले पक्राउ गरेको हो। उनीहरुले भित्रभित्रै धम्क्याएको भन्दै महानगरीय प्रहरी अपराध महाशाखामा पीडितले उजुरी गरेपछि पक्राउ गरिएको हो।
पकाउमध्ये राई कांग्रेस निकट मिनकृष्ण महर्जनलाई ललितपुरमा गोली हानी घाइते बनाएको र ज्यान मार्ने उद्योगमा ५ वर्ष जेल बसेर छुटेका अभियुक्त हुन्। उनी सुजन पौडेल 'रमेश बाहुन' निकट व्यक्ति हुन्। भक्तपुर क्षेत्रमा जग्गा कारोबारको आवरणमा गुण्डागर्दी गर्ने धिताल दावा लामा निकट छन्। महानगरीय अपराध महाशाखाका एसएसपी सहकुलबहादुर थापाका अनुसार उनीहरु गुन्डागर्दी गर्ने, धक्याउने, फिरौती असुल्न संलग्न भएकाले पक्राउ गरिएको हो।
प्रतिक्रिया दिनुहोस !