पतिले कुटेर बेहोस, उपचार खर्च तिर्न नसक्दा अस्पतालमै बन्धक

पतिले कुटेर बेहोस, उपचार खर्च तिर्न नसक्दा अस्पतालमै बन्धक

बुटवल : श्रीमान‍्को कुटाइबाट सख्त घाइते भएकी किशोरी आर्थिक अभावले अस्पतालमै बन्धक बनेकी छिन् । पाल्पा रामपुरकी १८ वर्षीया पूजा सोमै (ठगिसरा) रुपन्देहीको क्रिमसन अस्पतालमा करिब एक महिनादेखि बन्धक छिन् ।

अर्धचेत अवस्थाकी उनलाई अस्पतालले घर जान भनिरहेको छ। तर, उपचार खर्च भएको रकम बुझाउन नसकेपछि उनी त्यहि बस्‍न बाध्य भएकी हुन्।

अन्र्तजातीय विवाह गरेकी उनी श्रीमानकै कुटपीटबाट गम्भीर घाइते भएकी थिइन्। उनका श्रीमान भोमे सोमै पाल्पा प्रहरीको हिरासतमा छन् । उनका माइतीले उपचार खर्च व्यहोर्न सकेका छैनन्।यता घरपक्षले भने वास्ता गरेका छैनन्।

उनका बुवा ५६ वर्षीय लालबहादुर परियारले अस्पतालमा २ लाख रकम बुझाउन बाँकी रहेको बताए । उनले छोरीको उपचारका लागि अहिलेसम्म तीन लाख खर्च गरिसकेका छन्। यो रकम औषधि र खाना खर्चमा सकिएको हो । अस्पतालमा अप्रेसन र वेड वापतको खर्च बुझाउन बाँकी छ । असोज २९ गते क्रिमसन अस्पतालमा पूजालाई भर्ना गरिएको हो ।

श्रीमान् भोमे सौमेको कुटपिटबाट पूजाको टाउको फुटेको छ । दायाँतर्फको शरीर चल्दैन । अस्पतालका न्यूरोसर्जन डा. बलराम न्यौपानेले टाउको र घाँटीको समेत शल्यक्रिया गरेका हुन्। एक महिनाअघि नै चिकित्सकले डिस्चार्ज दिएका हुन् । डिस्चार्जपछि उनी जनरल वार्डको बेड नम्बर ७ मा छिन् । 'अस्पताल प्रशासनले बिरामीलाई घर लैजान पटकपटक ताकेता गरेको छ, लालबहादुरले भने, 'तर उपचारको रकम तिर्न सकिएको छैन।कसरी घर लैजाउ।'

श्रीमानले कुटेर मरणासन्न

असोज ८ गते श्रीमान् भोमे सौमैले परपुरुषसँग लागेको आरोपमा पूजालाई मरणासन्न हुने गरि कुटपिट गरेका थिए। उनको टाउकोमा गम्भीर चोट लाग्यो । उपचारका लागि पाल्पास्थित मेडिकल कलेजमा पुर्‍याए। त्यहाँ प्रारम्भिक उपचारपछि उनलाई रुपन्देहीको क्रिमसन अस्पतालमा रिफर गरिएको थियो ।

पूजाको मतिष्कमा ठूलो चोट भएकाले तत्काल बोल्न नसक्ने चिकित्सकले बताएका छन् । पाल्पामा असोज ९ देखि २८ गतेसम्म उपचार भएको थियो। त्यहाँ निको नभएपछि असोज २९ देखि तिलोत्तमास्थित क्रिमसन अस्पतालमा उपचार भइरहेको छ।

उनका माइती पाल्पा निस्तीमा विद्यालयको जग्गामा खेतीपाती गरेर घरखर्च चलाउँदै आएका छन् । सुरुको उपचारमा गाउँलेले सहयोग गरे । त्यति रकमले पुगेन । लालबहादुरले पैसाको जोहोका लागि हारगुहार गरेका छन् ।उनी दिनभर अस्पतालभित्र छटपटाइरहेका हुन्छन्। 

छोरीको आडैमा बस्छन् । छोरीलाई हेर्छन्। बोलाउँछन् तर बोल्न सक्दिन् । ढाइ महिनादेखि छोरी बचाउनका लागि भन्दै लालबहादुर स्थानीय तहदेखि सरकारका विभिन्न निकाय धाउन पुगे। सहयोग मिलेन । आर्थिक अवस्था अत्यन्तै न्यून भएकाले गाउँमा पनि कसैले ऋण पत्याएनन् । 

'सम्पत्ति केही पनि छैन, विद्यालयको जग्गामा खेती गरेर बाँचेको छु' लालबहादुरले गुनासो पोखे, 'बरु छोरीलाई मारेको भए हुने, आज उपचार गर्न नसकेर छटपटाउनु परेको छ।'
 
निस्ती गाउँपालिका ५ पाक्दिकी पूजाले ३ वर्षअघि रामपुर नगरपालिका ४ दर्छा विपिनडाँडाका भोमे सौमैसँग अन्तरजातीय विवाह गरेकी थिइन्। राजी खुसीमै प्रेम विवाह भएको थियो । तर अहिले घरपक्षले वास्तै गरेका छैनन्। नेतादेखि सांसदसम्म दुखेसो पोखेपनि कसैले सहयोग नगरेको पूजाका दाजु सुबास परियारले बताए । 

क्रिमसन अस्पतालका अध्यक्ष चिन्तामणि पाण्डेले उपचार नरोकिएको बताउँदै शतप्रतिशत सहुलीयत गर्न नसकिने बताए । केही रकम छुट दिन सकिए पनि निशुल्क गर्न नसकिने बताए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.