पीपीएल : बुटवललाई हराउँदै विराटनगर फाइनलमा

पीपीएल : बुटवललाई हराउँदै विराटनगर फाइनलमा

पोखरा : विराटनगर टाइटन्स दोस्रो पोखरा प्रिमियर लिग (पीपीएल) टीट्वेन्टी क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। पोखरामा बिहीबार खेलिएको ‘इलिमिनेटर खेल’ मा बुटवल ब्लास्टर्सलाई २१ रनले हराउँदै विराटनगर फाइनलमा पुगेको हो। विराटनगरले अब शनिबार हुने फाइनलमा चितवन राइनोजसँग उपाधिका लागि भिडन्त गर्नेछ।

चितवन भने लिग चरणमा पाँचवटै खेल जित्दै समूह विजेताका रूपमा सीधै फाइनलमा पुगेको हो। लिग चरणको खेलमा बुटवल दोस्रो र विराटनगर तेस्रो हुँदै ‘प्ले अफ’ चरणमा पुगेका थिए। जारी प्रतियोगितामा विराटनगरले बुटवललाई हराएको यो दोस्रो पटक हो। यसअघि बुधबार खेलिएको लिग चरणको अन्तिम खेलमा पनि विराटनगरले बुटवललाई चार विकेटले पराजित गरेको थियो।

टस हारी पहिले ब्याटिङको निम्तो पाएको विराटनगरले निर्धारित ओभरमा पाँच विकेट गुमाएर एक सय ६५ रन बनाएको थियो। जवाफी ब्याटिङमा ओर्लिएको बुटवलले भने निर्धारित ओभरमा सबै विकेट गुमाएर एक सय ४४ रनमात्र बनाउन सक्यो। पहिले ब्याटिङ गरेको विराटनगरका लागि ओपनर ब्याट्सम्यान सुनील धमलाले अर्धशतकीय पाली खेले।

सुनीलले केवल ५४ बलको सामना गरी दुई छक्का र ६ चौकाको मद्दतले ६१ रन बनाए। विकेटकिपर ब्याट्सम्यान प्रदीप ऐरीले अविजित ३३ रनको योगदान गरे। आक्रामक रूपमा प्रस्तुत भएका प्रदीपले केवल १३ बलको सामना गरी चार छक्का र एक चौका पनि हिर्काए। सुनील र मुहम्मद जइद आलमले ओपनिङ विकेटका लागि ३९ रनको साझेदारी गरे।

रनआउट भई पेभेलियन फर्किनुअघि मुहम्मद सइद आलमले २० रन बनाए। उनले १३ बलको सामना गरी तीन चौका पनि हिर्काए। लोकेश बम र पुनित मेहराले टोलीको खातामा १९÷१९ रन थपे। बुटवलका बलर हर्ष टोन्कले दुई विकेट लिए। ललित भण्डारी र अविनाश बोहराले पनि एक÷एक विकेट हात पारे।

जवाफी ब्याटिङमा ओर्लिएको बुटवलका लागि ओपनर आफताबउद्दिन अहमदले ४३ र भीम सार्कीले ४४ रन बनाए पनि टोलीको जितका लागि त्यो पर्याप्त हुन सकेन। आफताबउद्दिन अहमदले २२ बलको सामना गरी दुई छक्का र ६ चौका तथा भीमले ३४ बलको सामना गरी दुई छक्का र तीन चौका हिर्काएका थिए। पुरण विकले १५ र शिभम सिंहले १४ रन जोडे।

बुटवलका अन्य ब्याट्सम्यानले भने दोहोरो अंकमा रन बनाउन सकेनन्। कप्तान सोमपाल कामी पाँच रनमै पेभेलियन फर्किए। विराटनगरका बलर साहब आलम र पुनित मेहराले तीन÷तीन विकेट लिए। किशोर महतो, जितेन्द्र मुखिया र मुहम्मद जइद आलमले पनि एक/एक विकेट हात पारे। उक्त खेलमा विराटनगरका साहब आलम म्यान अफ दी म्याच घोषित भए।  


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.