उपचार नपाएको बस्ती
बाजुरा : बाजुराका विकट कैयौं गाउँका नागरिक अझै स्वास्थ्य सेवाबाट वञ्चित छन्। हिमाली गाउँपालिकाका वडा नम्बर १, २, ३ र ४ का धेरै बस्ती स्वास्थ्य सेवाबाट वञ्चित हुँदै आएको गाउँपालिका अध्यक्ष गोबिन्द्रबहादुर मल्लले बताए। वडा नम्बर १ कोटगाउँबाट बिच्छाया स्वास्थ्य चौकी पुग्न करिब दुई दिन लाग्छ। बिरामी ल्याउन र लैजान पनि समस्या हुने गरेकाले जडीबुटीको भर पर्नुपरेको स्थानीय जैधन रोकायाले बताए।
जैधनकी श्रीमतीलाई मंसिरमा ज्वरो आएको साता भइसकेको थियो, स्वास्थ्य चौकी टाढा भएकाले घरमै जडीबुटीको उपचार गरिरहेकी छन्। ज्वरो ठीक भएको छैन। बाजुराको विकट हिमाली गाउँपालिका–३ गुम्बा गाउँका बासिन्दा सधँै जडीबुटीको भर पर्छन्।
‘बिच्छया स्वास्थ्य चौकी पुग्न दुई दिन लाग्छ, जान–आउन पनि समस्या भएकाले स्वास्थ्य सेवाबाट वञ्चित हुनुपरेको छ’, हिमाली गाउँपालिका–१ का वडा सदस्य जगत् लामाले भने, ‘सिटामोल जीवनजल लिन दुई÷तीन दिन खर्च गर्नुपर्ने हुन्छ, त्यसैले जडीबुटीको विकल्प छैन।’
गुम्बा गाउँमा २६ परिवार बसोवास गर्छन्। हिमाली गाउँपालिका–४ किउडी गाउँका ८० परिवार र बिच्छया गाउँका ८५ परिवार पनि स्वास्थ्य चौकीबाट विमुख छन्। रुगिन स्वास्थ्य चौकीमा कार्यरत अनमी प्रेमकला मल्लले भनिन्, ‘ती गाउँबाट बिच्छाया स्वास्थ्य चौकी पुग्न एक दिनभन्दा बढी समय लाग्छ।’ सामान्य स्वास्थ्य सेवासमेत नपाउने गरेको उनले बताइन्।
वर्षातमा त यी गाउँमा खोप सेवा बन्द हुने गरेको स्थानीय बताउँछन्। ‘भौगोलिक विकटताले निकै टाढा भएकाले स्वास्थ्य सेवाबाट वञ्चित हुनुपरेको छ’, स्थानीय धनमती रोकायाले भनिन्। उनले स्वास्थ्य चौकी टाढा भएकाले बच्चासमेत घरमै जन्माउने गरेको बताइन्। किउडी गाउँमा अहिलेसम्म एक जनाले पनि स्वास्थ्य संस्थामा बच्चा नजन्माएको उनले बताइन्।
‘धेरै अप्ठ्यारो भए मात्र स्वास्थ्य चौकी लैजान्छौ, नत्र घरमै हो सुत्केरी गराउने’, हिमाली गाउँपालिकाकी उपाध्यक्ष चन्द्रकला बुढाले बताइन्। ‘गाउँपालिकाका धेरै महिला स्वास्थ्य चौकी टाढा भएकाले घरमै बच्चा जन्माउने गर्छन्’, गाउँपालिकाले केही ठाउँमा सामुदायिक स्वास्थ्य केन्द्र स्थापना गर्ने तयारी गरिरहेको उनले बताइन्।
स्वामीकार्तिक, जगन्नाथ, गौमुल गाउँपालिका र बुढिन्नदा नगरपालिकाका अधिकांश गाउँ स्वास्थ्य चौकीको पहुँचभन्दा टाढा रहेको जगन्नाथ गाउँपालिका अध्यक्ष कालीबहादुर शाहीले बताए।
जिल्ला अस्पताल बाजुराका कार्यालय प्रमुख डा. रुपचन्द्र विश्वकर्माका अनुसार बाजुरामा भौगोलिक विकटताले सकेजति स्वास्थ्योपचारमा पहुँच पुर्याएको बताए। ‘खोपको इन्डिकेटर हुन्छ, भौगोलिक विकटताले मौसम र समयानुकूल नहँुदा खोप सेवा दिन समस्या हुने गरेको छ’, डाक्टर विश्वकर्माले भने।
बाजुराको पूर्वी–उत्तर क्षेत्रका लागि कोल्टी प्राथमिक स्वास्थ्य केन्द्र खोप सेन्टर हो। कोल्टीबाट युना खोप केन्द्र पुग्न ३ दिन लाग्ने उनले बताए।
सुत्केरी हुन दुई महिनादेखि सदरमुकाममा डेरा
बाजुरा जिल्लाकै अति दुर्गम मानिँदै आएको गौमुल गाउँपालिका–१ अन्द्राडीका महिला सुत्केरी हुन २ महिनाअघि नै सदरमुकाम मार्तडी आउने गर्छन्। गाउँमा स्वास्थ्य सेवाको विकल्प नहुँदा उनीहरू सदरमुकाम मार्तडीमा कोठा भाडामा बसेर सुत्केरी गराउन बाध्य भएका हुन्।
गौमुल गाउँपालिकाको स्वास्थ्य चौकीसम्म पुग्न उनीहरूलाई एक दिन लाग्ने भएपछि उनीहरूले २ महिनाअघि नै सदरमुकाम मार्तडी आइसक्नुपर्ने बाध्यता छ। गर्भवतीले कम्तीमा पनि ४ पटक स्वास्थ्य जाँच गर्नुपर्ने प्रावधान रहे पनि सो गाउँका महिला गर्भ जाँचबारे अनभिज्ञ छन्। अन्द्राडी गाउँमा ४५ घरपरिवारको बस्ती छ। यस गाउँका स्थानीयलाई स्वास्थ्य सेवा लिन १ दिन पैदल हिँड्नुपर्ने बाध्यता रहेको महिला स्वास्थ्य स्वयंसेविका कमलाकुमारी धामी बोहराले बताइन्। उनले भनिन्, ‘गाउँका महिलालाई बिरामी पर्दा सिटामोलसमेत दिन सकिँदैन, गर्भवतीलाई समस्या हुने गरेको छ’, बोहराले भनिन्। नजिकै स्वास्थ्य संस्था नभएपछि अन्द्रडी गाउँका कतिपयले सुत्केरी हुने अन्तिम दुई महिनाअघि नै जिल्ला सदरमुकाम मार्तडी आइसक्नुपर्ने बाध्यता रहेको स्थानीय जमुना रोकायाले गुनासो गरिन्।
गौमुल गाउँपालिका स्वास्थ्य शाखामा कार्यरत धर्म बुढाले महिलाको स्वास्थ्य सेवालाई ध्यानमा राखी गाउँमा उपबर्थिङ सेन्टर स्थापना गरिदिन गौमुल गाउँपालिकालाई आग्रह गरेको बताइन्।
गौमुल गाउँपालिकाका अध्यक्ष हरि रोकायाले गाउँपालिकाभरिका ६ वटै वडाका स्थानीयलाई स्वास्थ्य सेवाबाट वञ्चित हुन नदिन सबै वडामा स्वास्थ्य सेवाको पहुँच बढाइने बताए।
प्रतिक्रिया दिनुहोस !