विश्वकै धनी युट्युबर र्‍यान

विश्वकै धनी युट्युबर र्‍यान

हिजोआज आफ्नो क्षमता देखाउन चाहने जुनसुकै उमेरसमूहका मानिसका लागि युट्युब एउटा गतिले प्लेटफर्म बनेको छ। पैसा कमाउन र विश्वभर चर्चित हुन चाहने धेरैका लागि युट्युब एउटा राम्रो माध्यम सावित भएको छ।

सन् २०१९ मा युट्युबबाटै सबैभन्दा धेरै कमाउने व्यक्तिको रूपमा र्‍यान काजीको नाम अहिले विश्वभर चर्चामा रहेको छ। अमेरिकाका आठ वर्षीय यी बालकको नाम विश्वचर्चित पत्रिका फोब्र्सले धनाढ्यको सूचीमा समेत सूचीकृत छ। अमेरिकामा सबैभन्दा बढी पैसा कमाउने उत्कृष्ट १० युट्युबरको सूचीमा र्‍यानको नाम पहिलो नम्बरमा परेको छ। सानै उमेरमा युट्युबमा आफ्नो सीप र क्षमता प्रदर्शन गरेर विश्वभरका बालबालिकामाझ लोकप्रिय बनेका र्‍यान सिर्जनशीलताको पनि उदाहरण बनेका छन्।

आठ वर्षकै उमेरमा र्‍यानले कसरी कमाए यति धेरै पैसा ? भाइबहिनीको मनमा अवश्य पनि यस्तो जिज्ञासा जाग्न सक्छ। तिमीहरूमध्ये कतिले त युट्युबमा र्‍यानको भिडियोसमेत हेरिसकेका होलाऊ। उनले युट्युबमा विभिन्न खेलौनाको समीक्षा गर्ने गर्छन्। उक्त समीक्षा उनले आफ्नो च्यानल ‘र्‍यान वल्र्ड’ मा अपलोड गर्ने गरेका छन्। उक्त युट्युब च्यानलमार्फत उनले सन् २०१९ मा मात्रै २.६ करोड अमेरिकी डलर कमाएका छन्।

गत वर्ष पनि र्‍यान सर्वाधिक पैसा कमाउने युट्युबर बनेका थिए। सन् २०१८ मा उनले २.२ करोड अमेरिकी डलर कमाएका थिए। खेलौनासँग खेल्दाखेल्दै उनले यति धेरै पैसा कमाएका हुन्। उनी आफ्नो काममार्फत विश्वभरका बालबालिकाका लागि मात्र नभई ठूला मानिसका पनि सुपरस्टार बनेका छन्।

को हुन् र्‍यान ?

र्‍यानको आमाको नाम लोन काजी र बाबुको नाम सियोन काजी हो। उनी आफ्ना आमाबाबु र दुई जुम्ल्याहा दिदीबहिनी इम्मा र केटसँग अमेरिकाको टेक्सासमा बस्छन्। उनले सन् २०१५ मा आफ्नो युट्युब च्यानल ‘र्‍यान वल्र्ड’ सुरु गरेका हुन्। हालसम्म उनको च्यानललाई दुई करोड ३१ लाखभन्दा बढी मानिसले सब्सक्राइब गरिसकेका छन्। उनको च्यानलको भिडियोहरू २६ अर्बभन्दा बढी पटक हेरिएको छ। यो च्यानलमा उनले हरेक दिन आफ्नो चञ्चले स्वभाव र खेलौनासँग जोडिएका खुसीहरू सेयर गर्ने गरेका छन्।

विश्वभरका १० लाखभन्दा बढी मानिसले उनको भिडियो प्रत्येक दिन हेर्ने गरेका छन्। उनको सबैभन्दा बढी मन पराईको भिडियोलाई एक अर्ब १० करोड मानिसले हेरेका छन्। उक्त भिडियोमा उनी बगैंचामा दौडिरहेको र बगैंचा भित्र खेलौना भएका प्लास्टिकका अन्डा खोजिरहेको देखिन्छ। उक्त भिडियोको नाम र्‍यानले ‘हग एग्स सरप्राइज टोयज च्यालेन्ज’ राखेका छन्।

उनको पहिलो भिडियो सन् २०१५ मा अपलोड गरिएको थियो। उक्त भिडियो १५ मिनेट लामो छ। यो भिडियोमा उनले खेलौना ट्रेन किनी यसलाई घर ल्याएर जोडेको देखिन्छ। यो भिडियो पाँच करोड मानिसले हेरेका छन्। उनको आफ्नै ब्रान्ड पनि बनेको छ। उनको ब्रान्डको प्रिन्टेड कपडा पनि बजारमा आइसकेको छ। बालबालिकाले उनको ब्रान्डलाई धेरै मन पराउने गरेका छन्। उनको सो निकोलोडियन च्यानलमा पनि प्रसारण हुने गरेको छ।

उनको उक्त च्यानलमा बालबालिकासँग सम्बन्धित धेरै जानकारी र विज्ञानका ससाना प्रयोगलाई पनि समेटिएका छन्। बालबालिकाले उनको च्यानल हेरेर घरमै बसी धेरै कुरा सिक्न सक्छन्।

युट्युबमा उनले गर्ने खेलौनाको समीक्षाका कारण धेरै पटक खेलाना उद्योगको बिक्रीसमेत बढाएको छ। सन् २०१८ को एक खेलौना मेलामा उनले ‘र्‍यान वल्र्ड’ नामक खेलौना ब्रान्ड पनि नामकरण गरेका थिए। यही ब्रान्डका खेलौना अनलाइनमार्फत उनका फ्यानलाई उपलब्ध गराउने व्यवस्था गरिएको छ।

यसरी जन्मियो र्‍यानको च्यानल

उनकी आमाले ‘वासिङ्टन पोस्ट’ नामक एक अमेरिकी पत्रिकालाई दिएको अन्तर्वार्ताका अनुसार, ‘र्‍यान सानैदेखि खेलौनाका सौखिन थिए। उनले युट्युबमा र टीभीमा आउने खेलौनाका रिभ्यु हेर्थे। तीन वर्षको उमेरदेखि नै यस्ता विषयमा उनको लगाव थियो।’ एक दिन र्‍यानले अमालाई सोधे, ‘अरू बालबालिका जस्तै म युट्युबमा किन छैन ? ’ त्यसपछि उनका लागि आमाले युट्युब च्यानल खोलिदिइन्। खेलौना पसलमा आमाले र्‍यानलाई लिएर गइन र एक लियो ट्रेन खरिद गरिदिइन्। त्यसैबाट र्‍यानले आफ्नो कामको सुरुआत गरेका थिए।

(एजेन्सीको सहयोगमा)


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.