कांग्रेसमा सहमति खोजी
काठमाडौं : नेपाली कांग्रेसमा बहुमतबाट १४ औं महाधिवेशनको कार्यतालिकालगायतका निर्णय गरेपछि थप आक्रोशित बनेको असन्तुष्ट समूहसँग संवादका लागि संस्थापन पक्षले प्रयास थालेको छ।
आफूहरूको सहमतिबिना बहुमतबाट अगाडि बढ्न खोजेको भन्दै सभापति शेरबहादुर देउवासँग कुनै पनि संवाद नगर्ने निर्णय गरेको असन्तुष्ट समूहलाई संस्थापन पक्षले सहमतिका लागि आग्रह गरेको हो। सोमबार बिहान कांग्रेस उपसभापति विमलेन्द्र निधिले वरिष्ठ नेता रामचन्द्र पौडेललाई भेटेर पार्टीभित्र सहमति गरेर अगाडि बढ्न आग्रह गरेका थिए।
मिलेरै अगाडि बढौं : संस्थापन
निर्णय नसच्याएसम्म मान्दैनौं : पौडेल
उपसभापति निधिले आसन्न राष्ट्रिय निर्वाचनबारे छलफल गर्न पुस १७ गते केन्द्रीय समिति बैठक बोलाउन सभापतिको तयारी रहेको जानकारी गराउँदै सहभागी हुन वरिष्ठ नेता पौडेललाई आग्रह गरेका थिए। ‘सभापतिज्यूले १७ गते बैठक बोलाउने भन्नुभएको छ। राष्ट्रियसभा निर्वाचनका लागि पार्टीका तर्फबाट उम्मेदवार तय गर्नु छ,’ उपसभापति निधिले भने, ‘यहाँहरु पनि बैठकमा सहभागी भइदिनुपर्यो। पार्टीलाई मिलेरै अगाडि बढाउनुपर्छ।’ निधिले प्रदेश दुईमा समाजवादी पार्टीसँग गठबन्धन गर्नेबारे छलफल भइरहेको वरिष्ठ नेता पौडेललाई जानकारी गराएका थिए। माघ ९ गते राष्ट्रियसभा निर्वाचन हुँदै छ। प्रदेश दुईमा राष्ट्रिय जनता पार्टी र सत्तारुढ दल नेकपाबीच चुनावी गठबन्धन गर्ने सहमति भइसकेको छ।
निधिको आग्रहलाई वरिष्ठ नेता पौडेलले इन्कार गरे। ‘हामी नआउँदा पनि सभापतिले निर्णय गरिरहनुभएकै छ, बैठक राख्नुस्। तपाईंहरू के के गर्नुहुन्छ, गर्नुस्,’ पौडेलले भने, ‘बहुमतका नाममा भएका निर्णय नसच्याएसम्म हामी बैठकमा सहभागी हुँदैनौं।’ उनले पार्टीमा विकृति बढेको बताए। ‘हिजो सरकार सञ्चालनका क्रममा भएका विकृति अहिले पार्टीभित्र दोहोरिन थालेका छन्। पार्टीलाई अधिनायकवादी शैलीमा चलाउन खोजिएको छ’, पौडेललाई उद्धृत गर्दै केन्द्रीय सदस्य हृदयराम थानीले भने।
उपसभापति निधिले भने वार्ता समितिमा भएको सहमतिकै आधारमा पार्टीले निर्णय गरेको जिकिर गरेका थिए। वार्ता समितिकै सदस्य थानीले निधिको भनाइको प्रतिवाद गरेका थिए। पार्टी महाधिवेशनको कार्यतालिका सार्वजनिक गर्नुपर्ने अडान राख्दै वरिष्ठ नेता पौडेल र अर्का नेता कृष्णप्रसाद सिटौला समूहले निरन्तर केन्द्रीय समिति बैठक बहिष्कार गरेका थिए। सहमतिका लागि संस्थापन र असन्तुष्ट समूहले वार्ता समिति नै गठन गरेका थिए। तर वार्ता समितिले पनि निष्कर्ष निकाल्न नसकेको भन्दै संस्थापन पक्षले बिहीबारको केन्द्रीय समिति बैठकबाट बहुमतले अर्का वर्ष फागुनमा गर्ने गरी महाधिवेशनको कार्यतालिका सार्वजनिक गर्नुका साथै विभाग संख्या बढाउने र नेपाल तरुण दलको समायवधि थपलगायत विभिन्न नौ निर्णय गरेको थियो।
यसबीच सोमबार दिउँसो एक विदेशी पाहुनासँगको भेटघाटमा महामन्त्री डा. शशांक कोइराला पनि देउवा निवास पुगेका थिए। यद्यपि त्यहाँ कुनै आन्तरिक विषयमा छलफल नभएको बताइएको छ।