कैलाली कारागारका कैदीबन्दीलाई कम्बल
धनगढी : कैलाली कारगारमा रहेका कैदीबन्दीलाई कम्बल वितरण गरिएको छ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा कैलालीले उपलब्ध गराएका ३ सय थान कम्बल धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वड र कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले कैदीबन्दीलाई हस्तान्तरण गरेका हुन् ।
उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले सामाजिक क्षेत्रमा सहयोग पुर्याउने नेपाल रेडक्रस सोसाइटी कैलालीलाई धन्यवाद दिए । नगरप्रमुख वडले कारागारका कैदीबन्दीलाई आवश्यक पर्ने आत्मनिर्भर हुने किसिमका तालिमहरु उप–महानगरले कारागार भित्रै संचालन गरिहरेको बताए ।
कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले कारागारमा रहेका कैदीबन्दीले आफ्नो व्यवहारमा सुधार गरेमा उनीहरुका लागि राहतका कार्यक्रम ल्याउन आफुहरु तयार हुने बताए ।
जिल्ला कारागार शाखा कैलालीमा ५ सय २८ कैदीबन्दीहरु रहेका छन् । क्षमताभन्दा बढी कैदीबन्दी हुँदा समस्या हुने गरेको छ । यसै गरी चिसोबाट बच्नका लागि कैदीबन्दीलाई दाउरासमेत धनगढी उप–महानगरपालिकाले वितरण गरेको छ ।