उखु खेती २० प्रतिशत घट्यो
जनकपुरधाम : उखु खेती यसबर्ष २० प्रतिशतले घटेको छ। सरकार र उद्योगीको रबैयाले उखु खेतीप्रति किसानको आकर्षण घट्दै गएको हो।
सरकारले उखु किसानलाई अनुदान रकम समयमा दिंदैन। उद्योगीले उधारोमा उखु लिएर भूक्तानी गर्न बर्सेनी आलटाल गर्छन्। उखु खेतीमा भविष्य नदेखेपछि निराश भएको किसानहरू बताउँछन्।
गतवर्ष देशभरीमा २ करोड ३ लाख क्वीन्टल उखु उत्पादन भएको थियो। यसवर्ष लगभग १ करोड ८० लाख क्वीन्टल उखु उत्पादन हुने अनुमान छ। गत वर्षभन्दा यस वर्ष २३ लाख क्वीन्ट उखुखेती घटेको नेपाल उखु उत्पादक महासंघले जनाएको छ।
सरकारले किसानलाई अनुदानको व्यवस्था गरेसंगै उखु खेती फस्टाएको थियो। तर, बाहिरी देशबाट चिनी आयात गरेर कमिसन खान पलेकाहरुको सेटिङ्गले उखु खेती गर्ने किसान मारमा छन्।
नेपाल उखु उत्पादक महासंघका केन्द्रीय अध्यक्ष कपिलमुनि मैनालीका अनुसार, चिनी उद्योगी र सरकारले दिने अनुदान गरी दुई अर्ब उखुको भूक्तानी किसानले पाएका छैनन्।‘रगत पसिना बगाएर उखु उब्जाएर उद्योगीलाई दिन्छौं। भुक्तानी गर्न आलटाल गर्छन्। वर्ष दिन हामीलाई झुलाइदिन्छन्’, उनले भने, ‘ आन्दोलन गरे सरकारले थुन्न पत्र काटेर खोजी गर्छ। सरकारले त झन् अनुदान रकम दिने मनसाय नै देखाउँदैन। सरकारलाई हामी अब के गरौं ? ’ गत वर्ष देशभर ९ अर्ब ८६ करोडको उखु उत्पादन भएको थियो।
गत वर्षकै १ अर्ब ३२ करोड सरकारले दिनु पर्ने अनुदान किसानलाई दिइएको छैन। परारकै २ करोड सरकारले दिनु पर्ने अनुदान पाएका छैनन्।
गत वर्ष किसानबाट उधारोमा उखु लिएका सर्लाहीको अन्नपूर्ण चिनी मिलले ५० करोड र महालक्ष्मी चिनी मिलले २१ करोड किसानलाई भूक्तानी दिएको छैन। 'उखुको भुक्तानी तुरुन्त गर !' भन्दै किसानले सर्लाहीबाट काठमाडौं गएर माइतीघर मण्डलामा आन्दोलन गरिरहेका छन्।
‘हाम्रा उखु किसान अहिले माइतीघर मण्डलामा भोकभोकै जाडोमा घाम मात्रै तापेर आन्दोलन गरिरेका छन्। सरकारले ख्याल गरोस्, माग सम्बोधन नभए सडक तताउँछौं,’ अध्यक्ष मैनालीले सरकारलाई चेतावनी दिए। किसानहरु उखुको भुक्तानी रकम माग्दै सडक आन्दोलन तताउने तयारीमा रहेको श्रोतले जनायो।
सरकारले ०७५-०७६ मा उखुको मूल्य प्रतिक्विन्टल ५ सय ३६ रुपैयाँ ५६ पैसा निर्धारण गरेको थियो। गत वर्ष प्रतिक्विन्टल ६५ रुपैयाँ २८ पैसा सरकारी अनुदान र ४ सय ७१ रुपैयाँ २८ पैसा उद्योगीले दिने गरी मूल्य निर्धारण भएको थियो। यस वर्षको उखु मूल्य पनि गत वर्षकै कायम भएको छ।
‘१८ महिना मिहिनेत गरेर बल्ल किसानले उखु काट्न पाउँछन्। त्यो पनि उधारोमा उद्योगीलाई बुझाउनु पर्दा किसान घर न घाटका हुन्छन्,’ महोत्तरी गौशालाका किसान देवनारायण महतोले भने,‘ उखु बुझाएको ४५ दिनभित्र भुक्तानी दिनुपर्ने उद्योगी–किसानबीच सम्झौता थियो। त्यसलाई उद्योगपतिले लत्याएर किसानलाई दुःख दिइरहेका छन्।’ चिनी नबिकेको बहाना बनाउँदै उद्योगपतिले किसानको भुक्तानी दिन ढिलाइ गर्ने उनले बताए।
उखु रोप्ने बेला मल अभाव हुन्छ। मेहनत गरेर खेती हुर्काइन्छ। समयमा वर्षा हुँदैन। ‘बल्लबल्ल सिँचाई गरेर उखु खेती हुर्काउँछौं। फेरि उखुको मूल्य तोकिँदैन,’महोत्तरीको भरतपुरका अगुवा उखु किसान रामभजन महतो भन्छन्,‘ढिलो गरि उखुको भाउ पाइन्छ, तबसम्म उखु खेतमै पाकेर सुक्न थालिसकेको हुन्छ। उखु कटानीको लागि मिलले आपूर्तीपूर्जी(चलान) नदिँदा पसिना चुहाएर उब्जाएको बाली त्यसै सुकेर जान्छ।’
आठ वर्षकको उखुको रेट र उत्पादित परिणाम
आर्थिक वर्ष उखुको प्रति क्वीन्टल रेट उत्पादित उखु (क्वीन्टलमा)
२०६९–०७० रु.४८१ २ करोंड ३६ लाख
२०७०–०७१ रु.४७६ २ करोंड २६ लाख
२०७१–०७२ रु.४६१ २ करोंड १६ लाख
२०७२–०७३ रु.४४८ १ करोंड ५६ लाख
२०७३–०७४ रु. ५३१.२० १करोंड ८२ लाख
२०७४–०७५ रु. ५३६.५६ २ करोंड ५ लाख
२०७५–०७६ रु. ५३६.५६ २ करोंड ३ लाख क्वीन्टल
२०७६–०७७ रु. ५३६.५६ १ करोंड ८० लाख(अनुमानित)
श्रोत : नेपाल उखु उत्पादक महासंघ लगायत अन्य तथ्यांक।
प्रतिक्रिया दिनुहोस !