एकाधिकारवादी शैलीमा कांग्रेस
काठमाडौं : एकातिर प्रतिपक्षी भूमिका निर्वाह गर्न चुकेको कांग्रेस अर्कातिर आन्तरिक कलहको चपेटामा छ। त्यही कारण हिउँदे अधिवेशन औचित्यहीन र अर्थहीन तुल्याउने सत्तारूढ रणनीतिविरुद्ध कांग्रेस खुल्न सकेको छैन।
निर्वाचित कार्यसमितिको कार्यकाल सकिनु दुई महिनाअघि विभाग गठन गर्ने क्रममा विधानविपरीत दोब्बर वृद्धि गर्नु र कार्यकालको म्याद थप्नुले कांग्रेसभित्र विवाद चर्किएको हो। असहज अवस्थाबाहेक केन्द्रीय कार्यसमितिको कार्यकाल थप्नु उपयुक्त हुँदैन। तर, कार्यकाल थप्दै महाधिवेशन पनि कार्यकालको अन्त्यसम्म धकेलेर कांग्रेस नेतृत्वले एकाधिकारवादी शैली अपनाएको आरोप विज्ञहरूको छ। गुटगत घेरामा परेर एकपछि अर्काे गलत निर्णय गर्न सक्रिय भएपछि कांग्रेस संकटको भुमरीमा परेको छ।
निर्वाचनमा होमिन नसक्ने र गुटगत फाइदा लिनेको सल्लाहमा पर्दा कांग्रेस सभापति शेरबहादुर देउवा ‘पुरानो देउवा’ का रूपमा देखिन सकेका छैनन्। विद्यार्थी राजनीतिबाट उदाएका मात्र होइनन्, कृष्णप्रसाद भट्टराईको राजनीतिक संस्कारमा हुर्केका देउवा एकाएक एकाधिकारवादी शैलीमा अघि बढ्दा मुलुककै पुरानो र ठूलो लोकतान्त्रिक दल समस्यामा परेको छ। यसको हिस्सेदारका रूपमा आफूलाई उभ्याउने प्रयासमा देउवा लागेको आरोप उनकै दलका कार्यकर्ताले लगाइरहेका छन्।
आफन्त र गुटको घेरा चिर्न नसक्दा देउवा आफ्नो छविसँगै पार्टी लथालिंग पार्न र मुलुकमै शक्ति सन्तुलनको अभ्यास गुमाइदिने प्रयत्नमा छन्। ०४६ को परिवर्तनपछि अधिकांश समय सत्तामै रहेको कांग्रेसले यसपल्ट न संसद्मा सशक्त प्रतिपक्षीको भूमिका निर्वाह गर्न सक्यो न त आन्तरिक कलह व्यवस्थापन। ‘लोकतन्त्र खतरामा पर्ने भनेको कांग्रेसजस्तो दलले सक्रिय भूमिका निर्वाह नगर्नु नै हो,’ राजनीतिक विश्लेषकहरू भन्छन्।
आन्तरिक किचलो समाधान गर्न नसकेर सीमित घेरामा रम्दा समस्या उत्पन्न भएको उनीहरूको धारणा छ। राजनीतिक विश्लेषक एवं अध्येता हरि शर्माले कांग्रेसको नेतृत्व (मूली) ले समग्र असहजताको जिम्मा लिँदै समाधानको बाटोमा हिँडाउन आवश्यक रहेको बताए। ‘मूल व्यक्तिले अध्ययन गर्दै ध्यान दिएर मिलाएर लैजाने हो,’ उनले भने, ‘मूल व्यक्तिले धेरैको कुरा सुन्ने तर कसैलाई अन्याय नहुने र दल माथि उठ्ने प्रकारको निर्णय गर्न आवश्यक छ।’
झन्डै दुई तिहाइको बलियो सरकार आफ्नै ढंगले अघि बढेको छ। प्रमुख प्रतिपक्ष मुकदर्शकझैं छ। प्रतिपक्षको नेतृत्वमै सरकारविरुद्ध बोल्ने नैतिक आधार नहुँदा समस्या भएको हो। सरकारले निर्णय गर्दै अघि बढ्दा प्रमुख प्रतिपक्ष केही बोल्न र विरोध गर्न नसक्नु भनेको लोभ वा पुराना गल्ती उजागर हुने डर मात्र हो। ‘नैतिक धरातलका कारण कांग्रेस नेतृत्व समस्यामा परेको छ,’ प्राध्यापक कृष्ण खनालले भने, ‘कांग्रेस नेतृत्व कार्यकाल सकिन लाग्दा उपयोगहीन विभागमा भागबण्डा गरेर कार्यकर्ता अलमल्याउन हिँडेको छ। अनि कसरी दल उँभो लाग्छ ? ’ कांग्रेसले सातै प्रदेश र केन्द्रमा रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्नै नसकेको उनी बताउँछन्। उनले भने, ‘निर्वाचनमा सबै स्थानमा हारेको कांग्रेस समयमा अधिवेशन नगरेर विनाकारण एक वर्ष म्याद थप गरेर घस्रिन खोज्नु दुःखद पक्ष हो।’
बेलायतको संसदीय अभ्यासमा त्यहाँको दलले पराजय भोगेपछि नेतृत्वले अर्को कार्यकाल दाबी गर्दैन। पछिल्लो निर्वाचनमा जेरेमी केर्बिनले लेवर पार्टीले नराम्रो हार व्यहोरेपछि आफू नेतृत्वमा अघि नबढ्ने घोषणा गरे। उनी आफैं १० पटक लगातार संसद्मा निर्वाचित व्यक्ति हुन्। उनले दलको अधिवेशनबाट बिदा हुने धारणा राखे। तर हामीकहाँ त्यो संस्कार आउन सकेन। दलले नराम्ररी हार व्यहोर्दासमेत आफ्नो कारण भन्न नसक्ने नेतृत्वले कसरी दललाई अघि बढाउँछ ?
कांग्रेसकै कतिपय नेता भने पार्टीभित्र गुटगत विचलन देखिए पनि राजनीतिमा मतभेद नभएको बताउन छाड्दैनन्। सत्ताधारी दलका पूर्वमन्त्रीले समेत नेपालमा प्रमुख प्रतिपक्ष दल छ र ? भनेर गिज्याइरहेका छन्। दसैंतिहारपछि आयोजित कांग्रेसको चियापानमा नेकपाभित्रै प्रतिपक्ष होलान्, तर सत्ताबाहिर नभएको भनेर धेरैले कांग्रेसको खिल्ली उडाएका थिए। ‘कांग्रेसमा डोमिनेन्ट गर्न सक्ने अर्थात् सबैले मान्ने ‘टावरिङ फिगर’ नहुँदा सामूहिक नेतृत्वमा जानुको विकल्प छैन,’ प्राध्यापक लोकराज बरालले भने, ‘कांग्रेस नेतृत्वविहीनझंै छ। यसमा नेतृत्वले सबैलाई समेटेर एकजुट बनाउन सकेको छैन। कांग्रेसलाई ठूलो अवसर थियो तर त्यो चुकाएको छ।’
कांग्रेस नेतृत्वले विगतमै अधिकांश कार्यमा हालीमुहाली गरेका कारण नैतिकताका आधारमा मैदान खाली राखिदिएको अनुभव सत्ताधारीको छ। ‘आफूले राम्रो गरेरभन्दा पनि सत्तामा रहेकाले नराम्रो गरेमा मात्र कांग्रेसलाई सहज हुन सक्ने अवस्था देखिन्छ’, बरालले भने, ‘कांग्रेसको भूमिका ठूलो छ तर गरिरहेको छैन।’
मुलुकको नयाँ संरचनामा दललाई लैजान नसक्नु र संविधानअनुसार पार्टीलाई ढाल्ने भन्दा पनि नेतृत्वमा कसरी टिकिरहने र पुराना ढाकछोपमै कांग्रेस लागेको बरालले बताए। कार्यकाल सकिन लाग्दा संगठन र विभाग नबाउनुले पनि कांग्रेसको हबिगत झल्किएको तीनैजना विश्लेषकको धारणा छ। विवाद र गुटबन्दी लोकतान्त्रिक अभ्यासमा नौलो होइन तर कांग्रेसमा गडेको यो पुरानो रोग ‘टावरिङ फिगर’ नहुँदा झन् मौलाएको हो।
नीतिगत विषयमा पार्टीमा मतभेद नभएको भन्दै आएको कांग्रेसको दलीय संगठनमा गम्भीर विचलन आएको छ। केन्द्रीय समितिको म्याद बढाउँदा समयमा महाधिवेशन गर्न बाधक बनेको ‘असाधारण स्थिति’ खुलाउनुपर्नेमा यसलाई सुविधाका रूपमा उपयोग गरेर समयावधि बढाएको देखिन्छ। यही आधारमा पनि समयमा नभए अन्य ६ महिना बढाएर संविधानको हक उपयोग गर्नसमेत कांग्रेस नेतृत्वले लाज नमान्ने अवस्था छ।
संविधानमा दलहरूले बढीमा साढे पाँच वर्षभित्र महाधिवेशन गरिसक्नुपर्ने व्यवस्था छ। त्यो समयमा म्याद थप गरेर स्थानीय निकायको निर्वाचन देखाउँदै असहज परिस्थिति भन्न सक्ने र केन्द्रीय सदस्यको नामावली निर्वाचन आयोगमा पठाएर पुनः अर्को कार्यकाल पनि नेविसंघ, तरुण दल र प्रेस युनियन शैलीमा कांग्रेस अघि नबढ्ला भन्न सकिन्न।
कार्यकाल थप्दै महाधिवेशन पनि कार्यकालको अन्त्यसम्म धकेलेर कांग्रेस नेतृत्वले जिम्बाबेका ‘रोबर्ट मुगाबे’ शैली अपनाएको आरोप विज्ञहरूको छ। आरम्भमा मुगाबे निकै चर्चित राजनीतिज्ञ थिए। आफ्ना गुटको घेरा र परिवारवादमा परेर एकपछि अर्काे गलत कदमले उनी आलोचित मात्र भएनन् २०१७ नोभेम्बरमा निधन हुनुअघि मुगाबे सत्ताबाहिर परिसकेका थिए। उनको शासकीय प्रवृत्ति राजनीतिमा पछिल्लो समय मुगाबे शैली अर्थात् ‘मुगाबेइजम’का रूपमा परिचित छ।
स्थानीय तहको अधिवेशन सकेमा मात्र महाधिवेशन हुने भन्ने अत्तो देखाउने तर काम अघि नबढाउने नेतृत्वको नियतका कारण कांग्रेस असहजमा परेको हो। प्रशिक्षणका समयमा स्थानीय तहको अधिवेशन गर्न कसले कांग्रेसलाई रोकेको थियो र ? अझै केही भएको छैन, विभागमा मिलाएर अधिवेशन अगाडि तानेर समस्या समाधानमा कांग्रेस एकजुट हुन आवश्यक छ। नेतृत्वमा टिकिरहने भन्दा पनि परीक्षणमा उत्रिन उपयुक्त हुन्छ। यसमा कांग्रेसको हित भन्दै आफ्नो हित हेर्नेहरूलाई खल्तीबाट होइन परीक्षणबाट ल्याउन आवश्यक देखिन्छ।
पूर्वअर्थमन्त्री एवं कांग्रेस नेता ज्ञानेन्द्र कार्कीले दलभित्र नेतृत्वले सबैलाई समेटेर सहकार्य गरिरहेको दाबी गर्दै सहमतिमा कांग्रेस अघि बढ्ने बताए। ‘पछिल्लो समयमा सहमतिका नाममा प्रक्रिया लम्ब्याउने काम गरिरहेको र असन्तुष्ट पक्षको कुरा पनि आइसकेकाले यसमा अन्य समस्या छैन,’ देउवा निकट मानिने नेता प्रकाशशरण महतले भने, ‘नेतृत्व विफल पार्ने भएपछि विधानतः नेतृत्वले आफ्नो काम अघि बढाएको हो। यसलाई लोकतान्त्रिक अभ्यासका रूपमा लिनुपर्छ।’ देउवाइतर पक्षले चुनावी एजेन्डा बनाउने देखिएपछि यो अवस्था आएको दाबी संस्थापन नेताहरूको छ।
दाबी जे भए पनि कांग्रेसमा भाँडभैलो देखिन्छ। अब कांग्रेसमा नेतृत्वदेखि तलसम्मै सुधार आवश्यक छ। प्रवक्ता विश्वप्रकाश शर्माले पनि असन्तुष्ट पक्षको धारणासमेत समेटेर महाधिवेशन कार्यतालिका पारित गरिसकेको अवस्थामा विवाद लम्ब्याउन नहुने बताइरहेका छन्। नेता गगन थापाले चाटुकार र चटकेबाट सभापतिले दललाई बचाउनुपर्ने बताएका छन्। उनले भने, ‘दलभित्र देखिएको शैली लोकतान्त्रिक पद्धतिका रूपमा लिन सकिन्न। सभापतिले अभिभावकको भूमिका निर्वाह गर्नुपर्छ।’ सभापति सबैको हुनुपर्ने अर्का नेता डा. शेखर कोइरालाको छ। उनले भने, ‘सभापति गुटको होइन सबैको हुन सक्नुपर्छ। शक्ति केन्द्रित गरेर नेतृत्व लिन सकिएला तर नेता भइरहन सकिदैन।’