म चुपी बोकेर पत्रकारिता सिध्याउँदै हिँडेको होइन : मन्त्री बास्कोटा
धनगढी : सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले पत्रकारले उल्टोसुल्टो दुबै तरिकाले तरबार चलाउने भएकाले उनीहरुलाई नै खतरा हुने गरेको बताएका छन्। नेपाल पत्रकार महासंघ कैलाली शाखाको नवनिर्मित भवनको उद्घाटन गर्दै उनले भने, 'पत्रकारसँग कलम हुन्छ । तर, कहिले काही उल्टोसुल्टो तरबार चलाइदिनुहुन्छ। यसले गर्दा पत्रकारमाथि खतरा छ।'
उनले सूचना प्रविधि विधेयकमाथि धेरै प्रश्न उठेको भएपनि मिडियालाई फाइदा पुग्ने कुरा विधेयकमा उल्लेख भएको दावी गरे। मन्त्री बास्कोटाले आफ्नो स्रोतमा निर्भर हुन मिडिलाई आग्रह गरे। 'आफ्नो व्यवसायप्रति जिम्मेवार हुनुपर्यो । अब मन्त्री नेताका हात मोलेर, कुरा गरेर, दबाव दिने युगको अन्त्य भएको छ।'
यस्तै मन्त्री बास्कोटाले मिडियासँग सम्बन्धित कामका लागि सबै प्रदेशमा कार्यालय स्थापना गर्ने तयारी रहेको बताए । 'प्रेस काउन्सिल, सूचना तथा सञ्चार केन्द्रलगायतले दिने सेवा सुविधाहरु सम्बन्धित क्षेत्रबाटै प्रदान गर्ने गरी काम अगाडि बढेको छ,' उनले भने ।
सामान्य कामका लागि केन्द्र जानुपर्ने पत्रकारको बाध्यताको अन्त्य हुने उनले बताए । उनले पत्रकारितालाई सिध्याउन नभएर व्यवस्थित तरिकाले अगाडि बढाउने प्रयासमा लागेको जानकारी गराए। 'म चुपी (हतियार) बोकेर पत्रकारिता सिध्याउँदै हिँडेको छैन, बरु नेताहरु कार्यकर्ता सिध्याउँदै हिड्छन्, 'मन्त्री बास्कोटाले भने, ' स्पष्ट हुनुहोस्। हाम्रो प्रेसलाई मर्यादित, आलोचनात्मक चेत भएको क्षमतासहितको सबल प्रेस बनाउनका निम्ति लागेको हुँ।'