महोत्तरीबाट ७ जुवाडे पक्राउ
बर्दिबास : महोत्तरीको बर्दिवासबाट ७ जना जुवाडे जुवाको खालबाट पक्राउ परेका छन् । गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बर्दिवासका प्रहरी निरीक्षक सोनुकुमार साहको कमाण्डमा खटिएको टोलीले उनीलाई पक्राउ गरेको हो । जुवाको खालबाट तीन सेट तास र २ लाख १० हजार ५ सय ७५ रुपैंया बरामद गरिएको छ ।
पक्राउ पर्नेहरुमा भारत बिजनौर थाना नुरपुर ग्राम पंचायत २ का रिंकु सिंह भनिने अमृत सिंह भाटिया, बर्दिवास नगरपालिका– १४ बस्ने राजदेव महतो, दिलबहादुर बि.क., पुर्णबहादुर घिसिङ्ग रहेका छन् ।
त्यसैगरी गौशाला नगरपालिका– १ का मानबहादुर तमाङ, सर्लाही हरिवन नगरपालिका– १ का श्यामबहादुर श्रेष्ठ र दोलखा जिल्ला मोलुङ गाउँपालिका ७ का सविनकुमार जोगी पनि जुवा खेल्दै गर्दा खालबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
भारतीय नागरिक रिंकुले बर्दिवास नगरपालिका– १ मा कोठा भाडा लिइ जुवा खेलाउँदै आएको श्रोतले जनाएको छ । उनी यसअघि पनि जुवा खेलाउँदै गर्दा पक्राउ परेर कारवाहीमा परिसकेका छन् ।
तीन तल्लामाथि बसेर तास खेलिरहेका जुवाडेलाई प्रहरीले घेरा हालेर नियन्त्रणमा लिएको थियो । पक्राउ परेकामाथि जिल्ला अदालत महोत्तरीबाट ६ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस !