सांसदको ज्यान मार्ने धम्की : अधिकृतको दाँत भाँच्दिएँ, सिडिओको केही लागेन !
जनकपुरधाम : प्रदेश २ का प्रदेशसभा सदस्य सञ्जयकुमार यादवले सर्लाहीको कविलासी नगरपालिकाका कर्मचारीलाई ज्यान मार्ने धम्की दिएका छन् ।
कर्मचारीलाई फोन गर्दै हातखुट्टा भाँचिदिने र ज्यान मार्ने धम्की दिएको अडिओ समेत सार्वजनिक भएको छ । पुस ८ गते नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामकुमार महतोलाई टेलिफोन गरेर कमिसन नदिएको भन्दै ज्यान मारिदिने धम्की दिएका थिए । उनी विरुद्ध जिल्ला प्रशासन कार्यालय सर्लाहीमा पुस ९ गते उजुरी परेको छ ।
नगरपालिकाको योजना बाँडफाँट, बजेट विनियोजन, नगरसभा, हरहिसाबको विषयलाई लिएर प्रदेशसभा सदस्य यादवले अधिकृत महतोलाई ज्यान मारिदिने धम्की दिँदैआएका हुन् । उनले पटक पटक फोन गर्दै यस्तो धम्की दिएका हुन् । आफूले भनेको नमाने जीवनमा नसोचेको दुर्घटना हुने भन्दै चेतावनी दिएका थिए ।
गुण्डागर्दी शैलीमा प्रदेश सांसद
सर्लाही-३ (ख) बाट प्रदेशसभामा निर्वाचित प्रदेश सभा सदस्ययादवको घर कविलासी गाउँमा हो । सोही नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा जिम्मेवारी सम्हाल्न २०७५ माघ २३ गतेदेखि महतो आइपुगेका थिए ।
सांसद यादवले महतोलाई कयौं पटक ज्यान मार्ने धम्की दिएको टेलिफोन रेकर्ड सार्वजनिक भएको हो । उनले आफू अनुकुल काम नगर्ने कर्मचारीलाई कुटपिट गर्ने, टेलिफोनबाट गाली बेइज्जती, दुव्र्यवहार गर्दैआएका छन् । २०७५ सालमा तत्कालिन प्रमुख प्रशासकीय अधिकृत नवीन कुमार श्रीवास्तवलाई पनि उनले कुटपिट गरेको भन्दै उजुरी परेको थियो ।
अढाई वर्षमा प्रदेशसभा सदस्यको 'दादागिरी'कै कारण आठजना कार्यालय प्रमुख आए, गए । नगरपालिकामा काम गर्ने वातवरण नभएको भन्दै उनीहरु यहाँबाट गएका हुन् । कविलासी नगरपालिकाको मेयरमा राजपा नेपालका कौशलकिशोर यादवले जितेका थिए । तत्कालिन संघीय समाजवादी फोरम नेपालकी राधादेवी यादव उपमेयर हुन् । उपमेयर राधादेवी प्रदेशसभा सदस्य यादवको भाउजु पर्छिन् । फरक पार्टीको मेयर र उपमेयर भएकोले सुरुदेखि नै नगरपालिकामा वादविवाद हुँदैआएको छ ।
प्रदेशसभा सदस्य विरुद्ध १७ बुँदे उजुरी
उनले प्रमुख प्रशासकीय अधिकृत रामकुमार महतोलाई गत पुस ८ गते ज्यान मार्ने धम्की दिएपछि पीडितले टेलिफोन अडिओ जिल्ला प्रशासन कार्यालय सर्लाहीमा पेश गरी उजुरी दिएका छन् ।
प्रदेशसभा सदस्यले अधिकृतलाई विभिन्न समयमा लगातार ज्यान मार्ने, गालीबेइज्जती, हातखुट्टा भाँचिदिने जस्ता धम्की दिएको चार पृष्ठ लामो घटना विवरण उजुरीमा उल्लेख छ । १७ बुँदामा प्रदेशसभा सदस्यले गुण्डागर्दी प्रवृत्ति प्रदर्शन गरेको उल्लेख छ ।
पेश गरिएको एक अडिओमा गत २०७६ असर ८ गते टेलिफोन मार्फत नगरसभा स्थगित नगरे अधिकृत महतोलाई ज्यान मार्ने धम्की दिएको सुनिन्छ । 'म सांसद हुँ, मेरो क्षेत्र हो यो । यदी परिषद् भयो भने तैँले जीवनको ठूलो मूल्य चकाउनु पर्छ, तेरो शरीर रहँदैन, मेयरको बाउको पनि बचाउने तागत छैन । जागिर खाने स्थितिमा तँ रहँदैनस्,' अधिकृत महतोसँग यादवले अडिओमा भनेका छन् ।
सोही अडिओमार्फत नगरसभा रोक्न पनि उनले दवाव दिएका छन् । उनले भनेका छन्, 'मेयरलाई साथ दिने श्रीवास्तवको हड्डी भाँचिसक्यो । सांसदको तागत के छ तँलाई थाहा छैन, आएर देखाँउ त्यो तागत ?'
अधिकृत महतोले जवाफमा भनेका छन्, ‘कार्यपालिकाको बहुमतले निर्णय पास हुन्छ, मेरो त्यसमा के दोष छ ? म त कार्यान्वय गर्ने मान्छे हुँ ।' यादवले भने बहुमतको दम्भ नदेखाउन भन्दै आफूले अघिल्ला अधिकृत नवीन श्रीवास्तवको हड्डी भाँचिदिएको र उनलाई पनि त्यस्तै बनाइदिने धम्की दिएका छन् ।
'नवीन श्रीवास्तवको दाँत भाँचिदिएँ । सिडिओ, एसपी कसैको केही लागेन । तँ नगरपालिकाको समान्य कर्मचारी !' अधिकृत महतो नम्र तरिकाले आफ्नो गल्ती नभएको भने पनि सांसद यादवले 'बातले नमान्ने भूतलाई लात दिनुपर्छ' भन्दै जंघिएका थिए ।
अरु कर्मचारी पनि त्रस्ति
२०७५ साल जेठमा तत्कालिन कार्यालय प्रमुख नवीन श्रीवास्तवलाई उपमेयरको कार्यकक्षमा चुकुल लगाएर प्रदेशसभा सदस्य यादवले आफूले भनेको योजनामा सहि गर्न लगाएका थिए । उनी बाहिरिएर त्यसमा आपत्ति जनाए । यससँगै काम गर्ने वातावरण नभएको भन्दै सर्लाहीका २० वटै स्थानीय तहका कर्मचारी आन्दोलित भए ।
श्रीवास्तवलाई सर्लाहीको सदरमुकाममै उनले कुटपिट गरेका थिए । प्रदेशसभा सदस्यको कुटाइबाट घाइते भएका उनी जिल्ला अस्पताल मलंगवामा भर्ना समेत हुनुपरेको थियो । दोषीलाई कडा कारवाहीको माग गर्दै पीडित श्रीवास्तवले तत्कालिन सिडिओ द्रोण पोखरेलकहाँ उजुरी दिए ।
पीडित र पीडकबीच छलफल गराएर सिडिओले प्रदेशसभा सदस्य यादवलाई लिखित रुपमै माफी माग्न लगाएका थिए । अपमानपछि प्रमुख प्रशासकीय अधिकृत श्रीवास्त केही समयपछि सरुवा गराएर कार्यलय छोडेर हिँडे ।
गत असार ९ गते सांसदले फोन गरेर अधिकृत महतोलाई 'तँ सञ्जय यादवको कुरा नोट गरिहाल्, नगरसभा गर मात्रै हात खुट्टा तोडेर पठाउँछु ।' आफूले भनेको काम नगर्दा नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा खटिने कर्मचारीलाई प्रदेश सांसद यादवले ज्यान मार्ने धम्की साथै कार्यालय पुगेर गाली बेइज्जती पनि गर्छन् ।
असुरक्षाका कारण कर्मचारीहरु नगरपालिकामा टिक्न नसकेको कविलासी नगरपालिकाका मेयर कौशल किशोर यादवले जनाए । शाखा अधिकृत मधु कुमारी महतो, उप-सचिव तिर्थुराज तिवारी, गीता तिवारी प्रदेश सांसदको आतंकले सरुवा भएर पनि कविलासी नगरपालिकामा हाजिर भएनन् ।
कार्यालय प्रमुख भएर आएका रामप्रसाद सापकोटा काम गर्ने माहोल नदेखेपछि दुई दिनमै सरुवा भएर गए । त्यसपछि २०७५ माघ २३ गते नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा रामकुमार महतो आएका थिए । उनी आउँदा नगरपरिषद् पनि भएको थिएन । राजनीतिक सहमति जुटाएर नगरसभा पास गरेर काम सुरु गराएका थिए । आफू अनुकूल नचलेको भन्दै उनलाई पनि सांसद यादवले ज्यान मार्ने धम्की दिँदैआएका हुन् ।
अढाई वर्षमा आठ प्रमुख
मेयर यादवका अनुसार प्रदेश सांसदले कर्मचारीसँग कमिसन माग्छन् । उनीहरुकै डरले कर्मचारी बस्न मान्दैनन् । सबैसँग गलत व्यवहार गर्ने र नमाने हातखुट्टा भाँचिदिने, ज्यान मारिदिने धम्कीले कोही कार्यालय प्रमुख नगरपालिकाको नामै सुनेर नआउने मेयरले बताए ।
मेयरले उनलाई कडा कारवाही गर्न प्रशासनसँग माग गर्दै जिल्ला प्रशासन कार्यालयमा पत्रचार गरेका छन् । जिल्ला प्रशासन कार्यालय सर्लाहीका सिडिओ मोहन बहादुर जिसीले प्रदेशसभा सदस्यमाथि परेको उजुरीमाथि छानविन भइरहेको जनाए ।
प्रतिक्रिया दिनुहोस !