आज जिल्ला सभापति भेला : निर्णय सच्याउन देउवालाई दबाब

आज जिल्ला सभापति भेला : निर्णय सच्याउन देउवालाई दबाब

काठमाडौं : कांग्रेस सभापति शेरबहादुर देउवालाई दबाब दिन वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले सोमबार जिल्ला सभापति भेला बोलाएको छ। सहमति प्रयास भइरहेका बेला देउवाले एकपक्षीय रूपमा निर्णय गरेको भन्दै असन्तुष्ट पक्षले त्यसलाई सच्याउनका लागि दबाबस्वरूप भेला तय गरेको हो।

‘जिल्ला सभापतिहरूसँग पछिल्लो विकसित घटनाक्रमबारे छलफल गर्छाैं। उहाँहरूसँग परामर्श गर्न भेला बोलाएका हौं’, केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले अन्नपूर्णसँग भने, ‘पुस ११ गतेको निर्णयले पार्टीलाई थप कमजोर बनाउने काम गरेको छ। बलियो कम्युनिस्ट पार्टी र सरकारको सामना गर्न सक्ने सशक्त कांग्रेस बनाउनुपर्ने अहिलेको आवश्यकता हो। यसकै लागि सभापतिसँग छलफल र परामर्श गर्नेछौं।’ भेला पार्टी मुख्यालय सानेपामा बिहान ११ बजे बोलाइएको छ।

केन्द्रीय कार्यसमितिको पुस ११ को बैठकले महाधिवेशन कार्यतालिका सार्वजनिक, विभाग संख्या दोब्बर बनाउनेलगायत निर्णय बहुमतबाट गरेपछि पौडेल पक्ष चिढिएको छ। पौडेल र नेता कृष्णप्रसाद सिटौला समूहले देउवालाई निर्णय सच्याउन दबाब दिँदै आएका छन्। देउवाले अर्काे वर्ष फागुन ७ देखि १० गतेसम्म १४ औं महाधिवशेन गर्ने, विभाग संख्या २८ बाट ४७ बनाउने तथा नेपाल तरुण दलको समयावधि ६ महिना थप गर्ने निर्णय बहुमतका आधारमा लिएका थिए। क्रियाशील सदस्यता वितरणसम्बन्धी विधानको व्यवस्था निलम्बन गरी १४ औं महाधिवेशन प्रभावित गर्न खोजेको आरोप असन्तुष्ट समूहले लगाएको छ। उनीहरूले क्रियाशील सदस्यतासम्बन्धी नयाँ व्यवस्थाप्रति आपत्ति जनाएका छन्।

सिटौलाले गत मंगलबार देउवालाई पार्टीभित्र एकताका लागि ज्ञापनपत्र बुझाएका थिए। पार्टी एकढिक्का बनाउन सभापतिको भूमिका महŒवपूर्ण हुने भन्दै उनले पहलकदमीका लागि आग्रह गरेका थिए। पौडेल पक्षले देउवाविरुद्ध देशव्यापी रूपमा अभियान सञ्चालन गर्ने निर्णय गरिसकेको छ। सुरुमा नेता–कार्यकर्तासँग संवाद गर्ने निर्णय गरेको असन्तुष्ट समूहले पहिलो चरणमा जिल्ला सभापति भेलाको आयोजना गरेको हो।

भेलाको पूर्वसन्ध्यमा युवा नेता एनपी साउद, सुरेन्द्र पाण्डे, गगन थापा, चन्द्र भण्डारी, धनराज गुरुङ, सरिता प्रसाईं र भीष्मराज आङदम्बेलगायतले देउवा र पौडेललाई छुट्टाछुट्टै भेट गरे। सभापति देउवाले उनीहरूसँग भने, ‘म सहमतिकै पक्षमा छु। बैठक स्थगन गरी सहमतिको प्रयत्न गर्दा उहाँहरू आउनुभएन। उहाँहरूको मुख्य माग महाधिवेशन कार्यतालिका सार्वजनिक गर्नुपर्ने थियो, त्यो निर्णय भएको छ।’ निर्णयमा केही असहमति छन् भने छलफल गर्न तयार रहेको उनले बताएका थिए। ‘बहुमतबाटै पार्टी चलाउने पक्षमा म छैन’, उनले भनेका थिए।

त्यसलगत्तै युवा नेताले बोहोराटारस्थित निवासमा पौडेलसँग भेट गरेका थिए। पौडेलले भनेका थिए, ‘सोमबारको जिल्ला सभापति भेला विवाद ल्याउनका लागि होइन। पार्टीभित्र विकसित राजनीतिक अवस्थाबारे परामर्श गर्न डाकिएको हो।’

पौडेललाई उद्धृत गर्दै युवा नेता पाण्डेले भने, ‘म एकताकै पक्षमा छु। सभापतिजीले बहुमतबाट निर्णय गर्नुभयो। निर्णयबारे म छलफल गर्न तयार छु। जिल्ला सभापति भेला गुट जोगाउन होइन, विशुद्ध परामर्शका लागि हो।’

देउवा सहमतिको राजनीति अन्त्य गरेर बहुमतबाट अगाडि बढ्न खोजेको आरोप नेता हृदयराम थानीले लगाए। ‘प्याकेजमै सहमतिको प्रयास भइरहेका बेला बहुमतबाट गरिएको निर्णय हामी मान्दैनौं’, उनले भने, ‘त्यसलाई सच्याउनुपर्छ।’

विवाद बढेसँगै असन्तुष्ट पक्ष देउवाविरुद्ध एकजुट भएको छ। विगतमा सभापतिलाई सहयोग गर्नुपर्ने अभिव्यक्ति दिने महामन्त्री डा.शशांक कोइराला पनि देउवाकै कारण पार्टी कमजोर भएको बताउन थालेका छन्। उनले देउवाको विकल्प खोज्न सबै नेता एक ठाउँमा उभिनुपर्नेमा जोड दिएका छन्।

संस्थापनइतरका नेतालाई एकजुट बनाउन असन्तुष्ट समूहको बैठक बस्ने गरेको छ। केन्द्रीय नेताकै उपस्थितिमा भ्रातृसंस्थाको पनि छट्टाछुट्टै बैठक बस्ने गरेको छ। शनिबार मात्र नेता नवीन्द्रराज जोशी निवासमा संस्थापनइतर समूहका विद्यार्थी नेताको भेला भएको थियो।

नेता जोशीले १४ औं महाधिवेशनसम्म सबै जना एक ठाउँमा उभिनुपर्नेमा जोड दिएका थिए। असन्तुष्टलाई सहमतिमा ल्याउन देउवा पनि सक्रिय छन्। उनले उपसभापति विमलेन्द्र निधिलाई सहमतिका लागि जिम्मेवारी दिएका छन्। जिल्ला सभापति भेला रोक्न देउवाले पौडेललाई आग्रह गरेका थिए।

उनले पार्टीलाई सहमतिमै अगाडि बढाउन आफू तयार रहेको भन्दै समानान्तर गतिविधिले पार्टी थप कमजोर हुनेतर्फ पौडेललाई सचेत गराएका हुन्। ‘सभापति सहमतिमै पार्टीलाई अगाडि बढाउनुपर्छ र तोकिएकै समयमा महाधिवेशन गर्नुपर्छ भन्नेमा दृढ हुनुहुन्छ’, संस्थापन पक्षका एक केन्द्रीय सदस्यले भने, ‘यसका लागि सबैले सभापतिलाई सहयोग गर्नुपर्छ। पार्टीमा आफूले भनेजस्तै हुनुपर्छ भन्ने ढिपी उहाँहरू (असन्तुष्ट समूह)ले त्याग्नुपर्छ।’

भेलाले द्वन्द्व बढाउने होइन, द्वन्द्व न्यून गर्दै सहमति निर्माण गर्न योगदान गर्नुपर्ने प्रवक्ता विश्वप्रकाश शर्माले बताए। उनले जिल्ला सभापति भेलाले आन्तरिक विवाद कम गरी महाधिवेशनतर्फ केन्द्रित हुने वातावरण बनाउने विश्वास व्यक्त गरे।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.