विद्यालयमै नेताको 'जाँड पार्टी’ (भिडियो)

विद्यालयमै नेताको 'जाँड पार्टी’ (भिडियो)

गौशाला : शिक्षक नेताहरुले विद्यालयमा मासु र रक्सी पार्टी गरेको भिडियो सार्वजनिक भएको छ। महोत्तरीको गौशाला नगरपालिका-३ स्थित राष्ट्रिय आधारभूत विद्यालय नवराजपुरको हाताभित्र खुलमखुला मासु रक्सीको भोज गरिएको भेटिएको हो।

अंग्रेजी नयाँ वर्ष २०२० को पहिलो दिन गौशालाका शिक्षक नेताले विद्यालयमा मदिरा पार्टी गरेका थिए। विद्यालयलाई अनुचित कार्यको लागि प्रयोग गरेको पाइएपछि गौशाला नगरपालिकाका मेयर शिवनाथ महतोको टोलीले स्थलगत अनुगमन गरेर कारवाही प्रक्रिया सुरु गरेको छ। भोज गरिएको घटना एक हप्ता अघिको हो। विद्यालयमा रक्सी मासुको भोज गरेको भिडियो सार्वजनिक भएपछि चासो बढेको हो।  शिक्षकहरु मदिरामा लठ्ठिएर अश्लिल गीतमा नाचेको र तास खेलेको भिडियोमा देखिन्छ।

विद्यालय जस्तो पवित्रस्थलमा मदिरा पार्टी गरिएको भन्दै नगरपालिकाले भोजमा संलग्नलाई कानुन अनुसार कारवाही गरिने जनाएको छ। मंगलबार नगरपालिकाका मेयर, नगरपालिकाका कर्मचारी, वडाअध्यक्ष, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु सम्मिलित बैठकले स्कुलमा रक्सी र मासुको भोज खाएर कानुन विपरित काम गर्ने शिक्षकलाई कारवाहीको लागि नगर शिक्षा समितिमा पेश गर्ने निर्णय गरेको छ।

पत्रकारको टोली पुग्दा विद्यालयको हाताभित्र मदिराका बोतल, भोज खाएको जुठो प्लेट देखिन्थ्यो। विद्यालय परिसरमै फालिएको मदिराको खाली बोतलको छेउमा स-साना विद्यार्थी खुला चौरमा अध्ययन गर्नमा व्यस्त थिए।  कानुन अनुसार सार्वजनिक संघसंस्थाभन्दा दुई सय मिटर भित्र, जाँड रक्सी सेवा तथा बिक्री वितरण गर्न प्रतिबन्ध छ। 

विद्यालयमा सञ्चालन भएको दिवा खाजाको भान्छाकोे भाडाबर्तन, साउण्ड बक्स प्रयोग भएको बताइएको छ। शिक्षकले आयोजना गरिएको सो भोजको भिडियोमा मदिराले शिक्षकहरु लठ्ठिएर भोजपुरी गीतमा नाचगान गरिरहेका देखिन्छ। सो भोजमा विद्यालयका प्रधानाध्यापक वंशीधरप्रसाद साह पनि सहभागी छन् । 

आफूहरु नियमित रुपमा अनुगमन गर्दै आए पनि यहाँका शिक्षककै विद्यालयमा शैक्षिक सुधार नहुनु दुःखद रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विल्टु महतोले बताए। विद्यालयभन्दा वडा कार्यालय पाँच सय मिटरको दुरीमा छ। 

विद्यालयमा कानुन विपरितका कार्य हुँदा पनि वडाअध्यक्ष वीरेन्द्रकुमार चौधरीले एक सतासम्म सुइको समेत पाएनन्। विद्यालय सुधारका लागि आफूले सकारात्मक कदम उठाउँदै आएकोले आगामी दिनमा गलत कारवाहीसँगै सुधारका लागि कडाई गर्ने वडाअध्यक्ष चौधरीले बताए। मेयर शिवनाथ महतोले शिक्षा दिने विद्यालयलाई मदिरा भट्टी बनाएकोमा दुःख व्यक्त गरे।

मन्दिर जस्तो पवित्र स्थललाई बदनाम मात्रै होइन शिक्षालयको अस्तित्व समाप्त पार्ने खेलमा लागेकोले अब नगरपालिकाले कानुनी कारवाहीको लागि कदम उठाएको बताए। पुसभित्रै नगर शिक्षा समितिको बैठकले कानुन विपरित विद्यालय मदिराभोजमा सहभागी हुने शिक्षकको विषयमा छलफल गरेर कारवाही गर्ने बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.