भवन निर्माण बहानामा ब्रह्मलुट !

भवन निर्माण बहानामा ब्रह्मलुट !

फिदिम : पक्की भवन निर्माण गर्ने बहानामा पाँचथरको एक विद्यालयका तत्कालीन प्रधानाध्यापक र व्यवस्थापन समितिका तत्कालीन कार्यवाहक अध्यक्षले लाखौँ रुपैयाँ हिनामिना गरेको आरोप लागेको छ। फालेलुङ गाउँपालिका–८ स्थित सिंहसिद्ध माध्यमिक विद्यालयको चारकोठे पक्की भवन निर्माणको बहानामा वडाध्यक्षसमेत रहेका तत्कालीन कावा अध्यक्ष पदमकुमार फागो र प्रअ डिल्लीहाङ जबेगुले बजेट हिनामिना गरेको आरोप लागेको हो।

शिक्षाको बहुवर्षे (दुईवर्षे) योजनाअन्तर्गत भवन निर्माणका लागि ३२ लाख रुपैयाँ विनियोजन भएको थियो। ०७२/७३ मा विनियोजन भएको उक्त बजेटले दुई वर्षभित्रमा काम सम्पन्न गर्नुपर्ने भए पनि निर्माण लथालिंग अवस्थामा छ। शिक्षाबाट सम्पूर्ण बजेट निकासा भइसकेको छ। शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख युगमणि सबेहाङले भने, ‘०७४ सालसम्म सम्पूर्ण बजेट निकासा भएको हो।’

१६ लाखको दरले दुई पटक गरी बजेट निकासा भएको हो। भवनको तला थप्ने शीर्षकमा फालेलुङ गाउँपालिकाले गत वर्ष १५ लाख रुपैयाँ दिएको थियो। उक्त बजेट पनि खर्च भइसेको देखाइएको छ। यो वर्ष पनि सोही भवन निर्माण गर्ने भन्दै फालेलुङ ८ ले चार लाख रुपैयाँ छुट्याएको छ।

विद्यालयका तत्कालीन कावा अध्यक्ष फागो नै अहिले वडाध्यक्ष छन्। काठ र सिमेन्ट खरिद गरेको रकमसमेत अहिलेसम्म बुझाइएको छैन। ‘बजेट निकासा भएको छैन भनेर सामानको पैसा दिएका छैनन्,’ शिवगौरी सप्लायर्सका प्रोप्राइटर सोम थापाले भने, ‘बजेट निकासा भएपछि दिन्छु भनेका छन्।’ वडाध्यक्षसमेत रहेका फागोले नै सामान खरिदको जिम्मा लिएका थिए।

समितिमार्फत भवन निर्माण गर्नुपर्ने प्रावधान भए पनि व्यवस्थापन समितिले चार जना ठेकेदारलाई भवन निर्माण जिम्मा दिएको थियो। सुकप्रसाद जबेगु, लक्ष्मी माङ्लाक, अमरजङ जबेगु, दिव्य खजुम र असुनी जबेगुलाई निर्माण जिम्मा दिएको थियो।

आठ लाखमा निर्माण गर्ने सम्झौता भए पनि ६ लाख रुपैयाँ मात्र आफूहरूले पाएको ठेकेदारको गुनासो छ। सम्झौताअनुसार बजेट नपाएको र निर्माण सामग्री समयमा नआएपछि काम छाडिएको ठेकेदार लक्ष्मी माङ्लाकले बताए। समयमा सामान नआएपछि काम गर्न नसकिएको ठेकेदारहरूको भनाइ छ।

विद्यालय व्यवस्थापन समिति र ठेकेदारबीचको द्वन्द्वले भवन निर्माण सम्पन्न नभएको प्रधानाध्यापक मोहन जबेगुले बताए। ‘बजेट हिनामिना भएको प्रस्ट देखिन्छ,’ जबेगुले भने ‘मैले भर्खरै प्रअको जिम्मेवारी लिएको छु। धेरै कुरा थाहा छैन। भवनको विषयलाई लिएर बैठक बोलाएको छु।’

ठेकेदारको लापरबाहीका कारण भवन नबनेको फागोको तर्क छ। ‘ठेकेदारले बद्मास गरेपछि भवन निर्माणका लागि ल्याएको सामान अरूलाई नै पैँचो दिएका छौँ,’ वडाध्यक्षसमेत रहेका फागोले भने, ‘खरिद गरेर ल्याएका अधिकांश सिमेन्ट बिग्रिएकाले फाल्नुप¥यो।’ खरिद गरेर ल्याएको दुई गाडी सिमेन्टमध्ये ४० बोरा पैँचो दिएको फागोले बताए। काठ र बाँसचाहिँ स्वास्थ्य चौकी निर्माणका लागि दिएको उनले बताए।

तत्कालीन प्रअ डिल्लीहाङ जबेगुले भने विद्यालयको सम्पूर्ण हिसाबकिता बरबुजारत गरिसकेको बताएका छन्। ‘नयाँ विद्यालय व्यवस्थापन समिति गठन गर्नुपर्ने भएपछि विवाद सुरु भई भवनले पूर्णता नपाएको हो,’ जबेगुले भने, ‘हामीले बजेट हिनामिना गरेका छैनौँ।’ हालसम्म तीन पटक विद्यालय व्यवस्थापन समितिको नेतृत्व परिवर्तन भइसकेको छ। ‘भवन निर्माणमा लापरबाही भएको देखियो,’ विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्र माङ्मुले भने, ‘विद्यमान समस्यालाई समाधान गर्न प्रयत्न गर्नेछु।’
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.