टेकु पुलको ठेक्का तोडियो
काठमाडौं : टेकुस्थित विष्णुमति पुलको ठेक्का तोडिएको छ। मापदण्डअनुरूप पुल निर्माण नभएको भन्दै सडक डिभिजन काठमाडौंले ठेक्का तोडेको हो।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत तत्कालीन दिगो सहरी विकास आयोजनाले चिनियाँ जेटआईईसी–पप्पु जेभीलाई पुल निर्माणको जिम्मा दिएको थियो। तीन वर्षमा सक्ने गरी २० करोड १३ लाख रुपैयाँमा पुलको ठेक्का लगाएको थियो। ठेकेदारले २०७५ भदौमा निर्माण सम्पन्न भइसकेको जनाउँदै २ करोड रुपैयाँ भुक्तानी माग गरेको थियो। ठेकेदारले १३ करोड ९२ लाख रुपैयाँमा मात्र भुक्तानी पाएको छ।
तर, डिभिजन मापदण्डविपरीत पुल निर्माण भएको भन्दै भुक्तानी रकम रोकेको थियो। पुल असुरक्षित भन्दै पुलमा सवारी साधन पनि गुड्न दिइएको थिएन। केही समयदेखि डिभिजनले पुलमा सवारी साधन गुड्न रोक लगाएको छ। पुलको बिचमा फलामका तारमा ढुंगा राखेर बन्द गरिएको छ।
डिभिजन कार्यालय काठमाडौंका प्रवक्ता सुदर्शन कार्कीका अनुसार निर्माणकार्यमा गरिएको त्रुटि सच्चाएर पुल बनाउन बारम्बार लिखित तथा मौखित पत्रचार गर्दा पनि ठेकेदारले अटेर गरेकाले ठेक्का तोडिएको हो। ‘खरिद सम्झौताअनुसार पुल निर्माण भएको छ। गुणस्तरीय सामग्री प्रयोग नगरी पुल निर्माण गरिएको छ’, कार्कीले भने, ‘ठेक्का सम्झौताअनुसार पुलको भारवहन क्षमता छैन।’ पुलका कारण हुन सक्ने जनधनको क्षति कम गर्न गलत सामग्री प्रयोग गरी निर्माण भएको भाग भत्काएर बनाउन डिभिजनले ठेकेदारलाई पटकपटक अनुरोध गरेको थियो। मापदण्डअनुसार निर्माण नगरिएको भन्दै डिभिजनले पुल भत्काएर नयाँ बनाउन निर्देशन दिएको थियो। खरिद सम्झौता शर्त तथा सार्वजनिक खरिद (पहिलो संशोधन) ऐन, २०७३ को दफा ५९ को उपदफ २ (क) अनुसार सम्झौता तोडेको डिभिजनले जानकारी गराएको छ।
पुल बनाउने क्रममा निर्माण कम्पनीले परामर्शदाता र आयोजनालाई बेवास्ता गर्दै कमसल सामग्री प्रयोग गर्दै आएको डिभिजनको दाबी छ। निर्माण कम्पनीले पिलरपछिका संरचना ठेक्का सम्झौताविपरीत पुल बनाउँदै आएको थियो।
६० मिटरको पुललाई वारी र पारी जोड्न तीनवटा पिलर बनाउने गरी डिजाइन पास गरिएको थियो। नदीको दायाँ २०, बायाँ १० र बीचमा ३० मिटरको पिलर बनाएर पुल बनाउने ठेक्का सम्झौता छ। २५ मिटरभन्दा कमको पिलर सामान्य प्रक्रियाबाट निर्माण गरिन्छ भने सोभन्दा लामो पिलरमा तारलाई तन्काएर बाँध्नुपर्ने हुन्छ। बिचको पिलरलाई अन्य पिलरसँग जोड्न सातवटा बिम बनाउनुपर्ने हुन्छ। एउटा बिममा १५.७ एमएमको ३ वटा तार राख्नुपर्ने। तर, निर्माण कम्पनीले ०.५ एमएम कमको १५.२ एमएमको तार राखेर परामर्शदाता र आयोजनाको आँखा छल्न सिमेन्टको घोल हालेर पुरेको थियो।
यस्तै पुलको बिचको पिलरभन्दा नदीको दायाँबायाँ पिलर अगाडि बनाइएको थियो। पुललाई बलियो बनाउन बिममा राखिएको तारलाई मेसिनको सहायताले तानेर अन्य पिलरसँग जोड्नुपर्ने हुन्छ। तर, दायाँबायाँको पिलर पहिले नै बनाइएको थियो। यसरी पिलर बनाउँदा २० मिटरको पिलर भएको ठाउँमा मेसिन राख्ने पर्याप्त ठाउँ पनि थिएन। एकातर्फको कुनामा मात्र मेसिन राखेर बिमको तार कसिएको थियो। एकातर्फ मात्र तार कसिएकाले पुलले हेभी गाडीको भार थेग्न नसक्ने र आयु पनि कम हुने डिभिजन कार्यालय काठमाडौंको निष्कर्ष छ।
गाडी गुड्ने भाग ढलान गर्नुअघि तार हालेर दुवैतर्फ लाठा तान्नुपर्ने थियो। ठेक्का सम्झौताअनुसार तार भए वा नभएको जाँच गर्न पुल्चोक इन्जिनियर क्याम्पसमा नमुना पठाइएको थियो। त्यो नमुना परीक्षणको नतिजा आउनुअघि नै तार राखेर त्यसलाई झिक्न नमिल्ने गरी सिमेन्टको घोल हालेर पुरिएको थियो। साथै मिक्स डिजाइनबाट निर्माण गर्दा इन्जिनियरको उपस्थितिमा गर्नुपर्ने हुन्छ। तर, निर्माण व्यवसायीले इन्जिनियरलाई जानकारी नदिई मिक्स डिजाइन प्रयोग गरेका थिए।
। परामर्शदाताले कमसल सामग्री प्रयोग गरेर पुल निर्माण भएको र यसमा गाडी गुड्ने अनुमति नदिन डिभिजन कार्यालय काठमाडौंलाई पत्र लेखेसँगै यो विवाद सतहमा आएको थियो।
प्रतिक्रिया दिनुहोस !