ब्याडमिन्टन खेलाडी दाहालको विश्व बरियतामा छलाङ
काठमाडौं : नेपालका ब्याडमिन्टन खेलाडी प्रिन्स दाहालले विश्व बरियतामा छलाङ मारेका छन्। विश्व ब्याडमिन्टन महासंघले मंगलबार सार्वजनिक गरेको विश्व बरियतामा प्रिन्स ११ औँ स्थानमा उक्लिएका हुन्।
एकसाता अघि प्रिन्स विश्व बरियतामा १४ औँ स्थानमा थिए। विश्व ब्याडमिन्टन महासंघले प्रत्येक साता सिनियरतर्फ तथा यु-१९ जुनियर खेलाडीको बरियता निर्धारण गर्नेगर्छ। प्रिन्सले प्राप्त गर्नुभएको बरियता हालसम्म ब्याडमिन्टनमा नेपाली खेलाडीले हासिल गरेको उत्कृष्ट नतिजा हो। हालै सम्पन्न प्रेसिडेण्ट कप इन्टरनेशनल प्रतियोगितामा प्रिन्स यु-१९ को फाइनलमा भारतीय खेलाडी मिराव लुवाङसँग १६-२१, २३-२१ र १५-२१ अङ्कले पराजित भएका थिए। भारतीय खेलाडी लुवाङ विश्व बरियताको तेस्रो स्थानमा छन्।
दुई साताअघि प्रिन्स विश्व बरियताको ३२ औँ स्थानमा थिए। गत सेप्टेम्बरमा संयुक्त अरब इमिरेट्स (युएई)मा सम्पन्न दुबई इन्टरनेशनल सिरिजको उपाधि जितेपछि उनको बरियतामा उल्लेख्य सुधार भएको हो। ब्याडमिन्टनको जुनियरतर्फको बरियतामा फ्रान्सका क्रिस्टो पोपोभ शीर्ष स्थानमा छन् भने चीनका लिउ लियाङ बरियताको दोस्रो स्थानमा छन्।
प्रतिक्रिया दिनुहोस !