योजना राम्रो भए, जिम्मेवारी गाह्रो छैन

योजना राम्रो भए, जिम्मेवारी गाह्रो छैन

काठमाडौं पेप्सीकोलास्थित बालवाटिका स्कुलका संस्थापक अध्यक्ष तथा प्रधानाध्यापक हुन्, रोशन सिंह। जीवनमा डाक्टर बन्ने सपना बुनेका उनले शिक्षण पेसामा लाग्छु र आफ्नै विद्यालय खोल्छु भन्ने कल्पनासमेत गरेका थिएनन्।

काम गर्दै जाने क्रममा डाक्टर, इन्जिनियर, वैज्ञानिक, डकर्मी, सिकर्मी वा जुनसुकै व्यक्तित्व विद्याललयले नै उत्पादन गर्छ भन्ने भान उनलाई भयो। त्यसैले हजारौं डाक्टर इन्जिनियर उत्पादन गर्ने सोचले विद्यालयको स्थापना गरी यसैमा डटेर लागिपरे।

शिक्षा र बाल्यकाल

सिंहको पुख्र्यौली घर धादिङको केवलपुरमा हो। तर उनको जन्म भने धनुषाको सिनुरजोडामा २०२६ साल पुस १५ मा भएको थियो। मध्यमवर्गीय भए पनि सम्पन्न परिवारमा जन्मेका उनलाई आर्थिक समस्या कहिल्यै भोग्नु परेन। उनी परिवारको दोस्रो सन्तान हुन्।

धनुषामा जन्मिए पनि उनको औपचारिक पढाइ भने काठमाडौंको भानुभक्त मेमोरियल स्कुलमा भयो। विद्यालयमा उनी कक्षा १ मा भर्ना भएका थिए। उनी सानैदेखि मिलनसार स्वभावका भएकाले जोसँग पनि सजिलै मिल्थे।

परिवारबाट टाढा रहेका कारण ‘साथीहरूसँग बहकिएर बिग्रिन्छ कि’ भन्ने डरले उनको बुवाले फेरि धनुषा नै बोलाए। त्यहाँ उनलाई सूर्योदय निम्न–माध्यमिक विद्यालयमा कक्षा २ मा भर्ना गरिदिए। कक्षा ७ सम्म सिंहले त्यहीँ पढे। तर, उनी पढाइमा निकै अब्बल थिए। जहिले पनि पहिलो र दोस्रो मात्रै हुन्थे। यो क्रम उनको स्नातकोत्तरसम्मै रह्यो। भन्छन् ‘म पढाइमा एकदमै ट्यालेन्ट थिएँ। कक्षा १ देखि स्नाकोत्तरसम्म सधैं पहिलो र दोस्रो नभए पनि टप टेन भित्रै पर्थेँँ।’

पढाइसँगै उनी अतिरिक्त क्रियाकलापमा पनि उत्तिकै रुचि राख्थे। खेलकुददेखि गीतसंगीतमा उनको विशेष रुचि थियो। उनी खुब गीत गाउँथे। भन्छन् ‘म स्कुलको अतिरिक्त क्रियाकलाप हुँदा गीत गाउँथे। म गीत गाउने हुनाले साथीहरूले मलाई ‘क्षितिज’ नामले पनि चिन्थे।’ कक्षा ८ मा पुगेपछि महेन्द्रनगरस्थित छिरेश्वर जनता माविमा भर्ना भएका उनले त्यही विद्यालयबाट २०४२ सालमा प्रथम    श्रेणीमा एसएलसी पास गरे।

एसएलसीपछि प्लस टु कहाँ पढ्ने ?    यही चिन्ताले उनलाई सतायो। उनलाई विज्ञान विषय लिएर पढ्ने मन थियो। त्यसपछि आफ्नो फुपाजुको घरमा बसेर बनारस हिन्दू विश्वविद्यालय अन्तर्गतको विज्ञान क्याम्पसबाट प्लस टु सकाए। २०४३ सालमा उनी काठमाडौं छिरे। अमृत साइन्स क्याम्पसमा बीएस्सीमा भर्ना भए। त्यहाँ सकिएपछि २०५१ सालमा २५ वर्षकै उमेरमा त्रिभुवन विश्वविद्यालयबाट वनस्पति शास्त्र विषयबाट स्नातकोत्तर पास गरे।

प्रधानाध्यापकको यात्रा

२०४५ सालतिरको कुरा हो, उनी बीएस्सीको परीक्षा दिएर खाली बसेका थिए। त्यहीबेला उनको बुवाले ‘त्यत्तिकै खाली बस्नुभन्दा गाउँमा आएर तैले पढाएको स्कुलमा पढाइदे’ भनेपछि उनी गाउँ छिरे। आफूले पढेको स्कुलका पढाउन पाउने कुराले उनलाई खुसी लाग्यो। त्यहाँ करिब ५÷६ महिना कक्षा ७, ८ र ९ लाई विज्ञान र अंग्रेजी पढाए। त्यो पनि नि:शुल्क। त्यतिबेला उनलाई ट्युसन पनि पढाउनु पर्‍यो। अभिभावकले आग्रह गरेपछि बिहान बेलुका विद्यार्थीलाई ट्युसन पढाए। यही क्रममा सायद कताकता शिक्षण कार्यले उनको मनमा छोइसकेको थियो। तर, उनलाई म शिक्षक नै बन्छु भन्ने त्यतिबेलासम्म लागिसकेको थिएन। त्यसपछि उनी काठमाडौं आए।

काठमाडौंमा आएपछि उनले यहाँ पनि होम ट्युसन पढाए। सँगसँगै उनले एमबीबीएसको तयारी पनि गरिरहेका थिए। एमबीबीएसमा नाम ननिस्किएपछि त्रिविमा स्नातकोत्तर पढ्न सुरु गरे। पढाइ सकेर उनले मेडिकल मार्केटिङमा करिब नौ वर्षसम्म काम गरे। त्यसैगरी चितवनको होटेल जंगल क्याम्पमा पनि म्यानेजर भएर केही समय काम गरे। यसरी थुप्रै ठाउँमा काम गर्दै गएपछि फेरि आफ्नै गाउँको विद्यालयमा व्यवस्थापन समितिको अध्यक्ष भएर करिब आठ वर्ष बिताए। अन्तत: एउटा विद्यालय खोलेर विद्यार्थीलाई जीवनोपयोगी शिक्षा प्रदान गर्ने उद्देश्यले २०६७ साल फागुन ९ बाट उनले बालवाटिका स्कुल सुरु गरे। विद्यालयको संस्थापक अध्यक्षका साथै प्रधानाध्यापकको यात्रा पनि यहीँबाट प्रारम्भ भयो।

प्रधानाध्यापकका चुनौती

प्रधानाध्यापक निकै चुनौतीपूर्ण पद रहेको उनको अनुभव छ। तर, यसलाई योजनबद्ध रूपमा लैजाँदा उनलाई त्यति गाह्रो भएन। अरू विद्यालयको तुलनामा आफ्नो विद्यालयका विद्यार्थी कस्ता छन् ?    समाजमा आफ्नो उपस्थिति कसरी जनाइराखेको छु ? र सकारात्मक प्रतिस्पर्धा कसरी गर्ने जस्ता चुनौती उनका सामु नआएका भने होइनन्। आफू सधैं अपडेट भइरहे यस्ता चुनौती सजिलै सामना गर्न सकिने उनको भोगाइ छ। उनी भन्छन्,

‘प्रधानाध्यापकले विद्यालयलाई राम्रो नेतृत्व दिन सकेन भने समग्र विद्यालय र विद्यार्थीको भविष्य अन्योलमा पर्छ।’ त्यसैले नेतृत्व विकासको तालिम लिनु उनी अनिबार्य ठान्छन्।

छात्रवृत्ति कार्यक्रम

बालवाटिका विद्यालयको माध्यमबाट सिंहले एउटा छुट्टै छात्रवृत्तिको कार्यक्रम घोषणा गरेका छन्। यसको नाम ‘बलराम किशोरी कुलचन्द्र छात्रवृत्ति कार्यक्रम’ हो। यो एक जेहेनदार र सिर्जनशील विद्यार्थीका लागि मात्र भएको र आफ्ना पुर्खाहरूले गरेको कार्यको सम्झना र सम्मानमा बनाएको उनी बताउँछन्। यो छात्रवृत्तिको छनोटमा परेका जुनसुकै विद्यार्थीले कक्षा १ देखि १० सम्म नि:शुल्क पढ्न पाउने व्यवस्था गरिएको छ। उक्त छात्रवृत्ति कार्यक्रमको नाम उनले आफ्नो बुवा बलराम सिंह, हजुरबुवा किशोरी सिंह र जिजुबुवा कुलचन्द्र सिंहको नामबाट राखेका हुन्।

यो कार्यक्रम तेस्रो वर्षमा प्रवेश गर्दैछ। यसबाट पहिलो वर्ष एक जना र दोस्रो वर्ष दुई जनाले छात्रवृत्ति पाइसकेका छन्। यो वर्ष भने १० जनालाई दिने योजना रहेको छ। उनी भन्छन्, ‘सकेसम्म फरकफरक जिल्लाका विद्यार्थी परून् भन्ने हाम्रो उद्देश्य हो।’

शिक्षा क्षेत्रका समस्या र सुझाव

कुनै एक व्यक्ति वा संस्थाको योगदानबाट मात्र शिक्षा क्षेत्रको सुधार सम्भव छैन। यसलाई सफल बनाउन शिक्षक, विद्यालय र अभिभावकको उत्तिकै भूमिका हुन्छ। यी तीन विषय सन्तुलन हुन नसकेमा बालबालिकाले राम्रो शिक्षा पाउन सक्दैनन् र समग्र देशको शिक्षामा समस्या देखिने उनको ठम्याइँ छ। अभिभावकले बालबालिकालाई घरमा राम्रो पढ्ने वातावरण नबाइदिएकाले पनि अहिलेका विद्यार्थीमा समस्या देखिएको उनको अनुभव छ। त्यसैगरी विद्यालयले दक्ष, अनुभवी र शिक्षणप्रति झुकाव नभएका शिक्षक राखेमा पनि शिक्षाको अवस्था राम्रो नहुने उनको बुझाइ छ। यस्ता सबै विषयको व्यवस्थापन गर्न राज्यले विद्यालय, अभिभावक र शिक्षकका लागि उचित तालिम सञ्चालन गर्नुपर्ने उनी बताउँछन्। सरकार वा राज्यले अभिभावकका लागि दायित्त्वबोध गराउने खालको कार्यक्रम ल्याउनुपर्ने उनको भनाइ छ।

अहिले पढाइ छोडेर बिदेसिने युवालाई देशमै उचित तालिम र रोजगारीको व्यवस्था गरिनुपर्ने उनी बताउँछन्। त्यसैगरी शिक्षामा योगदान पुर्‍याएका निजी विद्यालयको सुरक्षाको जिम्मा पनि सरकारले दिनुपर्ने बताउँदै उनी भन्छन्, ‘सरकारले तालिम प्राप्त शिक्षक राख भन्ने गरेको छ। तर, अहिले देशमा युवा पढाइभन्दा पनि बिदेसिने क्रम बढी छ। बीएड गरेका नेपाली, अंग्रेजी विषयमा शिक्षक केही संख्यामा पाइन्छन्। तर, अरू विषयका शिक्षक पाउनै गाह्रो छ।’ त्यसैले युवा जनशक्तिलाई देशमै टिकाइराख्न यहाँको शिक्षा प्रणाली सुधार गर्नेतर्फ सम्बन्धित निकाय लाग्नुपर्ने उनको विचार छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.