वैचारिक संक्रमणमा विद्यार्थी
लोकतान्त्रिक नेपालमा उच्च शिक्षालाई दलीय स्वार्थबाट मुक्त गर्न सकियो भने कालान्तरमा त्यसले फल दिनेछ
कल्पित विज्ञान (साइन्स फिक्सन) विधामा आधारित ‘इन्सेप्सन’ नामक हलिउड चलचित्रमा एक संवाद छ, ‘ह्वाट इज द मोस्टरेजलियन्ट प्यारासाइट ? ’ अर्थात् सबभन्दा लचिलो परजीवी के हो ? चलचित्रमा सपनामा मानव मस्तिष्कमा रेजलियन्ट प्यारासाइटरूपी विचारको वीजारोपण गर्न सकिने कल्पना गरिएको छ। मानव मस्तिष्कमा वीजारोपण गरिएको विचारलाई अत्यधिक संक्रामक र छुटकारा पाउन नसकिने परजीवीका रूपमा चलचित्रमा चित्रण गरिएको छ। चलचित्र कल्पित विज्ञानमा आधारित भएकाले दर्शकलाई मनोरञ्जन दिन्छ, तर आश्चर्यचकित गर्दैन। मानिसलाई कल्पित विज्ञानले भन्दा वास्तविक विज्ञान र वास्तविक घटनाले आश्चर्यचकित गर्छ।
जवाहरलाल नेहरू विश्वविद्यालयमा भइरहेको विवाद र दंगाको घटनाबाट सुरु गरौं। जेएनयूमा भारतीय सत्तासमर्थक र विरोधी विद्यार्थीबीच झडप भएपछि दुवै पक्षका विद्यार्थी घाइते भएका छन्। भिडन्त एउटा पक्षले सुरु गरेको होला, अर्काले अन्त्य गरेको होला। एउटाले हिंसा कम गरेको होला, अर्काले उग्ररूपमा झडपको अन्त्य गरेको होला, एउटाले कम कुटाइ खाएको होला, अर्कोले बढी कुटाइ खाएको होला। तर भारतीय जनता पार्टीको भ्रातृ संगठन अखिल भारतीय विद्यार्थी परिषद् (एबीभीपी ) र भारतीय कम्युनिस्ट दलसमर्थक विद्यार्थीबीच जेएनयूमा कुटाकुट र तोडफोड भएको सत्य हो। भाजपा र कम्युनिस्ट दलका नेताहरू आआफ्नै कुतर्कसहित भारतीय सञ्चारमाध्यममा यही कुटाकुटको पक्ष र विपक्षमा बहस गर्दैछन्। नेपालको एक बौद्धिक वर्गलाई समेत जेएनयूको विवादले आकर्षित गरेको छ। संघर्षरत विद्यार्थीका पक्षमा नेपालका बौद्धिकहरूले अनेक विचार प्रस्तुत गरेका छन्, विभिन्न आलेख प्रकाशित गरेका छन्। यसको एउटै कारण हो, ती विद्यार्थीको कम्युनिस्ट दलसँगको आबद्धता। यसरी आस्थाका आधारमा बौद्धिकहरूले सही र गलतको छिनोफानो गर्नुको कारण के हो ?
जेएनयू भारतमा एक प्रतिष्ठित संस्था हो। त्यहाँका विद्यार्थीका माग भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सजिलै सम्बोधन अथवा तिनमा कम्युनिस्ट दलले सम्झौता सजिलै गर्न सक्छन्ा्, तर मुद्दाको सम्बोधन वा सम्झौता उनीहरूको सरोकार होइन। विद्यार्थीलाई विशुद्ध प्राज्ञिक वातावरणमा उच्च शिक्षा प्रदान गर्नेभन्दा पनि राजनीतिक संक्रमणको सिकार बनाएर आआफ्नो राजनीतिक रोटी सेक्नु उनीहरूको उद्देश्य हो। जेएनयूको विवादले यसै वर्ष दिल्लीमा हुने चुनावमा प्रत्यक्ष असर पार्ने छ। कालान्तरमा समेत त्यसले ठूलो राजनीतिक असर पार्ने छ। संकुचित भइसकेका कम्युनिस्टहरूलाई भारतमा आफू गरिबको मसिहा भएको सावित गर्न केही मुद्दा चाहिएका छन्। भाजपालाई भगवा (गेरुवा) अर्थात् धार्मिक मुद्दा कायम गर्नुपरेको छ। विद्यार्थीलाई उनीहरूले केवल प्रयोग गरेका हुन्। विद्यार्थीलाई राजनीतिक दलले आफूअनुरूप प्रयोग गरेको उदाहरण नेपालमा पनि छ। चलचित्रमा मानिसको सपनामा गएर उसको मस्तिष्कमा विचारको वीजारोपण गरेजस्तै कलिला नानीहरूलाई स्टालिन, माओ, लेनिन, हिन्दुत्व, सनातन धर्म वा अन्य विचारको भारी बोकाउनु उनीहरूमा थोपरिएको एक संक्रमण नै हो। यसले देशको अहित मात्रै गर्छ।
जेएनयू विवादमा झडप भएपछि घाइते भएका विद्यार्थीलाई भेट्न तिनका दलका नेताहरू अस्पताल पुगे र ती दंगेबाज विद्यार्थीलाई ढाडस र स्याबासी दिए। कतिपय ती घाइते विद्यार्थी दंगामा प्रत्यक्ष सामेल भएका तस्बिर सार्वजनिक भइसकेका छन्। भारतीय कांग्रेस पार्टीकी नेत्री प्रियंका गान्धी अस्पतालमा गएर वामपक्षका घाइतेलाई मात्र भेटिन्, एबीभीपीका घाइते विद्यार्थीलाई भेटिनन्। विद्यार्थीका जायज माग शान्तिपूर्ण रूपले समाधान गर्न पहल गर्ने र विद्यार्थीलाई वार्ताको टेबुलमा ल्याउने प्रतिबद्धता कुनै नेताले गरेनन्। तिनले केवल एक पक्ष निर्दोष र अर्को पक्ष दोषी रहेको बयानबाजी गरे। दंगामा सामेल हुने विद्यार्थीलाई तुरुन्त कानुनी दायरामा ल्याउने, तिनले प्राप्त गर्ने छात्रवृत्ति निलम्बन वा तिनलाई विश्वविद्यालयबाट समेत सीमित समयका लागि निलम्बन गर्ने प्रयास कसैले गरेनन्। ती दंगेबाज विद्यार्थीलाई विश्वविद्यालयमा होहल्ला, दंगा, मारपिट र तोडफोड गरेको आरोपमा आफ्नो दलबाट निष्कासन गर्नुको साटो नेताहरूले त्यस्ता विद्यार्थीको मनोबल बढाउने अनेक प्रयत्न गरे। कतिपय दंगेबाजहरू पुरस्कृतसमेत भए होलान्। विगतमा पनि त्यसरी पुरष्कृत भएका छन्।
नैतिकवान् र परिवर्तनशील शिक्षित वर्ग उत्पादन गर्ने कि कुनै आदर्शप्रतिको लम्पसार जडसूत्रवादी वा नेताका आदेशलाई नै शाश्वत सत्य मान्ने झोले उत्पादन गर्नमै रमाउने ?
एउटा दलले उपकुलपतिलाई जोगाउने र अर्कोले उपकुलपतिको राजीनामा माग्ने काम गरेका छन्। गुन्डागर्दी गर्ने विद्यार्थी भने सबैका प्रिय पात्र छन्। यो राजनीतिक दलले उच्च शिक्षामा गरेको प्रहार हो। यसको दुष्परिणाम देशले लामो समयसम्म भोग्छ। यो मुद्दामा गुन्डाहरूलाई जोगाएर उपकुलपतिलाई बलिको बोको बनाइयो भने जेएनयूको अवनति यात्रा सुरु हुनेछ। पंक्तिकारको पुस्ताले देखेको त्रिभुवन विश्वविद्यालयको एकमात्र गैरराजनीतिक उपकुलपति केदारभक्त माथेमा हुन्। विद्यार्थीले तोडफोड र गुन्डागर्दी गरेको कारणले माथेमालाई राजीनामा दिन लगाएको यहाँ स्मरणीय हुन्छ। त्यसपछिको त्रिविको अवस्था जगजाहेर छ।
पञ्चायतले पनि नेपालमा विद्यार्थीलाई राजनीति सिकाउने प्रयत्न गरेको थियो तर त्यसबेलाका दलहरूले ज्यादती नै गरेका थिए। कलेज पढ्ने विद्यार्थीले आफ्नो पाठ्यक्रमअनुरूपको प्रगति नगरे पनि तिनलाई कांग्रेस र कम्युनिस्टसम्बन्धी यथेष्ट ज्ञान उपलब्ध थियो। माओ, बीपी, मेलमिलाप दिवस, अक्टोबर क्रान्ति, लेनिनवाद, किम इल सुङ र जोंछे विचारधारा आदिसम्बन्धी अपरिपक्व ज्ञान तिनलाई उपलब्ध थियो। राजनीतिको अल्पज्ञानबाट ती दीक्षित भइसकेका थिए। त्यो विद्यार्थीमाथिको संक्रमण थियो। परिवर्तित अवस्थामा देशका लागि चाहिने अनेक आर्थिक, नीतिगत मुद्दाहरूमा, वैदेशिक सहयोग, भ्रष्टाचार वा वैदेशिक मामिलाका सवालमा नेपालका विद्यार्थी राजनीतिक आस्थाका आधारमा विभाजित छन्। बीएआर र सी विचारधाराको नेपालमा गरिएको प्रशिक्षणको समर्थन गर्नेले एमसीसी सहयोगका विषयमा भने ठूलो विरोध गरिरहेका छन्। यो पूर्वाग्रह अज्ञानता होइन ? उपकुलपतिको कार्यालयमा तोडफोड गर्ने र प्राध्यापकलाई कुटपिटसमेत गर्ने विद्यार्थीलाई कुनै राजनीतिक दलले आजसम्म कारबाही गरेको एउटा उदाहरण छैन। बलात्कार र हत्याजस्ता जघन्य अपराधका आरोपीलाई समेत नेपालको बौद्धिक वर्गले आस्थाका आधारमा हेरेको देखिएको छ। नेपालमा राजनीतिक परिवर्तन भयो तर पनि राजनीतिक अस्थिरता कायम छ, किन ? किनकि नेपालमा आर्थिक परिवर्तन भएन। बीपीको सपना, अक्टोबर क्रान्ति वा माओवादको रटाइले आर्थिक रूपान्तरण भएन। परिवर्तनलाई दिशा दिन सक्ने क्षमतावान् नेतृत्व नेपालमा रहेनछ।
यसैबीच नेपालका एक लोकप्रिय सञ्चारकर्मी ले ‘द लिडर’ नामक कार्यक्रमको घोषणा गरेको सामाजिक सञ्जालमा चर्चित छ। कार्यक्रमको निर्णायक मण्डलमा पत्रकारिता, कानुन र राजनीति क्षेत्रका प्रतिष्ठित व्यक्तित्व चयन गरेर सन्तुलन मिलाइएको छ। कल्पित विज्ञानभन्दा पनि आश्चर्यको कुरा के भने त्यसको निर्णायकमण्डलमा राजनीतिज्ञबाट बाबुराम भट्टराई राखिएका छन्। भट्टराई निकै जेहनदार विद्यार्थी हुनुका साथै जेएनयूकै विद्यावारिधिसमेत हुन्।
एकछिन भट्टराईको विगत हेरौं। शिक्षाबाट होइन, सशस्त्र लडाइँबाट अधिकार प्राप्त हुन्छ र समतामूलक समाज निर्माण हुन्छ भनेर उनले स्कुल जाने उमेरका कलिला नानीहरूलाई शिक्षाबाट वञ्चित गराए। कांग्रेसलाई प्रमुख शत्रु भनेर कतिपय कांग्रेसका कार्यकर्ताको सफाया गर्न लगाए। के भट्टराईले हतियार समाउन लगाएका नानीहरूले बुर्जुवा शिक्षाभन्दा अब्बल दर्जाको शिक्षा प्राप्त गरे ? के रोजगार निर्माण भयो ? के तिनले नवप्रवर्तक उद्यमशीलताको तालिम प्राप्त गरे ? उत्पादनका लागि चाहिने वैज्ञानिक विधिहरूको विकास भयो ? ती स्कुल जाने नानीहरूलाई माओवाद, स्टालिनवाद, लेनिनवाद सिकाउनु गल्ती थिएन ? ती नानीहरूको मस्तिष्कमा रोपिएको त्यो साम्यवादको आशा छँदैछ। उनले जातीय राज्यहरूका लागि जनतालाई मर्न र मार्न सिकाए, मधेस–पहाडलाई एक गराउने कुनै एउटा काम उनले गरेनन्, बरु मधेसी र पहाडेका बीचमा एक ठूलो खाडल बनाए, जसबाट सयौं नेपालीले ज्यान गुमाए। आफ्नै दलका कैयन् निहत्था नागरिकको हत्या गर्नेसँग उनी अहिले जोडिएका छन्। यसबाट के प्रस्ट हुन्छ भने भट्टराईले दिएको शिक्षा गलत थियो र त्यसैले उनका अनुयायीको भविष्य सुनिश्चित भएन। उनले विद्यार्थीकालमा प्राप्त गरेको माओवादी हिंसात्मक अधिनायकवादको शिक्षा घातक थियो, त्यो अल्पज्ञान थियो। त्यसैले भट्टराईले माओवादको त्याग गरे, कांग्रेसको सहायतामा चुनाव जिते र साम्यवाद भन्नै छाडे। ‘द लिडर’ का लागि यिनीभन्दा उत्तम पात्र नेपालमा पाइएन। यो दुर्भाग्य हो।
जेएनयूको समस्या समाधान नभए पनि भारतको उच्च शिक्षामा त्यसले खासै फरक पर्दैन तर नेपालका लागि त्रिविले ठूलो महŒव राख्छ। त्रिविलगायत अन्य विश्वविद्यालय पनि राजनीतिको सिकार नै छन्। तुलनात्मक रूपले शान्त रहेको काठमाडांै विश्वविद्यालय समेत राजनीतिको सिकार भइसकेको छ। विश्वविद्यालयमा लागेको ताला खोल्न सकिएको छैन। विश्वविद्यालयको दुर्गतिको मुहान राजनीति हो भनेर महसुस गर्ने नेता अझै नेपालले पाएको छैन। विद्रोहबाट त्यो प्राप्त भएन। युवालाई ज्ञानविज्ञानको सट्टा राजनीति सिकाइनुको परिणाम हो त्यो। बदलिँदो विश्व राजनीतिअनुरूपको नीतिनिर्माण र वैज्ञानिक क्रान्तिले बदलेको विश्व अर्थव्यवस्थामा स्वच्छ राजनीतिक बहस गर्न सक्ने, त्यसको लाभ लिन सक्ने, नैतिकवान् र परिवर्तनशील शिक्षित वर्ग उत्पादन गर्ने कि कुनै आदर्शप्रतिको लम्पसार जडसूत्रवादी वा नेताको आदेशलाई नै शाश्वत सत्य मान्ने झोले उत्पादन गर्नमै रमाउने ?
त्रिविले हालै विद्यार्थी निर्वाचनको घोषणा गरेको छ। निर्वाचन सम्पन्न गरेर यसका पदाधिकारीहरू एउटा ठूलो काम फत्ते गरेको भ्रम पालेर बस्नेछन्ा् तर यसले एउटा अर्को ठूलो संक्रमणको वीजारोपण गर्ने छ। जेएनयूभन्दा ठूलो राजनीतीकरण त्रिविमा विद्यमान छ। जेएनयूमा भएको भन्दा ठूला झडपहरू त्रिविको विद्यार्थी निर्वचनमा सधैं भइरहेका छन्। बुद्धिजीवी वर्गले जेएनयूका विषयमा चिन्तन गर्न छाडेर त्रिवि र काठमाडौं विश्वविद्यालयको समस्यामा ध्यान दिए कसो होला ? त्रिविको विद्यार्थी निर्वाचन राजनीतिक आधारमा गरिन्छ। राजनीतिक आधारमा विश्वविद्यालयमा गरिने निर्वाचन विश्वविद्यालय र देशका लागि एउटा ‘रेजलियन्ट प्यारासाइट’ सरह हो। यहाँ प्रयोग गरिएका शब्दहरू अप्रिय होलान् तर कुनै न कुनै बेला अप्रिय निर्णय लिनैपर्ने हुन्छ। विद्यार्थी निर्वाचन दलीय आधारमा गर्नु कुनै पनि कारणले देशको हितमा हुँदैन। लोकतान्त्रिक नेपालमा उच्च शिक्षालाई दलीय स्वार्थबाट मुक्त गर्न सकियो भने कालान्तरमा त्यसले फल दिनेछ।