वीरगन्ज भन्सारको गोदाममा आगलागी
वीरगन्ज : वीरगन्ज भन्सार कार्यालय परिसरमा रहेको गोदाममा आगलागी भएको छ। भन्सार कार्यालय परिसरमा रहेको नेशनल ट्रेडिङको गोदाममा मंगलबार बेलुकी आगलागी भएको हो।
बेलुकी साढे ७ बजेतिर लागेको आगो ५ वटा वारुण यन्त्रको मद्दतमा अग्नि नियन्त्रक, सशस्त्र प्रहरी र नेपाल प्रहरीले २ घण्टामा निभाएका थिए। भन्सारको गोदाममा रहेको आगो निभाउन वीरगन्ज महानगरपालिकाका २, पोखरीया नगरपालिका, जितपुर सिमरा र कलैया उपमहानगरपालिकाका एक/एक वटा गरी ५ वटा वारुण यन्त्र घटनास्थलमा पुगेका थिए।
आगलागीबाट गोदामभित्र राखिएका सामानहरु जलेर नष्ट भएको भन्सार कार्यालयका भन्सार अधिकृत गोपाल खत्रीले जानकारी दिए। गोदाम केहि समय यता प्रयोगमा नरहेका कारण आगलागीबाट गोदाममा रहेका पुराना सामान मात्रै जलेर नष्ट भएकाले ठूलो क्षति हुन नपाएको खत्रीले जानकारी बताए।
भन्सार राजश्व चुहावट नियन्त्रणका लागि भन्सार कार्यालयमा परिचालित सशस्त्र प्रहरी युनिटका सशस्त्र प्रहरी नायव उपरीक्षक अमर खत्रीका अनुसार गोदामभित्र जडान गरिएको विद्युतको बोर्डमा तार सर्ट भएर आगो लागेको हो।
यसअघि ३ वर्ष पहिले पनि त्यहि गोदाममा आगलागी हुँदा गोदाममा भण्डारण गरी राखिएका लाखौं मुल्यको मालसामान जलेर नष्ट भएको थियो।
प्रतिक्रिया दिनुहोस !