६ बुँदे घोषणापत्र जारी गर्दै अनेसास सम्मेलन जापानमा सम्पन्न
टोक्यो : अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को तेस्रो च्याप्टर सम्मेलन जापानको टोक्योमा सम्पन्न भएको छ ।
तीन दिनसम्म चलेको सम्मेलन ६ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भयो । सम्मेलनले संसारभर छरिएका साहित्यकारहरुलाई एकै ठाउँमा राखेर नेपाली साहित्यलाई अन्तर्राष्ट्रियकरण गर्नेमा जोड दिएको छ ।
साथै नेपाली साहित्यलाई विभिन्न भाषामा अनुवाद गर्ने कार्यलाई पनि तिव्रता दिनेमा वक्ताहरुले जोड दिएका थिए । पूर्व केन्द्रीय अध्यक्ष मोहन सिटौलाको नेतृत्त्वमा जारी भएको घोषणापत्रमा आन्तरिक कमजोरी सुधार गर्ने प्रतिबद्धता पनि व्यक्त गरिएको छ ।
अनेसास च्याप्टर सम्मेलनमा केन्द्र र च्याप्टरबीचको सम्बन्धमा रहेका कमजोरीहरुलाई पनि सुधार गर्ने सहमति भएको छ । सम्मेलनमा नौ देशका १७ च्याप्टरका प्रतिनिधि र नेपालका चर्चित साहित्यकारहरुको उपस्थिति थियो ।
केन्द्रीय कार्य समितिको आयोजना र जापान च्याप्टरको संयोजन र व्यवस्थापनमा भएको उक्त सम्मेलनको संयोजक जापान च्याप्टरका पूर्व अध्यक्ष दीप पाठक थिए । पाठकको नेतृत्वमा रहेको जापान च्याप्टर ( २०१७ -२०१९ ) लाई संसारभरका च्याप्टरहरुमध्ये उत्कृष्ट कार्य सम्पादन गरे वापत विशिष्ट च्याप्टर पुरस्कार समेत प्रदान गरिएको थियो । जापान च्याप्टरले प्राप्त गरेको उक्त पुरस्कार प्रमुख अतिथि तथा जापानका लागि नेपाली राजदूत प्रतिभा राणाले प्रदान गरेकी थिइन् ।
कार्यक्रमलाई गैरआवासीय नेपाली संघका पूर्व अध्यक्ष एवं व्यवसायी भवन भट्टले सम्बोधन गर्दै प्रवासमा बढ्दै गएको साहित्य चेतलाई अनेसासले संगठित गरेकोमा खुसी व्यक्त गरे । कार्यक्रममा गैरआवासीय नेपाली संघ आइसिसीका कोषाध्यक्ष महेशकुमार श्रेष्ठले जापानमा रहेका नेपालीहरुको साहित्यप्रतिको लगावबाट प्रभावित भएको बताए ।
जापानका लागि नेपाली राजदूत प्रतिभा राणाले भने विदेशी भूमिमा नेपाली भाषा र साहित्यको उन्नयन र विकासमा अनेसासले गरेको योगदानको खुलेर प्रशंसा गरिन् । यसका लागि दूतावास परिवार सहकार्य गर्न तयार रहेको बताइन् ।
अनेसास जापानका पूर्व अध्यक्ष डा कुमार बस्नेत, बेलु काजी थापा र विष्णुप्रसाद घिमिरे, दिनेशराज ज्ञवली, गैरआवासीय नेपाली संघ जापान अध्यक्ष देवीलाल भण्डारी, आइसिसी एशिया युवा संयोजक दीपक कँडेल लगायतले कार्यक्रममा बोलेका थिए ।

प्रतिक्रिया दिनुहोस !