फोहोरको धुँवा बस्तीमा

फोहोरको धुँवा बस्तीमा

इटहरी : जंगलमा थुपारिएको फोहोरमा आगो लागेपछि त्यसबाट निस्केको धुँवा बस्तीभरि नै फैलिएको छ। धुँवा अत्यधिक फैलिएपछि गाउँमा बस्नेलाई मात्र नभई कोशी राजमार्गमा आवागमन गर्नेलाई असहज बनेको छ। इटहरी–१९ भवारीपुरका स्थानीय फोहोर जलेर निस्केको धुँवाबाट हैरान बनेका छन्।

‘घरमा बस्नै नसक्ने गरि पिरो धुँवा आउँछ,’ इटहरी–१९ भवानीपुरका प्रेम निरवले भने, ‘इटहरीभरीको फोहोरको गन्ध सुघाँएर हामीलाई नगरपालिकाले बिरामी बनाइसक्यो।’ इटहरी र धरानमा फोहोर व्यवस्थापनको समस्या निकै अघिदेखिको हो। इटहरी र धरानभरीबाट निस्कने झण्डै एक सय टन फोहोर जंगलभित्रको सेउती खोलामा फाल्ने गरिएको छ।

हिउँदमा जलाइने फोहोर वष्र्खामा भने खोलाले बगाएर इटहरी र रामधुनी नगरवासीको घर आँगनसम्मै पुर्‍याउँछ। समयमै फोहोर व्यवस्थापन गर्न नसक्दा सहरबाट निस्कने फोहोरले गाउँलेलाई दुःख दिएको छ। अहिले फोहोर नष्ट गर्नै लगाएको आगोको धुँवामौ बस्तीमा पुगेको छैन। वरिपरीको पूरै वातावरण प्रदूषित बनेको छ।

साँझ पर्ने बित्तिकै लगाइने आगोले गर्दा टाउको दुख्ने र वाक्वाकी लाग्ने जस्ता समस्या देखिएको स्थानीय सन्तोष पौडेलले बताए। ‘मेरा ५० वर्षी छिमेकी सुरेश गिरी धुँवा आउनासाथ निस्सासिनुहुन्छ,’ उनले भने, ‘अझै केही दिनसम्म धुँवा हटेन भने यो ठाउँ नै छाड्नुपर्ने अवस्था बन्दैछ।’ लक्ष्मी चौलागाई ६ दिन धरानको वीपी प्रतिस्ठानमा उपचारपछि घर फर्किएकी छन्। स्वासप्रस्वासमा समस्या उत्पन्न भएपछि ४० हजार रुपैयाँ खर्चेर उपचार गरिएको थियो। तर घर फर्केकै साँझ धुँवाका कारण उनको रोग पुनः बल्झियो। ‘धुँवाले ज्यानै लिने भयो, फोहोर उत्पादन गर्ने सहर अनि यसको परिणाम चाही हामीले भोग्नुपर्ने ? ’

दुई हजार बढी घर परिवार रहेको भवानीपुर स्वास्थ्य जोखिमसँग जुधिँरहेको छ। भवानीपुरका हरेक घरमा श्वासप्रश्वासका बिरामी थपिन थालेका छन्। बालबालिका र वृद्धवृद्धालाई अझ धेरै समस्या परेको निरवले बताए। जंगलमा फोहोर नफाल्न र नजलाउन पटक–पटक उपमहानगरपालिकामा अनुरोध गरेका थिए। तर जति भने पनि सुनुवाई नभएपछि स्थानीयले बुधबार फोहोर बोक्ने गाडी नै नियन्त्रणमा लिए।

स्थानीयको अवरोधपछि इटहरी उपमहानगरपालिकाले तत्कालका लागि आगो निभाउने र आइतबार वार्ता गर्ने सहमति गरेको छ। इटहरीको फोहोर व्यवस्थापनको काम ‘वेस्ट एन्ड इन्भारो म्यानेजमेन्ट प्रालि’ ले गर्दै आएको छ। फोहोरबाट बायोग्याँससमेत निकाल्ने भन्दै उक्त कम्पनीले फोहोर व्यवस्थापनको जिम्मेवारी लिए पनि प्रशोधनका लागि आवश्यक मेसिन खरिद पनि गरेको छैन।

जस कारण इटहरी उपमहानगरपालिकाले १३ करोड खर्चेर बनाएको ल्यान्डफिल्ड साइटकै लगानी खेर जाने अवस्थामा पुगेको छ। यता धरानले पनि फोहोर प्रशोधन केन्द्र बनिरहेको बहाना गर्दै बाँझागरा सामुदायिक वनमा पर्ने सेउती खोलामा फोहोर फ्याँक्दै आएको छ। धरान उपमहानगरको दैनिक सरदर ५० टन फोहोर खोला र जंगलमा फाल्ने गरेको छ। दुवै नगर फोहोर व्यवस्थापनको लागि अर्को ठाउँ र उपाय नभएको बताउँछन्।

इटहरी उपमहानगरपालिकाका वातावरण अधिकृत पुष्पनारायण चौधरीका अनुसार आउँदो असारसम्ममा ल्यान्डफिल्ड साइट सञ्चालनमा आउनेछ। त्यसबेलासम्म वनभित्रै व्यवस्थापन गर्नुपर्ने बाध्यता रहेको उनले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.