‘कपी, इट् ह्याज नो भ्यालु’
ललितपुर : पाटन दरबार स्वायरको भण्डारखाल बगैंचामा सयौं कलाकार आफ्नै लयमा शताब्दी पुरुष सत्यमोहन जोशीको पेन्टिङ बनाइरहेका थिए। लाइभ पेन्टिङ गर्ने कलाकारका अगाडि जोशी चार घण्टा एउटा मेचमा धैर्यसाथ बसिदिए। पारिलो घाममा घरि निदाउँथे पनि। कुरा गर्न आउने सबैसँग राम्ररी बोल्थे। लाइभ पेन्टिङ गर्नेलाई साथ दिइरहेका जोशीले भने ‘कस्तो पेन्टिङ गर्दैछन् कुन्नि ? मैले हेरेको छैन।’ कलाकारतिर फर्किएर मेचमा बसिरहेका जोशी आफ्ना पेन्टिङ हेर्न आतुर थिए।
कलाकारहरू झुन्डझुन्ड भएर जोशीको हाउभाउ हेर्दै चित्र कोरिरहेका थिए। तर केहीले उनको पुराना तस्बिर हातमा समाएर त्यसैको आधारमा आकृति कोरे। जोशीले तस्बिरबाट पुनः तस्बिर उतार्नुभन्दा लाइभमा आकृति कोर्नु अर्थपूर्ण रहेको बताए। ‘कपी, इट् ह्याज नो भ्यालु’, उनले भने ‘तर लाइभमा जस्ताको त्यस्तै आउँछ।’ उनले कपी गर्दा ठ्याक्कै आफूजस्तो हो त्यस्तै उतार्न नसकिने शंका गरे। ‘लाइभ पेन्टिङ’ गर्नु भनेको एउटा अध्ययन नै हो’, जोशीले भने।
शताब्दी पुरुष सत्यमोहन जोशीको सम्मानका लागि आयोजना गरिएको कार्यक्रमको आयोजना यङ पिकासोले गरेको हो। पाटन संग्रहालय र शान्ति विद्या श्रमले यसमा सहयोग पुर्याएको आयोजकले जनाए। यङ पिकासोका संयोजक शीतु मास्केले जोशीजस्ता मूर्धन्य व्यक्तित्वका लागि यस्तो सम्मान गर्न पाउनुलाई उपलब्धि मानेको बताइन्। उनका अनुसार यो कार्यक्रम नेपालमा पहिलो पटक गरिएको हो। सबै सहभागीले जोशीको हस्ताक्षरसहितको सर्टिफिकेट पाएका छन्।
१३ वर्ष र त्योभन्दा माथिका दुई समूह छुट्ट्याएर चित्रकला प्रतिस्पर्धा गरिएको थियो। विभिन्न विद्यालयका बालबालिकालगायत इच्छुक कलाकारले उपस्थिति जनाएका थिए। त्यसैमध्येका एक हुन् दीपेन्द्र बनेपाली। उनी इन्टरनेसनल वाटर कलर सोसाइटीका महासचिव हुन्। जोशीजस्ता लिजेन्ड व्यक्तिमाथि यसरी चित्रकला प्रदर्शनी गर्दा समाजमा सकारात्मक सन्देश दिन सकिने बताए। अर्की कलाकार विपना महर्जनले जोशीको सम्मानका लागि यो कार्यक्रममा आफ्नो ठाउँबाट सहयोग गरेको बताइन्।
प्रतियोगितामा उपस्थित हुने उत्कृष्ट ३० वटा पेन्टिङ पाटन संग्रहालयमा प्रदर्शनीमा राखिने कार्यक्रमका सहआयोजक शान्ति विद्या श्रम व्यवस्थापन समितिका अध्यक्ष अजरमान जोशीले बताए। विश्वका ८० वटा मुलुकबाट आएका अन्य पेन्टिङसँगै उत्कृष्ट ३० वटालाई माघ २४ देखि चार दिनसम्म प्रदर्शनीमा राखिने तयारी रहेको छ। पाटन संग्रहालयका अधिकृत सुरेश लाखेले उनको पेन्टिङ प्रदर्शनीमा राख्न चाँजो मिलाउन थालिएको जनाए।
शान्ति विद्या श्रमका संस्थापक सदस्यका रूपमा हालसम्म जोशीले सघाउँदै आएका छन्। कार्यक्रममा शताब्दी पुरुष राष्ट्रिय पुरस्कारबाट लामो समयदेखि आफ्नो कलामार्फत सहयोग पुर्याउने गोविन्दनारायण ज्यापूलगायत सम्मानित भए। यसै वर्षदेखि सुरु गरिएको उक्त पुरस्कारको राशि १० हजार रुपैयाँ रहेको छ। तीन सय कलाकारले उनको आकृति कोरेको आयोजकले जानकारी दिए।
जोशीको सम्मानका लागि आएँ : सभामुख
वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी दोस्रो राष्ट्रिय खुल्ला चित्रकला प्रतियोगिताको समापन कार्यक्रममा नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटा पाटन पुगेका थिए। कार्यक्रममा पहिलो पटक सार्वजनिक भएको बताउँदै उनले जोशीको सम्मानका लागि उपस्थित भएको बताए।
उनले महात्मा गान्धी, महाप्रताप राना, देशभक्तलक्ष्य राई, सुवासचन्द्र बोस, भगतसिंहलाई मुलुकप्रति अतुलनीय योगदान गरेकाले पञ्चतत्वको रूपमा चिनिएको बताए। जोशीलाई पनि त्यस्तै असाधारण योगदान गर्ने व्यक्तिका रूपमा प्रशंसा गरे। सात दिन सात रात व्याख्या गर्दा पनि नसकिने जोशीको ओज र गरिमा अतुलनीय भएको सापकोटाले बताए। ‘संस्कृति’ सबैभन्दा महत्वपूर्ण हुन्छ। संस्कृति बचाउन सकिएन भने देशको रक्षा गर्न सकिँदैन’, सापकोटाले भने, ‘अहिले हाम्रो संस्कृतिमाथि अनेकले प्रत्यक्ष, अप्रत्यक्ष धावा बोलिरहेका छन्’। संस्कृति जोगाउन जोशीजस्ता अतुलनीय व्यक्तिको जति नै सम्मान गरे पनि पर्याप्त नहुने बताए।
प्रतिक्रिया दिनुहोस !