प्रदेशसभाको दोस्रो स्थापना दिवस : ३ मन्त्री र ६० सांसदले गरे ‘बहिष्कार’
![प्रदेशसभाको दोस्रो स्थापना दिवस : ३ मन्त्री र ६० सांसदले गरे ‘बहिष्कार’](https://annapurnapost.prixacdn.net/media/albums/chair_20200204120356_tPt7TsSLYv.jpg)
बुटवल : पाँच नम्बर प्रदेशसभाले दोस्रो स्थापना दिवस मनाएको छ। तर प्रदेशसभाकै करिव ६० सांसदले स्थापना दिवसको मुल समारोहमा सहभागिता जनाएनन्। प्रदेशसभामा ८६ सांसद छन्।
प्रदेशसभाले माघ १८ गतेदेखि स्थापना दिवस मनाउन थालेको हो। स्थापना दिवसमा सदस्यको सहभागिता नै नभएपछि खल्लो भएको छ। स्थापना दिवसको मुल समारोहमा प्रदेश प्रमुख धर्मनाथ यादव प्रमुख अतिथि थिए। मुख्यमन्त्री शंकर पोखरेल, आन्तरिक मामिलामन्त्री कुलप्रसाद केसी, भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री आरती पौडेल सहभागी भए।
भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरी, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लिला गिरी र सामाजिक विकासमन्त्री सुदर्शन बराल स्थापना दिवसमा सहभागी भएनन्।
संसदमा गठन भएका सात संसदीय समितिका सभापतिमध्ये दुई जनामात्रै सहभागी भए। भौतिक पूर्वाधार विकास समितिकी सभापति आशा स्वर्णकारले अखिल नेपाल महिला संघको शपथ कार्यक्रममा रहेकाले स्थापना दिवसमा सहभागी हुन नसकिएको बताइन्।
‘मसहित पाँच सांसद अनेमसंघको शपथमा काठमाडौं छौं, यता आउँदा स्थापना दिवसमा सहभागी हुन सकेनौं’, उनले भनिन्। स्वर्णकारसहित संसदीय मामिला तथा कानुन समिति सभापति दामा शर्मा, सांसद थानकुमारी थापा, सरस्वती गौतम, पार्वती पुन पार्टीको कार्यक्रममा सहभागी भएर स्थापना दिवसमा गएनन्।
कृषि, वन तथा वातावरण समितिका सभापति विजयबहादुर यादवले आफू अस्पताल रहेकाले सहभागी हुन नसकेको बताए। सत्तारुढ दलका अर्का सांसद इन्द्रप्रसाद खरेलले प्रदेश बाहिर रहेकाले सहभागी नभएको बताए। सामाजिक विकासमन्त्री सुदर्शन बराल मंगलबार बिहान मात्रै अस्पतालको एक कक्ष उद्घाटनका लागि गुल्मी गएका छन्। पर्यटनमन्त्री लिला गिरी लुम्बिनीमा आयोजित कार्यक्रममा व्यस्त भए।
लुम्बिनी कै कार्यक्रममा सहभागी भएका मुख्यमन्त्री पोखरेल स्थापना दिवस मुल समरोहको मध्यसमयमा पुगेका थिए। समारोहमा मुख्यमन्त्री पोखरेलले प्रदेशसभाले दुई वर्षको अवधिमा महत्वपूर्ण कार्यभार पूरा गर्दै अग्रता लिन सकेको बताए।
‘छोटो समयमै कानुनी शासनलाई सबल बनाउन सकेका छौं, यो प्रदेशसभाको महत्वपूर्ण काम हो’, उनले भने। प्रदेश निर्माणका लागि सरकार र व्यवथापिका मिलेर अघि बढ्न आवश्यक रहेको उनले बताए। सरकारका कामको निगरानी गर्दै सुशासन कायममा प्रदेशको भूमिका रहिरहनुपर्ने उनको भनाइ छ। प्रदेशसभामा गठन भएका समितिले गरेको निगरानीपूर्ण काम प्रभावकारी भएको भन्दै यसलाई अझ सशक्त बनाउनुपर्ने बताए।
‘प्रदेशसभाको शून्य समय र विशेष समय सही तरिकाले प्रयोग भइराखेका छैनन्, सुरुआती कमजोरी हटाउदै जनताका आवाज मुखारित हुने माध्यम बनाउनुपर्छ’, उनले भने।
सभामुख पूर्णबहादुर घर्तीले प्रदेशसभाले दुई वर्षको अवधिमा ४८ कानुन निर्माण गरेको बताए। जनताका आवाजलाई बुलन्द रुपमा उठाउनका लागि प्रदेशसभाले निरन्तर काम गरिरहेको उनको भनाइ छ।
उपसभामुख कृष्णी थारुले प्रदेशसभाबाट बनेका कानुन कार्यान्वयनमा सकारात्मक पहल गर्ने काम भइरहेको बताइन्। आम नागरिकको आशा र भरोसालाई बचाइराख्न प्रदेशसभाले निरन्तर काम गर्ने उनको भनाइ छ।
नेपाली कांग्रेसका सचेतक निर्मला क्षेत्रीले प्रदेश राजधानी र नामाकरणको विषय छिट्टै टुंगोमा पुराउनुपर्ने बताइन्। ‘पाँचौ अधिवेशनमा यो विषय टुंगोमा पुराउनुपर्छ, त्यसका लागि प्रतिपक्ष दलले सघाउन तयार छ’, उनले भनिन्।
समाजवादी पार्टीका प्रमुख सचेतक सन्तोष पाण्डेले दुई वर्ष बिते पनि राजधानी नतोकिदा जनताले प्रश्न गरिरहेको बताए। ‘०७७ सालभित्रै यी विषय टुंग्याएर जनतालाई काम देखाउनुपर्छ’, उनले भने। उनले प्रदेश र स्थानीय तह तथा संघीय अधिकार सूचीको विषयमा छिट्टै टुंगो लगाउनुपर्ने बताए।
स्थापना दिवसको अवसरमा प्रदेशसभाका पूर्वसचिवहरु सुरेन्द्र अर्याल, डा. मानबहादुर विके र प्रेमप्रसाद भट्टराईलाई सम्मान गरिएको छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)