प्रदेश ५ : प्रदेशसभा बैठक स्थगित
![प्रदेश ५ : प्रदेशसभा बैठक स्थगित](https://annapurnapost.prixacdn.net/media/albums/samsad-pradesh-5_20200206042249_dTrF5M4IK3.jpg)
बुटवल : छलफलका लागि विधेयक नै नभएपछि ५ नम्बर प्रदेशसभा बैठक १५ दिनका लागि स्थगन गरिएको छ। बुधबार बसेको बैठकमा संसद्मा दर्ता भएको एउटा मात्रै विधेयक पेस भएको थियो।
प्रदेशसभाको पाँचौं अधिवेशन माघ ५ मा आह्वान भएको थियो। तीन पटक बसेको बैठकमा कुनै विधेयकमाथि छलफल नै भएन। सरकारले पर्याप्त विधेयक दिन नसकेपछि प्रदेशसभा निरीहजस्तै भएको छ। प्रदेशसभाका सचिव दुर्लभ पुनले विधेयक दर्ता नभए पनि अन्य बिजनेस रहेको बताए। ‘विधेयक दर्ता छैनन् तर प्रदेशसभाले कानुन कार्यान्वयनका विषयमा गर्नुपर्ने थुप्रै काम छन्,’ उनले भने।
बर्खे अधिवेशन सकिएको चार महिनापछि हिउँदे अधिवेशन आह्वान गरिएको थियो। चालु अधिवेशनमा राजधानी र नामकरण विषय टुंगो लगाउने भनिएको छ। तर, अहिलेसम्म प्रस्ताव पेसको तयारी भएको छैन। प्रदेश सरकारले आधा दर्जन विधेयक निर्माण भएको दाबी गरे पनि प्रदेशसभामा दर्ता गरेको छैन।
बुधबारको बैठकमा सांसदहरूले विशेष समयमा समसामयिक विषय उठान गरेका छन्। विशेष समयमा बोल्दै सांसद माला गोतामे सुनारले कोरोना भाइरसबाट बच्नका लागि सीमा क्षेत्रमा स्वास्थ्य सुरक्षा चेकजाँच राख्न आग्रह गरिन्। पर्यटन वर्ष मनाइरहेका बेला मुलुकमा संक्रमण फैलिए सिंगो पर्यटन क्षेत्र धरापमा पर्ने भन्दै सीमा क्षेत्रमा सजगता अपनाउन माग गरिन्।
सांसद सन्तोष पाण्डेले समेत कोरोना भाइरसबाट बच्न सीमा क्षेत्रमा सजगता अपनाउन आग्रह गरे। पाण्डेले ट्रक व्यवसायीले दोहोरो कर तिर्नुपरेको भन्दै त्यसको अन्त्य गर्न माग गरे। यातायात व्यवस्थामा कर तिरेपछि घरेलुमा कर तिर्नुपर्ने प्रावधान हटाउनुपर्ने उनको माग छ।
त्यस्तै, सांसद कल्पना पाण्डेले प्रदेशसभाको स्थापना दिवसमा राजपालाई आसन ग्रहणसमेत नगराइएको भन्दै आपत्ति जनाइन्। अर्का सांसद बाबुराम गौतमले भूमिहीन सुकुमबासी समस्या समाधान गर्न माग गरे। भूमि व्यवस्था मन्त्रालयले सुकुमबासी समस्या समाधान थाल्नुपर्ने उनले बताए। बुधबारको बैठकमा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लीला गिरीले वातावरण व्यवस्थापन सम्बन्धमा व्यवस्था गरेको विधेयक पेस गरेका छन्।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)