भाइरल ज्वरोले २ को मृत्यु
बाजुरा : स्वामीकार्तिक गाउँपालिकामा भाइरल ज्वरोले दुई जनाको मृत्यु भएको छ। सोही गाउँपालिका-१ साप्पाटाको जोरुमा ५५ वर्षीया मिमा कडाराको मंगलबार र ७० वर्षीय दलबहादुर रावलको बुधबार मृत्यु भएको साप्पाटा स्वास्थ्य चौकी इन्चार्ज वृज विकले जानकारी दिए। उनका अनुसार मृतकका घरका पाँच जना बिरामी परेका छन्।
उनले भाइरल ज्वरो प्रभावित क्षेत्रका लागि साप्पाटा स्वास्थ्य चौकीबाट जोरुमा औषधिसहित स्वास्थ्य चौकीको टोली गएको बताए।
स्वामीकार्तिक गाउँपालिका स्वास्थ्य शाखा प्रमुख भक्त कैलाले शाखामा भएको औषधि लगेर स्वास्थ्यकर्मीको टोली पठाइएको बताए। गाउँमा चिसोका कारण रुघाखोकी ज्वरोलगायतका बिरामी बढेका छन्।
गाउँमा अधिकांश मानिस बिरामी परेकाले उपचारका लागि साप्पाटा स्वास्थ्य चौकी इन्चार्ज विकको नेतृत्वमा टोली खटाइएको कैलाले बताए।
साता अघि हिमाली गाउँपालिका-६ धुलाचौरमा बोर्डिङमा तीन जना विद्यार्थीबाट सुरु भएको भाइरल ज्वरोले सो क्षेत्र पूरै प्रभावित बनेको छ। प्रभावित क्षेत्रमा प्रदेश सरकारले प्राविधिकसहित डाक्टरको टोली पठाइसकिएको प्रदेशसभा सदस्य बलदेव रेग्मीले बताए। जिल्ला अस्पताल बाजुरामा कार्यरत डाक्टर राजुराज जैशी नेतृत्वको टोली धुलाचौरमा गइसकेको जिल्ला अस्पताल बाजुराले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !