सात महिनादेखि छैनन् डाक्टर
बाजुरा : बाजुरा ५० हजारभन्दा बढी जनसंख्या भएको कोल्टी क्षेत्रमा सात महिनादेखि चिकित्सक छैनन्। कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रले बुढीनन्दा नगरपालिका, हिमाली, स्वामीकार्तिक खापर र जगन्नाथ गाउँपालिकाका गरी ५० हजारभन्दा बढी जनसंख्याको स्वास्थ्य हेर्छ।
कोल्टी केन्द्रमा एकजना डाक्टरको दरबन्दी छ। कार्यरत डा. गणेश चौधरी साउनमा समायोजन भएर गएपछि सात महिनादेखि कोल्टी डाक्टरविहीन बनेको हो। डाक्टर नभएपछि अहेव र अनमीको भरमा केन्द्र चलेको छ। ‘डाक्टर सरुवा भएर गएको सात महिना भयो, नयाँ आउने कुनै ठेगान छैन’, अहेव सिंहराज गिरीले भने। केन्द्रमा दैनिक एक सयभन्दा बढी बिरामी आउने गरेका छन्।
डाक्टर नहँुदा बिरामीलाई समस्या भएको गिरीले बताए। ‘बिरामीको चाप थेगी नसक्नु छ, औषधि पु¥याउनै सकिँदैन। समायोजन भएर स्वास्थ्यकर्मी गए, आउनेको टुंगो छैन’, निमित्त प्रमुखको जिम्मेवारी पाएका उनले भने।
‘पोष्टमार्टमका लागि घर छैन, खुला ठाउँमा गर्नु परेको छ’, उनले थपे, ‘केन्द्रमा डाक्टर छैनन्, विष सेवन वा दुर्घटनाका मृतक आए खुला ठाउँमा लास राख्नु परेको छ।’ चार दिनपछि जिल्ला अस्पतालबाट डाक्टर आएर पोष्टमाटम गरेको घटना पनि उनले सुनाए।
प्राथमिक स्वास्थ्य केन्द्रमा अरू स्वास्थ्यकर्मी पनि दरबन्दीअनुसार छैनन्। तीनजना अनमीमध्ये दुई मात्र कार्यरत छन्। स्वास्थ्य केन्द्रमा चिकित्सक नहुँदा उपचारका लागि महँगो हवाई भाडा तिरेर नेपालगञ्ज जानुपरेको बुढीन्नदा नगरपालिका १ का वडाध्यक्ष नृपराज खत्रीले बताए।
पाँचजना सुत्केरीको हेलिकप्टरबाट उद्धार
बाजुराको पूर्वी उत्तरी क्षेत्रका चार स्थानीय तहबाट दुई वर्षमा पाँच सुत्केरीको हेलिकप्टरबाट उद्धार गरिएको छ। शुक्रबार मात्र उच्च रक्त श्रावका कारण स्वामीकार्तिक खापर गाउँपालिका २ फ्याल गाउँकी गीता विक र जगन्नाथ गाउँपालिका ५ बेहरडाँडा गाउँकी २१ वर्षीया सिर्जना सार्कीको एकै दिन उद्धार गरिएकोे जिल्ला अस्पताल बाजुराका प्रमुख डा. रूपचन्द्र विश्वकर्माले बताए।
साप्पाटा फ्याल गाउँकी गीताले घरमै बच्चा जन्माएपछि उच्च रक्तचाप भएका कारण हेलिकप्टरमार्फत नेपालगन्ज उपचारका लागि लगिएको उनले बताए। यसैगरि गोत्रीकी सिर्जनाको पनि हेलिकप्टरबाट उद्धार गरिएको छ। योभन्दा पहिले तीन सुत्केरीको पनि हेलिकप्टरमार्फत उद्धार गरिएको हो। दुईजना बुढीनन्दा नगरपालिका र एकजना खापरबाट उद्धार गरिएको हो।
प्रतिक्रिया दिनुहोस !