आँखा मिच्दै स्कुल

आँखा मिच्दै स्कुल

काठमाडौं : कुलेश्वरका निश्चल मानन्धर धापाखेलस्थित जेम्स स्कुलमा कक्षा ३ मा पढ्छन्। उनलाई लिन हरेक दिन बिहान साढे ७ बजे नै स्कुल बस कुलेश्वर आइपुग्छ। बस आउनुअघि नै तयारी गर्नुपर्ने भएकाले उनलाई सधैं सबेरै उठ्नुपर्छ। पढाइको नाममा एकाबिहानै चिसोको समेत प्रवाह नगरी स्कुल जानुपर्दा मानन्धरलाई साह्रै नमज्जा लाग्छ।

भन्छन्, ‘पढाइ राम्रो हुन्छ भनेर आमाबाबुले जेम्समै भर्ना गरिदिनुभयो। तर समय मिलाउन निकै गाह्रो भएको छ।’ स्कुल टाढा भएकै कारण उनी बेलुका घर आइपुग्दा पनि ६ बज्छ। स्कुल आउन र जानकै लागि घण्टौ समय खेर फाल्नु परेका कारण उनले पढाइमा पर्याप्त समय दिन सकेका छैनन्।

मानन्धरले जस्तै पीडा अहिले राजधानीमा निजी स्कुलमा पढिरहेका अधिकांश बालबालिकाले बेहोरिरहेका छन्। स्तरीय पढाइको आसमा उनीहरू भोक र निद्राको समय वास्ता नगरी घण्टौं समय लगाएर टाढाटाढाको स्कुलमा पढ्न जाने गरेका छन्। यसरी स्कुल जानुपर्दा उनीहरूको समय मात्र बर्बाद भएको छैन, खानाको तालिका नमिल्दा स्वास्थ्यमा समेत असर पर्ने गरेको छ। निद्राले नछोडे पनि जबर्जस्ती उठेर स्कुल जानुपर्दा कतिपय बालबालिकामा पढाइप्रति नै वितृष्णा जाग्न थालेको छ।

सरकारले स्कुले विद्यार्थीलाई बिहान ९ बजे भित्र स्कुल छिरिसक्नुपर्ने उर्दी जारी गरेका कारण झन् उनीहरूलाई थप कष्ट भएको छ। कार्यालय समयमा सवारी जाम हुने भन्दै सरकारले आउने शैक्षिक सत्रदेखि बिहान ९ बजेभित्र विद्यार्थी बोक्ने बस स्कुल छिरिसक्नुपर्ने निर्णय गरिसकेको छ। अहिले पनि सवारी जाम हुने त्रासकै कारण अधिकांश स्कुलले बिहान १० नबज्दै विद्यार्थीलाई स्कुल छिराउने गरेका छन्। जसका कारण विद्यार्थीलाई निद्राबाट ब्युँझिनेबित्तिकै स्कुल जानुपर्ने चटारोले सताउने गरेको छ।

स्तरीय शिक्षाको नाममा विद्यार्थीलाई टाढाटाढाको विद्यालयमा भर्ना गर्दा हुन सक्ने मानसिक तनावप्रति अभिभावक भने बेखबरजस्तै छन्। शिक्षाविद् प्राध्यापक डा. विद्यानाथ कोइराला सिकाइ स्तर सुधार्छु भन्ने नाममा अभिभावकले नानी बाबुमाथि ठूलो अन्याय गरिरहेका धारणा राख्छन्।

पढाउने नाममा साना केटाकेटीको मानवअधिकारसमेत बाबुआमाबाट हनन् भइरहेको उनको आरोप छ। ‘त्यो साना केटाकेटीको के दोष छ र बिहान आँखा मिच्दै खाली पेटमा स्कुल दौडाउनुपर्ने ? ’ कोइराला भन्छन्, ‘सचेत अभिभावक हुन्थे भने पढाइको नाममा छोराछोरीलाई यति धेरै तनाव दिँदैनथे। अहिले पढाउनेभन्दा पनि अरूको देखासिकी गर्ने प्रवृत्तिले कलिला उमेरका नानी बाबुमाथि अन्याय भइरहेको छ।’

आमाबाबुलाई मन परेको स्कुलमा छोराछोरी पढाउने इच्छा छ। तर स्कुल टाढा छ भने स्कुल भएकै क्षेत्रमा बसाइ सर्ने चलन विकसित मुलुकमा छ। नेपालमा भने यस्तो अभ्यास नभएको राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसियसन नेपाल (एन प्याब्सन) का अध्यक्ष ऋतुराज सापकोटा बताउँछन्। ‘हामीकहाँ केटाकेटीको पढाइभन्दा आमाबाबुको बसाइ महŒवपूर्ण छ। यसले घुमाउँरो शैलीमा बालबालिकालाई असर पुर्‍याइरहेको हुन्छ’, पुरानो बानेश्वरस्थित अंंकुर विद्या श्रम स्कुलका सञ्चालकसमेत रहेका सापकोटा भन्छन्।

विद्यार्थीलाई महँगो र घरभन्दा धेरै परको स्कुलमा पढाउँदैमा उनीहरूको सिकाइ स्तर राम्रो हुन्छ भन्ने गलत बुझाइका कारण बालबालिकामाथि अन्याय भएको सापकोटाको बुझाइ छ।

२०६९ सालमा तत्कालीन शिक्षा विभागले जारी गरेको संस्थागत विद्यालय सञ्चालनसम्बन्धी निर्देशिका अनुसार निजी विद्यालयले १ कक्षादेखि ५ कक्षासम्म पढ्ने विद्यार्थीलाई ६ किलोमिटरभन्दा परबाट ल्याउन बन्देज लगाएको छ। यस हिसाबले भन्ने हो भने ५ कक्षासम्मका विद्यार्थी बोक्न आवात्जावात गरेर १२ किलोमिटरभन्दा बढी समय सवारीमा राख्न मिल्दैन। त्यस्तै ६ कक्षाभन्दा माथिका विद्यार्थी बोक्न स्कुल रहेको ठाउँबाट नौ किलोमिटरभन्दा टाढा बस लैजान पाइँदैन। यसरी हिसाब गर्दा कक्षा ६ देखि १० सम्मका विद्यार्थीलाई दुईतर्फी गरेर १८ किलोमिटरभन्दा बढी समय बसमा गुडाउन पाइँदैन।

विद्यार्थीलाई पढाइको नाममा घरभन्दा धेरै परको विद्यालयमा भर्ना गर्न खोज्ने अभिभावकको प्रवृत्तिलाई न्यूनीकरण गर्न र विद्यार्थी पाएमा जहाँ पनि पुग्ने विद्यालय सञ्चालकको गतिविधिलाई रोक्न विभागले यस्तो नियम बनाएको थियो।

तर यो नियम अहिले कागजमा मात्रै सीमित छ। अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारी नियम लागू नभएकै कारण पढाइको नाममा बूढानीलकण्ठका विद्यार्थीलाई हात्तीवन र हात्तीवनका विद्यार्थीलाई बूढानीलकण्ठसम्म पुर्‍याउने गरिएको बताउँछन्।

विद्यार्थीलाई मानसिक तनाव कम गराउनैका लागि त्यतिखेर यो नियम बनाइएको निर्देशिका निर्माण कार्यदलका सदस्यसमेत रहेका भण्डारी सम्झन्छन्।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.