खप्तड गोल्डकप : कञ्चनजंघाको जित
धनगढी : सुदूरपश्चिम अन्तर्राष्ट्रिय आमन्त्रण खप्तड गोल्डकपको चौथो संस्करण धनगढीमा सुरु भएको छ । सुदूरपश्चिम– ११ स्पोर्ट्स क्लबको आयोजनामा प्रतियोगिता धनगढी रंगशालामा सुरु भएको हो । प्रतियोगिताको उद्घाटन सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले गरेका थिए ।
प्रतियोगिताको उद्घाटन खेलमा भारतको कञ्चनजंघा फुटबल क्लब विजयी भएको छ । धनगढी रंगशालामा भएको खेलमा बागमती युवा क्लब सिरहालाई टाइब्रेकरमा ४–२ गोलले हराउँदै कञ्चनजंघा क्वार्टरफाइनलमा प्रवेश गरेको हो ।
निर्धारित समयसम्म दुवै टोलीले गोलरहित बराबरी खेलेपछि खेलको निर्णय टाइब्रेकरबाट गरिएको थियो । कञ्चनजंघालाई जिताउन गोलरक्षक निगम सिंह नायक बने । उनले बागमतीका विपिन तुमसिङ मगर र अनिल मगरको प्रहारलाई रोकेका थिए । यसअघिको दुवै हाफमा कञ्चनजंघाले अधिकांश समय बल आफ्नो पोल्टामा राखे पनि गोल गर्न नसकेपछि टाइब्रेकरबाट छिनोफानो गरिएको थियोे ।
खेलमा कञ्चनजंघाका निगम सिंह म्यान अफ दी म्याच भए । उनले नगद १० हजार पाए । पहिलो खेलमा जित हात पारेको कञ्चनजंघाले अब सेमिफाइनल प्रवेशका लागि आयोजक सुदूरपश्चिम–११ सँग प्रतिस्पर्धा गर्नेछ ।
प्रतियोगिताअन्तर्गत शनिबार एपीएफ र न्युरोड टिम एनआरटीबीच प्रतिस्पर्धा हुने आयोजक क्लबका महासचिव प्रकाश शाहीले जानकारी दिए ।
फागुन २० गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले २१ लाख र उपविजेताले १० लाख रुपैयाँ पुरस्कार पाउनेछन् । धनगढी रगशालामा हुने प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई मोटरसाइकल र विभिन्न विधाका उत्कृष्ट खेलाडीले जनही १५ हजार नगद पुरस्कार पाउनेछन् ।