चिसोले रित्तियो गाउँ
मुगु : जिल्लाको पूर्वी भेगमा पर्ने कार्मारोङ गाउँपालिका १ बाग्री गाउँका स्थानीयवासी चिसोका कारण मुगुबाट जुम्लाका विभिन्न ठाउँमा बसाइँ सरेर गएपछि गाउँ नै रित्तिएको छ। बाग्री गाउँमा दिनको तीन घण्टा पनि घाम नलाग्दा अत्यधिक चिसो बढेपछि यहाँका स्थानीय बसाइँ सरेर जुम्ला गएका हुन्।
चिसोका कारण देखाउँदै १५ वर्षदेखि स्थानीय गाउँ छाड्दै जुम्लाका विभिन्न ठाउँमा बसाइँ सर्न थालेका छन्। कार्मारोङ गाउँपालिका १ मा तीनवटा बस्ती छन्। जसमा चिताई र डोल्पुमा स्थानीयवासी बसोबास गर्छन्। तर बाग्री गाउँवासी घर छोड्दै जान थालेका छन्। यस गाउँमा ७५ घरधुरी छन्। उनीहरू वर्षमा तीन महिना चैत्र, वैशाख र जेठमा मात्र राम्रोसँग घाम ताप्न पाउँछन्।
हिउँदे सिजनमा गाउँमा राम्रोसँग घाम नलाग्दा चिसोले असर पार्न थालेपछि जुम्लाको चौधविष क्षेत्रमा बसाइँ सर्ने गरेको स्थानीय कार्मा लामाले बताए। उनका अनुसार पशु चौपायासहित स्थानीय बसाइँ सर्न थालेका हुन्। गाउँमा पशुपालन गर्नसमेत सकस भएपछि घर छोड्न बाध्य भएको उनको भनाइ छ। बाग्री गाउँमा भिरालो जमिन भएकाले आलु र फापरबाहेक अन्य खाद्यान्न उत्पादनसमेत हुँदैन। स्थानीय उर्गिन तामाङले जाडो छल्नकै लागि घर छोड्न थालेका गाउँले बसाइँ सरेर जुम्लामै बस्न थालेको बताए। उनका अनुसार २०६० सालबाट एक, दुई घरधुरी गर्दै बसाइँ सर्न थालेका स्थानीयले अहिले गाउँ नै रित्तो पारेका छन्।
बाग्री गाउँ जिल्ला सदरमुकाम गमगढीदेखि दुई दिन पैदल यात्रामा पुगिन्छ। स्थानीय बसाइँ सर्न थालेपछि गाउँमा रहेको खेतीयोग्य जमिन पनि बाँझिँदै गएको छ भने घरहरू भत्किँदै गएका छन्। यहाँका स्थानीय जडिबुटी संकलन गर्ने समयमा मात्रै गाउँ फिर्ता हुने गरेको मुगुम कार्मारोङ गाँउपालिका १ का वडाध्यक्ष सोनामबाग्री तामाङले बताए।
प्रतिक्रिया दिनुहोस !