कांग्रेस र कम्युनिस्टले बनाए छुट्टाछुट्टै सडक
बाजुरा : जिल्लाको त्रिबेणी नगरपालिकामा ६ मन्धारा गाउँ जाने एउटै सडक छ।उक्त सडक पार्टीअनुसार खण्ड-खण्ड निर्माण भइरहेको छ।त्रिबेणी नगरपालिका ५ किम्नी जाने र वडा नम्बर ६ पन्धारा गाउँ जोड्ने सडक नेकपा र कांग्रेस सम्वद्धले निर्माण गरिरहेका छन्।
स्थानीयले पार्टीपिच्छे बनाइएका सडकको नामांकरण गरेका छन्।कांग्रेस सडक र नेकपा सडक।त्रिवेणी नगरपालिकाको लगानीमा कांग्रेस सम्वद्ध पक्ष र प्रदेश सरकारबाट आएको योजनामा नेकपा सम्बद्धले सडक निर्माण गरिरहेका छन्।
किम्नी गाउँ जाने त्रिवेणी ४ ढोग दिनेबाट नेकपा सर्मथकले निर्माण गरिरहेका छन्। जसको नेतृत्व जंगबहादुर बुढाले लिएका छन्।उक्त सडक निर्माणमा प्रदेश सरकारको बजेट रहेको नेपाल कम्युनिस्ट पार्टी बाजुरा सचिब भरत बुढाले बताए ।
त्यस्तै, त्रिबेणी ४ तोली देबलडाँडाबाट कांग्रेस सर्मथकले सडक निर्माण गरिरहेका छन्। उक्त सडकको उपभोक्ता समितिका अध्यक्ष दानबहादुर साउद कांग्रेस सर्मथक रहेको त्रिवेणी नगरपालिका प्रवक्ता तथा नेपाली कांग्रेसका नेता मीन भण्डारीले बताए।
फरकफरक ठाउँबाट सडक निर्माण भइरहेको भएपनि दुबै सडक किम्नी गाउँलाई लक्षित गरी निमार्ण गर्न लागेको स्थानीय गणेश साउदले बताए। ढोग दिनेबाट जाने सडकका लागि आर्थिक वर्ष ०७५/०७६ मा ५५ लाख रकम बिनियोजन भएको थियो । प्रदेशबाट नेकपाको पहलमा भएको भन्दै नेकपा सर्मथकले सडक खन्न सुरु गरेका हुन् ।त्रिबेणी नगरपालिकामा कांग्रेसले जितेको छ, नगरपालिकाले पनि आर्थिक वर्ष ०७५/०७६ मा २० लाख रकम छुट्याएर तोली देबलडाँडाबाट सडक निर्माण सुरु गरेको छ ।यो आर्थिक वर्षमा ४० लाख बिनियोजन गरेको नगरपालिकाले बताएको छ। 
त्रिबेणी नगरपालिका ५ किम्नी जाने सडक।यो सडक नेकपा समर्थकले सुदूरपश्चिम सरकारको लगानीमा निर्माण भइहेको छ। तस्बिर : पदमबहादुर सिंह
त्यस्तै, नगरपालिका ६ पन्धारामा जाने सडक पनि नेकपा र कांग्रेसले छुट्टाछुट्टै निर्माण गरिहेका छन्। दुबैले मेल चौडाबाट सुरु गरेका छन्।दुबै सडकको तल माथिको दूरी २ सय मिटरको फरक पनि छैन्।यहाँ पनि नेकपा सर्मथकबाट सुरु भएको सडक सुदूरपश्चिम प्रदेश सरकारबाट बजेट बिनियोजन भएको हो।
कांग्रेस समर्थकबाट सुरु भएको सडक नगरपालिकाबाट बिनियोजन भएको स्थानीयले बताए।कांग्रेस सर्मथकले सुरु गरेको सडकको नेतृत्व बाले बुढाले लिएका छन् भने नेकपा सर्मथकबाट सुरु भएको सडकको अध्यक्ष नरेन्द्र बुढाले गरिरहेका छन्।
गाउँ एउटै छ।पार्टीपिच्छे सडक निर्माणले गाउँमा द्वन्द्व बढाएको छ।सडक निर्माणको काममा पनि आस्थाअनुसार जाने गरेको स्थानीय शेरबहादुर शाहीले बताए। यसले गाउँमा द्वन्द्व ल्याएको स्थानीय बताउँछन्।नेकपा बाजुराका पार्टी सचिव भरत बुढा र नेपाली कांग्रेस जिल्ला कार्यसमिति बाजुराका सचिब रनसिङ अयडी दुवैजना त्रिबेणी नगरपालिका स्थानीय हुन्।
भरत बुढाले त्रिबेणी नगरपालिका र कांग्रेस सर्मथकले गाउँमा द्वन्द्व निम्त्याएको आरोप लगाए।प्रदेशका योजनामा नगरपालिकाले सिफारिस नदिएर विभेद गरिरहेको उनको आरोप छ।
त्यस्तै, नेपाली कांग्रेस जिल्ला कार्यसमिति बाजुराका सचिब रनसिङ्ग अयडीले द्वन्द्व बढ्नुमा नेकपा मुख्य कारण भएको बताए प्रदेशबाट आउने योजनामा कमिसनको खेल हुने र यसमा नेकपाका साथीको संलग्नता रहेको उनको दावी छ।
प्रतिक्रिया दिनुहोस !