सरकार परिवर्तन भए देशमा अराजकता र अशान्ति फैलिन्छ : कमल थापा
जनकपुरधाम : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापाले सरकार परिवर्तन भए देशमा अराजकता र अशान्ति फैलिने बताएका छन्। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रै सरकार ढाल्न चलखेल भइरहेको भन्दै उनले यस्तो बताएका हुन्।
‘नेकपाको पूर्णबहुमतको सरकार हटाउने कुनै शक्ति छैन, तर नेकपाबाटै षड्यन्त्र भइरहेको छ’, अध्यक्ष थापाले भने, ‘अहिलेको सरकार परिवर्तन भए देशमा अस्थिरता, अराजकता र अशान्ति फैलिन्छ।’
पार्टी प्रदेश–२ कोे निर्वाचन अभिमुखीकरण कार्यक्रममा पत्रकारसँग कुरा गर्दै थापाले यस्तो बताएका हुन्। उनले विगतमा सरकार परिवर्तनको अनुभव जनताले पटक–पटक गरिसकेकोले जनता सरकार परिवर्तनको पक्षमा नरहेको दाबी गरे।
सरकारको सन्दर्भमा लचक बनेका अध्यक्ष थापा संविधानलाई मधेसी जनताको माग र नेपाललाई राजसंस्थासहितको हिन्दु राष्ट्र कायम गर्न माग गरे। उनले भने, ‘विश्वमै हिन्दु भनेर चिनाउने देशको हिन्दु राष्ट्रको पहिचान समाप्त भएको छ, समाजिक सद्भाव खलबलिएको छ, पूर्ण धार्मिक स्वतन्त्रता सहितको राष्ट्र उपेक्षाको परिणाम स्वरुप लोभलालच दिएर धर्म परिवर्तन गराइदैछ।’
संविधान संशोधन गरेर राष्ट्रियसभाको सदस्यसमेत प्रधानमन्त्री हुन पाउने व्यवस्थाको चर्चा गर्नु ‘काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर जस्तै’ हुने उनको भनाइ छ। संघीय सरकार वा प्रदेश सरकार विस्थापित गर्ने यो समय उपयुक्त नभएको तर्क गर्दै थापाले देशमा शान्ति, स्थायित्व र समृद्धिको आशा जनतामा भए पनि सरकारले सकारात्मक परिवर्तनको अनुभूति दिलाउन नसकेको आरोप लगाए।