गाउँ नै गाजरखेतीमा
चितवन : श्रीपुरका रामहरि अधिकारी तरकारीखेती गर्थे। एक टोकरी गोलभेंडा बिक्री गर्दा ४५ रुपैयाँ आउँथ्यो। त्यो बेला एक किलो गाजर पनि त्यति नै मूल्यमा बिक्री हुन्थ्यो। यो देखेपछि उनी गाजरखेतीतर्फ आकर्षित भए। अनि सुरु गरे गाजरखेती। कुरो १८ वर्ष अघिको हो। जतिबेला उनले १० ग्राम बिउबाट गाजरखेती सुरु गरेका थिए। त्यसबाट उनले एक हजार रुपैयाँ आम्दानी गरे। त्यहीँबाट सुरु भएको गाजरखेतीले अहिले गाउँ नै ढाकिएको छ।
अधिकारीलाई गाजरखेतीको अभियन्ताका रूपमा चिनिन्छ। ‘हामीले लगेको टोकरीभरिको गोलभेंडाको मूल्यभन्दा एक किलो गाजरको मूल्य बढी देखेपछि हाम्रो माटोमा हुन्छ कि हुँदैन भनेर थोरै लगाएँ’, उनले भने, ‘अहिले वरिपरिका गाउँमा सबै गाजरखेती परम्परा जस्तै बनेको छ।’
भरतपुर महानगरपालिका–१५ फूलबारीमा यतिबेला गाजर बिक्री गर्न चटारो छ। प्रत्येकको घर-आगनमा गाजरको थुप्रो छ। हरेकको खेतमा गाजर उखल्नेदेखि पखाल्नेसम्मका कामदार देखिन्छन्। एक परिवारले पाँच कठ्ठादेखि २० बिघासम्ममा गाजर लगाएका छन्। हरेक घरमा ढुड बनाइएको हुन्छ। बारीबाट ल्याएको गाजर पखालेर बिक्रीका लागि पठाइन्छ। १८ वर्षअघि अधिकारीले सुरु गरेको गाजरखेती अहिले गाउँकै आम्दानीको स्रोत बनेको छ। ‘रोग किरा लाग्दैन, विषादी छर्न नपरेपछि गावैं स्वस्थ हुने भयो’, अधिकारीले भने ‘आयस्रोत बढेपछि सबैले छोराछोरी बोर्डिङ पढाउँछन्, खरका छाना भएकाको जस्ता र जस्ता हुनेले ढलान घर बनाएका छन्।’
माटो चिसो हुने कारणले सिँचाइ आवश्यक हुँदैन। गाजरबाहेक अन्य समयमा धान र मकै लगाउँछन्। यी खेतीको तुलनामा गाजरले मनग्य आम्दानी दिन्छ। यसवर्ष भाउ राम्रो भएका कारण किसान हर्षित छन्। फूलबारीकै उषा ढकालले यस वर्ष १० बिघाबाट ४० लाखको कारोबार हुने अपेक्षा गरेकी छन्। त्यसबाट १५ लाख बचत हुने अुमान उनको छ। ‘धान र मकैबाटभन्दा गाजरखेतीले बढी आम्दानी दिन्छ’, ढकालले भनिन्, ‘खेतीबाट हुने आम्दानीले दुःख बिर्साउँछ।’
उनले लगाएको देखेपछि उनका साथीले पनि सिको गरे। दुई कठ्ठाबाट सुरु गरेका फूलबारीका श्रीकृष्ण देवकोटाले अहिले १३ बिघामा गाजरखेती गरेका छन्। करिब ५० लाखको बिक्री गर्छन्। परिवारसँग बसेर गरिने नगदेबालीबाट उनी सन्तुष्ट छन्।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनालेफूलबारीलाई गाजरखेतीको पकेट क्षेत्र घोषणा गरेको छ। असोजमा सुरु गरेको खेतीबाट वैशाखको पहिलो हप्तासम्म बिक्री हुन्छ। गाजर भण्डार गर्ने व्यवस्था छैन। थौरैले लगाउँदा बजारको समस्या थियो। व्यापारी नआउने हुँदा साइकलमा बोकेर लान्थे। अहिले घरैबाट गाजर बिक्री हुन्छ।
पmूलबारीमा मात्रै १० क्विन्टल बिउ लगाउँछन्। एक क्विन्टल बिउको २१ हजार रुपैयाँ पर्छ। एक क्विन्टल बिउबाट २५ बिघामा खेती हुन्छ। श्रीपुर, विष्णुपुर, गोपालगञ्ज, इन्द्रपुरी, पारसनगर, गीतानगर, राधापुर, गणेशगञ्जमा गाजरखेती हुन्छ। करिब ३ सय बिघामा गरिएको गाजरखेतीबाट जिल्लामा साढे १२ करोडको कारोबार हुन्छ। यहाँ उत्पादित गाजर पोखरा, काठमाडौं, दाङ, सुर्खेत, गोलबजार, वीरगन्जमा बिक्री हुन्छ। वीरगन्जबाट ठेलामार्फत थोरै मात्रामा भारतीय बजारमा समेत पुग्छ।