भीम र रोजिना बने खिजीदेम्वा अल्ट्रा म्याराथुनको विजेता
ओखलढुंगा : धावक भीमबहादुर गुरुङ र रोजिना भण्डारीले दोस्रो खिजीदेम्वा अल्ट्रा म्याराथुनको उपाधी जितेका छन् । गुरुङले पुरुषतर्फ र भण्डारीले महिलातर्फको उपाधी जितेका हुन् ।
खिजिदेम्बा गाउँपालिका ५ को खिजिफलाँटेबाट सुरु भएको म्याराथुन सोलुखुम्बुको सिमानामा पर्ने भुलभुले पुगेर पुनः खिजिफलाँटेमै पुगेर टुंगिएको हो । म्याराथन दौडअन्तर्गत ४२ किलोमिटर दूरीमा पुरुष विधातर्फ गोरखा आरुघाटका ३७ वर्षीय भीमबहादुर गुरुङले तीन घण्ट ४९ मिनेटमा पूरा गरेका थिए ।
त्यस्तै महिला विधामा जुम्लाकी रोजिना भण्डारीले चार घण्टा ५८ मिनेटमा दौड पूरा गर्दै विजेता बनेकी हुन् । रोजिना नेपाली सेनाकी धाविका हुन् । पूर्व नेपाली सेनाका भीमबहादुर अघिल्लो वर्षको पिकेदेम्वा हाफ म्याराथनका विजेता हुन् ।
त्यसैगरी पुरुष विधातर्फ गोपाल तामाङले ४ घण्टा तीन मिनेटमा निर्धारित दूरी पार गर्दै उपविजेता बने भने दुर्गा बुढाले चार घण्टा पाँच मिनेटमा निर्धारित दूरी पार गर्दै तेश्रो बने ।
महिला तर्फ यस अघि पिके-देम्वा आफ म्याराथुनका विजेता हुमी बुढामगरले पाँच घण्टा १८ मिनेटमा दौड पूरा गर्दै उप विजेतामा चित्त बुझाइन् । स्थानीय धाविका सविना तामाङले पाँच घण्टा ३२ मिनेटमा दौड पूरा गर्दै तेश्रो स्थान हासिल गरेकी छन् । म्याराथुनमा पुरुषतर्फ २४ र महिला १२ गरी जम्मा ३५ जना सहभागी थिए ।
साहसिक खेलकुदका माध्यमबाट जिल्लाको पर्यटन विकासका लागि ओखलढुंगा पर्यटन विकास समितिले गत वर्षदेखि म्याराथुन आयोजना गरिएको संयोजक ङवाङ ङिमा शेर्पाले जानकारी दिए । विजेताले विधागत रुपमा क्रमशः ७० हजार, ५५ हजार, ४० हजार, ६ हजार र ४ हजार नगद पुरस्कार प्राप्त गरेका छन् ।
समुन्द्री सतहदेखि दुई हजार दुई सय मिटर उचाइबाट दौड सुरु भइ ३ हजार ६ सय मिटर दूरी पार गर्दै पुनः २ हजार २ सय मिटरमै आएर दौड टुंगिएको हो । विजेतालाई सोमबार प्रतिनिभिसभाका सांसद यज्ञराज सुनुवारले पुरस्कार वितरण गरे ।
प्रतिक्रिया दिनुहोस !