आइडलको सेटमा सुर, ताल र सुन्दरी

आइडलको सेटमा सुर, ताल र सुन्दरी

-सुमित सुवेदी

सोमबार नेपाल आइडलको सुटिङ अन्य दिनको भन्दा विशेष थियो। काठमाडौँ, थापाथलीमा रहेको आइडलको सेटको गेटबाहिर बाइकको लामो लस्कर देख्न सकिन्थ्यो। कार्यक्रम हेर्न आउनेको संख्या बाक्लो थियो। त्यस दिनको एपिसोड विशेष रहनुको कारण थियो, सोमा आउने अतिथि। ‘मिस नेपाल २०१९’ अनुष्का श्रेष्ठ र ‘मिस सुप्रानेसनल २०१९’ रोज लामा।

आफूलाई मन पर्ने सहभागीको प्रस्तुति हेर्न दर्शक उत्साहित थिए। उनीहरूलाई प्रत्यक्ष रूपमा हेर्न आतुर थिए। ‘आज फलानो प्रतियोगी इलिमिनेसनमा पर्छ’ भनेर अड्कलबाजी चलिरहेको थियो। कोही भनिरहेका थिए, ‘फलानो आजको पर्फर्मर अफ द डे हुन्छ।’ स्टेजमा भने लाइटिङको काम हुँदै थियो। वाद्यवादक आ–आफ्ना वादन परीक्षण गरिरहेका थिए। माइकमा आवाज परीक्षण भइरहेको थियो। केही क्षणमै कार्यक्रम कक्षमा लाइट जगमगाउन थाल्यो र सुमधुर धुन बज्न थाल्यो।

निर्णायकहरू न्ह्यू वज्राचार्य, कालीप्रसाद बाँस्कोटा र इन्दिरा जोशी कार्यक्रम कक्षमा भित्रिएपछि माहौल तात्न थाल्यो। दर्शकले जोडदार ताली बजाएर उनीहरूको स्वागत गरे। यतिबेलासम्म प्रतियोगी पनि स्टेजमा बसिसकेका थिए। आइडलका निर्देशक सुरेश पौडेलले ‘रोल, क्यामरा, एक्सन’ भनेपछि कार्यक्रम सुरु भयो। कार्यक्रमका होस्ट आसिफ शाह र माम्पी घोष स्टेजमा देखिए।

०००

कार्यक्रम प्रस्तोतासँगै स्टेजमा ओर्लिए, अनुष्का श्रेष्ठ र रोज लामा। स्टेजमा सुन्दरीहरूलाई देखेपछि निर्णायक न्ह्यू वज्राचार्यले मन थाम्न सकेनन्। सुन्दरीहरूको प्रशंसा गर्दै उनले भने, ‘सोमा सुर, ताल मात्र थियो। तपाईंहरूको आगमनसँगै सुन्दरता पनि थपिएको छ।’ अनुष्का र रोजले अन्तर्राष्ट्रिय स्तरमा देशको गौरव बढाएको भन्दै इन्दिराले उनीहरूको तारिफ गरिन्। सुन्दरीहरूको प्रशंसा गर्ने मौका कालीप्रसादले पनि गुमाएनन्। उनले सुन्दरीहरूका कारण सोको शोभा बढेको बताए। सोमा प्रतियोगीसँगै बसे अनुष्का र रोज।

स्टेजमा दुई सुन्दरीलाई देखेपछि निर्णायक न्ह्यू वज्राचार्यले भने, ‘सोमा सुर, ताल मात्र थियो। तपाईंहरूको आगमनसँगै सुन्दरता पनि थपिएको छ।’

पहिलो प्रस्तुति दिन स्टेजमा आए, नेसन पुनमगर। उनले ‘तिमी हाँसे हाँसिदिउँला, रोए रोइदिउँला’ बोलको गीत गाएका थिए। उनलाई दर्शकले खूब साथ दिए। उनलाई हौसला प्रदान गरिरहे। उनको प्रस्तुतिपछि कमेन्ट गर्दै इन्दिराले गीत सुनेर र पर्फर्मेन्स हेरेर मज्जा आएको बताइन्। कालीप्रसादलाई पनि नेसनको प्रस्तुति मन पर्‍यो। ‘यो तपाईंको कम्फर्ट जोनको गीत होइन,’ कमेन्ट गर्दै उनले भने, ‘तर, सुनेर धेरै मज्जा आयो।’ न्ह्यूले भने केही फरक प्रतिक्रिया दिए। ‘आज तिम्रो गायकीको नोटमा त्यति स्पष्टता थिएन,’ उनले भने, ‘जजमेन्ट गर्ने दिन नभएकाले यसले खासै प्रभाव पार्दैन। मनोरञ्जन दिनुपर्ने हो, दियौ। रमाइलो भयो।’ पाहुनाका रूपमा मञ्चमा उपस्थित अनुष्का र रोजले पनि नेसनको गायनको तारिफ गरे।

०००

सोमा दोस्रो प्रस्तुतिका रूपमा मेघा श्रेष्ठलाई निम्त्याइयो। उनले ‘सुन्दरताको तिमी एउटा नमुना हौ’ गीत गाइन्। आफ्नो गीत पाहुनालाई डेडिकेट गरेको उनले बताएकी थिइन्। मेघालाई समर्थन गर्न उनका हजुरबुबा सोमा आएका थिए। हातमा नातिनीको पोस्टर लिएर उनी भोटको अपिलसमेत गरिरहेका थिए। मेघाको प्रस्तुतिपश्चात् इन्दिराले आफूले इन्जोय गरेको बताइन्। ‘दिन प्रतिदिन तपाईंको प्रस्तुति परिपक्व हुँदै गइरहेको छ,’ उनले भनेकी थिइन्, ‘गीतमा डुबेर गाउनुभयो, निकै मन पर्‍यो।’ न्ह्यूले पनि मेघाको गायनको प्रशंसा गरेका थिए। ‘प्रतिस्पर्धाको चिन्ता नलिईकन गाइरहेकी छौ,’ न्ह्यूले भने, ‘यसरी नै गाउनुपर्छ। मञ्जा लाग्यो।’ कालीप्रसादले पनि मेघालाई दुई निर्णायकजस्तै कमेन्ट गरे।

अनुष्काले मेघाको तारिफ गर्दै भनिन्, ‘तपाईंका गीत सुनेर आङै सिरिङ भयो। प्रस्तुति एकदमै मन पर्‍यो।’ अर्की पाहुना रोजले ‘मेगा पर्फर्मेन्स’ रहेको बताएकी थिइन्।

यहीबीच फरक सन्दर्भ निस्किएको थियो। निर्णायक इन्दिराले अनुष्कालाई अन्तर्राष्ट्रिय स्टेजमा हात कसरी हल्लाइन्छ भनेर सिकाइदिन आग्रह गरेकी थिइन्। अनुष्काले पनि इन्दिरा र मेघालाई हात हल्लाउन सिकाइन्। दर्शक पनि कार्यक्रमको मज्जा लिइरहेका थिए।

नेपाल आइडलजस्तो स्टेजमा आफूले निमन्त्रणा पाएकोमा अनुष्काले आइडल परिवारप्रति धन्यवाद प्रकट गरिन्। त्यसै क्रममा निर्णायक न्ह्यूले ‘यति राम्री नानीको गायन कस्तो होला ?’ भन्ने जिज्ञासा प्रकट गरेका थिए। अनुष्काले पनि ‘तिम्रो अन्तरिक्षमा लैजाऊ न मलाई’ गीत सुनाइन्। निर्णायकले उनको स्वरको प्रशंसा गरेपछि स्कुल पढ्दाताका आफूले गीत गुनगुनाउने गरेको उनले बताएकी थिइन्।

०००

कार्यक्रममा तेस्रो प्रस्तुति दिन स्टेजमा सज्जा चौलागाईं आएकी थिइन्। उनले ‘नजिक नआऊ’ बोलको गीत गाइन्। उनको प्रस्तुतिमा जज तथा दर्शकले ‘स्ट्यान्डिङ ओभेसन’ दिएका थिए। सबैको प्रतिक्रिया देखेर सज्जाले आँशु थाम्न सकिनन्। निर्णायकले उनले गीतलाई न्याय गरेको बताएका थिए। मिस नेपाल अनुष्काले कमेन्ट गर्दै भनेकी थिइन्, ‘तपाईंको प्रशंसा गर्न मसँग शब्द नै छैनन्। थ्यांक यू फर द ट्रिट।’ रोजले पनि सज्जाको गायकीले आफ्नो मन छोएको बताएकी थिइन्। ‘तपाईंले गीतमा डुबेर म अर्कै संसारमा पुगेकी थिएँ,’ उनले भनेकी थिइन्, ‘परीले गीत गाएजस्तो लाग्यो।’

सज्जाका लागि इन्दिराले भनेकी थिइन्, ‘यस्तो कुनै गीत छैन, जुन सज्जाले गाउन सक्दिन। यू टोटल्ली टेक द स्टेज।’ कालीप्रसादले सज्जालाई भगवान्को दूतको संज्ञा दिएका थिए। ‘तिमीलाई गाउनकै लागि भगवान्ले पठाएका हुन्,’ उनले भनेका थिए, ‘गीत गाउनुभन्दा त्यसलाई न्याय गर्न सक्नु ठूलो कुरा हो। जो तिमीले गर्‍यो।’ सज्जाको प्रशंसा गर्न न्ह्यू पनि पछि हटेनन्। ‘तिम्रो लास्ट पर्फर्मेन्स सोचेको जस्तो थिएन,’ उनले भने, ‘आजको पर्फर्मेन्सले त्यसको क्षतिपूर्ति गरेको छ।’

०००

प्रवीण बेडवाल चौथो प्रस्तुति दिन आए। उनको गीतको बोल थियो, ‘तिमीले पनि मजस्तै माया दिएर हेर।’ उनको प्रस्तुतिपछि दर्शक र निर्णायक आ–आफ्ना कुर्सीबाट उठ्न बाध्य भए। उनलाई ‘स्ट्यान्डिङ ओभेसन’ प्राप्त भयो। ‘यो निकै पुरानो गीत हो,’ निर्णायक न्ह्यूले भने, ‘तिमीजस्तो गायक भएपछि कुनै पनि गीत पुरानो हुँदैन। म धन्य रहेछु, जो तिमीजस्तो कलाकारलाई यहाँ बसेर सुन्न पाएको छु।’ त्यस्तै, इन्दिराले पनि प्रवीणको खुलेर प्रशंसा गरिन्। ‘गीतलाई आफ्नोपन दिएर गाउनुभयो,’ उनले भनिन्, ‘भविष्यमा तपाईं कम्पोजरहरूको गायक हुनुहुनेछ।’ कालीप्रसादले पुरानो गीतलाई अहिलेको पुस्तासँग ‘टच’ गराएकोमा उनलाई धन्यवाद दिए। रोजलाई पनि उनको गीत निकै मन पर्‍यो। ‘तपाईंको आवाज डिप पनि छ, लाउड पनि छ,’ उनले मुस्कुराउँदै भनिन्, ‘तपाईंले म्युजिकमा गीत गाएको हैन कि, म्युजिक तपाईंका लागि बजाइएको जस्तो भान भयो।’

०००

पाँचौँ प्रस्तुति दिन मुस्कान स्टेजमा उत्रिइन्। उनले ‘मेरो देश मलाई लाग्छ प्यारो’ बोलको गीत गाइन्। उनले गाइरहँदा दर्शकले नेपालको झण्डा फहराइरहेका थिए। गायकीको प्रतिक्रिया दिँदै इन्दिराले विदेशमा रहेका नेपालीलाई पनि यस्ता गीतले नेपालसँग जोडिन मद्दत पुग्ने बताएकी थिइन्। कालीप्रसादले पनि मुस्कानको गायकी निकै राम्रो रहेको बताएका थिए। ‘यस्तो गीतले सबै नेपालीको मन त छुन्छ नै, देश चलाउने नेताको पनि छुन्छ होला त ?’ न्ह्यूले भनेका थिए।

०००

छैटौँ प्रस्तुति केबिन ग्लान तामाङले दिए। उनले एज ब्यान्डको ‘यो दिल मेरो’  गीत गाएका थिए। उनको गीतमा पनि दर्शकले ताली बजाएर साथ दिएका थिए। अनुष्का र रोजले केबिनको गायनको प्रशंसा गरेका थिए। तर, इन्दिरा भने गीतसँग ‘कनेक्ट’ हुन सकिनन्। ‘अन्तरासँग त्यति कनेक्ट भइनँ,’ उनले भनिन्, ‘तर, तपाईं राम्रो गायक हो। गीतलाई राम्ररी गाउनुभयो।’ निर्णायक कालीप्रसाद र न्ह्यूले पनि उनी राम्रो गायक भएकोमा सहमति जनाए।

०००

सोमा अन्तिम प्रस्तुति किरणकुमार भुजेलको थियो। उनले ‘मलाई लट्ठै पार्‍यो तिम्रो हेराइले’ बोलको गीत गाए। प्रस्तुति दिँदै गर्दा उनले ब्युटी क्विनहरूलाई पनि स्टेजमा लगेर छमछम नचाएका थिए। उनको पर्फर्मेन्स सबैलाई मन पर्‍यो। उनले पनि स्ट्यान्डिङ ओभेसन पाए। प्रस्तुतिपश्चात् न्ह्यूले ‘म्युजिकमा लागेपछि तिम्रो जीवन सार्थक भयो,’ भनेका थिए। त्यस्तै, इन्दिराले ‘मुड नै राम्रो बनाइदिएको’ भन्दै तारिफ गरिन्। ‘किरणले हामीलाई कहिल्यै निराश बनाउँदैनन्,’ कालीप्रसादले भनेका थिए। पहिलो पटक आफूलाई कुनै गायकले स्टेजमा यसरी नाच्न लगाएको भन्दै अनुष्काले पनि उनको प्रशंसा गरिन्। किरण नै सोमा ‘पफर्मर अफ द डे’ भए।

उत्कृष्ट सातबाट एक जना प्रतियोगी ‘इलिमिनेसन’ मा पनि परे।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.